site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
माल्दिभ्सपछि बंगलादेशमा किन उठ्यो ‘इन्डिया आउट’को मुद्दा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशको राजनीतिमा भारतको मुद्दा चर्किएको छ । विशेष गरी सत्तारूढ अवामी लिग र विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरूबीच राजनीतिक बहस चलिरहेको छ ।

सामाजिक सञ्जालमा भारतको पक्ष र विपक्षमा तर्क चलिरहेका छन् । केही विपक्षी दलको सक्रियताका कारण सुरु भएको ‘इन्डिया आउट’ तथा भारतीय उत्पादन बहिष्कार अभियानले सामाजिक सञ्जालमा निकै ठूलो स्थान पाइरहेको छ ।

यस अभियानको विरोध गर्ने धेरैले यसलाई परम्परागत भारत विरोधी राजनीतिको हिस्सा भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बंगलादेशका विदेशमन्त्री हसन महमुदले आइतबार पत्रकार सम्मेलन गरी भारतीय उत्पादन बहिष्कार गर्ने अपिलको उद्देश्य बजारलाई अस्थिर बनाउनु र सामानको मूल्य बढाउनु रहेको बताएका छन् ।

उनको प्रश्न थियो, “सबै भारतीय उत्पादनलाई बाहिर राखेर बंगलादेशको बजार व्यवस्थालाई ठिक ठाउँमा राख्न सकिन्छ ?’’

Global Ime bank

तर, बीएनपीका स्थायी कमिटी सदस्य गायेश्वरचन्द्र रायले यो आरोप निराधार रहेको बताए । आमजनताको आक्रोशका कारण भारत राजनीतिक बहसको विषय बनेको दाबी उनको छ ।  

“चुनावका समयमा भारत बढी सक्रिय भएका कारण जनताले भोट दिन सकेनन् वा वञ्चित भएका छन् । यसले जनतामा असन्तुष्टि पैदा गरेको छ । बीएनपीले जनताको आक्रोश हटाउन सक्दैन,” उनले भने । 

अवामी लिगको अध्यक्ष बोर्डका सदस्य तथा कपडा तथा जुट मन्त्री अब्दुर रहमान बीएनपीमाथि भारत विरोधी राजनीति गरेको आरोप लगाउँछन् ।

उनले भने, “बीएनपी आजीवन भारतविरोधी राजनीतिको हिस्सा हो । यसले राजनीतिक फाइदाका लागि यस्तो गरिरहेको छ । तर, जनताले यसलाई खारेज गरिदिएका छन् ।”

बीएनपी र अवामी लिग भारतलाई लिएर किन आपसमा भिड्दै छन् त ? राजनीतिक विश्लेषक तथा ढाका विश्वविद्यालयकी प्राध्यापक जुबैदा नसरीन भन्छिन्, “जब बीएनपी वा कुनै पनि समान विचारधाराको पार्टी वा यसका नेताहरूले भारतीय उत्पादन बहिष्कार र भारत विरोधी मुद्दा उठाउँछन्, तब अवामी लिग राजनीतिक कारणले भारतको औचित्य प्रमाणित गर्ने कोसिस गर्छ ।”

बंगलादेशमा मात्र होइन, माल्दिभ्समा पनि ‘इन्डिया आउट’ अभियान चलेको थियो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष जब उनी राष्ट्रपतिको उम्मेदवार बने, त्यतिबेला उनको चुनावी अभियान भारतको विरोधमा केन्द्रित थियो ।

उनले ‘इन्डिया आउट’ नारालाई चर्को रूपमा उठाएका थिए । भारत विरोधी भएकै कराण उनले राष्ट्रपति चुनाव जितेको विश्लेषण धेरैको छ । राष्ट्रपति भएपछि मुइज्जुको भारतविरोधी अभियानमा कुनै कमी आएको छैन । यस्तै अभियान बंगलादेशमा देखिएको छ । 

बीएनपीसँग भारतको तिक्तता

बंगलादेशको विपक्षी दल बीएनपीको भारतविरोधी इतिहास नयाँ होइन । विगत १०–१५ वर्षमा पार्टीको एउटा गुटले भारतसँग सम्बन्ध सुधार्ने प्रयास नगरेको पनि होइन । कहिलेकाहीँ पार्टीमा रहेका भारत विरोधी समूहले उक्त प्रयासको विरोध गर्ने गर्छन् ।

सन् २०१३ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको ढाका भ्रमण गरेका थिए । त्यतिबेला तत्कालीन विपक्षी नेतृ तथा बीएनपी अध्यक्ष खालिदा जिया र मुखर्जीको शिष्टाचार भेटवार्ता अचानक रद्द गरिएको थियो । धेरैले उक्त घटनालाई भारत र बीएनपीको सम्बन्ध दर्शाउने ज्वलन्त उदाहरणका रूपमा लिन्छन् ।

तर, पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ढाका भ्रमणका क्रममा खालिदा जियाले होटलमा गएर उनलाई भेटेकी थिइन् । 

सन् २०१४ मा बंगलादेशको आम निर्वाचनलाई बीएनपीले बहिष्कार गरेको थियो । तर, निर्वाचनअघि भारतीय कूटनीतिज्ञहरूको सक्रियताका बाबजुद पनि पार्टीले यसबारे कुनै खास टिप्पणी गरेको थिएन ।

तर, सन् २०१८ को चुनावपछि बीएनपी भारतको मुद्दामा बढी नै सक्रिय हुँदै आएको छ । सन् २०१९ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौताको विरोधमा बीएनपी सडकमा उत्रिएको थियो ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ढाका भ्रमणका बेला विरोधमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनले दिल्लीसँग बीएनपी लगायतका राजनीतिक दलबीचको दुरी बढाएको विश्लेषकहरू विश्वास गर्छन् ।

बंगलादेशमा हालै सम्पन्न १२औँ आमनिर्वाचनअघि नै बीएनपीले भारतको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

अमेरिकालगायत पश्चिमा राष्ट्रले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि अवामी लिग सरकारलाई दिएको दबाब भारतको रवैयाका कारण प्रभावहीन भएको बीएनपीका नेताहरूको दाबी छ ।

बीएनपी स्थायी समिति सदस्य गायेश्वरचन्द्र राय भन्छन्, “चुनाव आएपछि भारतीय नेताहरू सक्रिय हुन्छन् । चार पटकको संसदीय निर्वाचनमा भोट हाल्न नपाउँदा आमजनतामा असन्तुष्टि छ । आमजनताको यो आन्दोलनमा अंकुश लगाउने जिम्मेवारी बीएनपीको होइन ।”

निर्वाचन भएको केही दिनपछि बीएनपीसँग आन्दोलनमा सहभागी ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी युनियन (डाक्सु)का पूर्व उपाध्यक्ष नुरुल हक नूरले आन्दोलनमा ‘इन्डिया आउट’ आवाज उठाएका थिए ।

त्यसपछि मात्रै इन्डिया आउट वा भारतीय उत्पादन बहिष्कारको आन्दोलन सुरु भएको थियो । मार्च २१ मा बीएनपीका प्रवक्ता रुहुल कवीर रिजवीले यस आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

यसको जवाफमा अवामी लिगका महासचिव अब्दुल कादेरले एक कार्यक्रममा अहिले बीएनपीसँग कुनै राजनीतिक मुद्दा नभएकाले भारतको विरोध गरेको आरोप लगाए । 

“पाकिस्तानको एक हिस्सा रहेकै बेलादेखि नै यो कुप्रचार सुन्दै आएको छु । जब कुनै राजनीतिक मुद्दा हुँदैन, तब बीएनपीले अवामी लिगविरूद्ध यो (भारत विरोधी) मुद्दा बनाउँछ । पहिला उसले बंगबन्धुविरुद्ध यसलाई मुद्दा बनाउँथ्यो । अब शेख हसिनाविरुद्ध बनाइरहेको छ,” अवामी लिगका महासचिव कादेरले भने ।

कादरले यसअघि १६ मार्चमा सामाजिक सञ्जालमा जारी ‘इन्डिया आउट’ अभियानको आलोचना गरेका थिए ।

उनले त्यतिबेला भनेका थिए, “भारत विरोधीभावना जगाउने प्रयास किन भइरहेको छ ? चुनावमा भाग नलिनेहरूले नै यो कुप्रचारलाई कवचको रूपमा प्रयोग गरेका छन् । अवामी लिग सत्तामा हुँदा एउटा समूह भारत विरोधी हुन थाल्छ । बीएनपीले त्यही गरिरहेको छ ।” 

उनले २२ मार्चमा पार्टीको धानमण्डी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि यस विषयमा कुरा गरेका थिए ।

त्यसबेला उनले भनेका थिए, “भारतीय उत्पादन बहिष्कारको आडमा बीएनपी देशको बजार व्यवस्थालाई अस्थिर बनाउने गहिरो षड्यन्त्रमा लागेको छ । जनताले बीएनपीको आग्रहलाई महत्त्व दिने छैनन् ।”

अर्कोतर्फ, बीएनपीका उपाध्यक्ष अवकाशप्राप्त मेजर हफिजुद्दीन अहमद भने सत्तारूढ दलले भारतको साुम घुँडा टेकेको आरोप लगाउँछन् । उनी भन्छन्, “एउटा देशकोसामु घुँडा टेक्ने विदेश नीति हालको सत्तारूढ दलको परम्परा छ । ‘दिल्ली छ त हामी छौ’, अवामी लिगलाई यस्तो कुरा गर्न लाज लाग्दैन ।” 

बीएनपीका स्थायी कमिटी सदस्य गायेश्वरचन्द्र राय वर्तमान भारत विरोधी अभियानलाई कुनै अवरोध नगर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउँछन् ।
 
“बीएनपी कुनै पनि देशविरुद्धमा छैन । तर राष्ट्रवादी राजनीतिका लागि जे आवश्यक छ, त्यही गर्नेछ । भारतले जहिले पनि हाम्रो देशको चुनावमा सक्रियता देखाउँदै जनतालाई मतदानको अधिकारबाट वञ्चित गरेको छ । त्यसैले जनता आन्दोलन गरिरहेका छन् । हामीले किन यसमा अवरोध गर्ने ?,” बीएनपीका स्थायी कमिटी सदस्य रायले प्रश्न गरे । 

मन्त्री अब्दुर रहमान भने भारत विरोधी अभियान चलाउनेलाई ‘अशुभ शक्ति’ भन्न रुचाउँछन् । उनी भन्छन्, “एउटा अशुभ शक्तिले राजनीतिमा भारत विरोधी मुद्दा बनाएर राजनीतिक फाइदा उठाउन खोजेको छ । जनताले त्यसलाई खोरज गरिदिएका छन् ।”

उनले लोकतन्त्रको हितमा भारतलगायत विकास साझेदार मुलुकले १२औँ संसदीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सहयोग गरेको दाबी गरे ।

विवाद किन ? 

राजनीतिक विश्लेषक तथा ढाका विश्वविद्यालयकी प्राध्यापक जुबैदा नसरीन बंगलादेशको राजनीतिमा भारत सधैं महत्त्वपूर्ण रहेको र वर्तमान परिस्थितिमा पनि भारतको भूमिका रहेको बताउँछिन् ।

“यही कारणले गर्दा जब बीएनपी तथा यस्तै विचारधारा भएको कुनै पनि पार्टीले भारतीय उत्पादन बहिष्कार गर्न अपिल गर्छ वा भारतविरुद्ध कुरा गर्छ, तब राजनीतिक कारणले अवामी लिगलाई जवाफ दिनुपर्छ,” नसरीनले भनिन् । 

उनका अनुसार, दुवै दलको राजनीतिमा भारतको प्रभाव छ । उनी थप स्पष्ट पार्छिन्, “बीएनपीले यो मुद्दामा आम जनताको भावना भड्काइरहेको छ । त्यसैले अवामी लिगलाई भारतसँग राम्रो सम्बन्ध भएको घोषणा बारम्बार गरिरहनु परेको छ । भारत विरोधी नाममा बीएनपीले आमजनतालाई भड्काएर अवामी लिगलाई घेर्न चाहन्छ । यही कारणले गर्दा अवामी लिग पक्षबाट पनि जवाफी हमला भइरहेको छ ।” 

यद्यपि, भारतमा आमचुनाव नजिकिँदै गर्दा देशका विपक्षी दलहरूले आफ्नो भारत विरोधी अभियानलाई तीव्र बनाउनु पनि एक कारण हुन सक्ने जुबैदा नसरीनको विश्वास छ । 

उनी भन्छिन्, “भारतीय चुनावमा बंगलादेशको प्रभाव हुँदैन । उसका लागि बीएनपी र अवामी लिगबीचको वार्ता पनि महत्वपूर्ण छैन । तर बीएनपीमा नरेन्द्र मोदीविरुद्धको आक्रोश बढेको छ ।” 

“भारतीय चुनावलाई ध्यानमा राखेर विपक्षी दलले बंगलादेशमा मोदीविरोधी भावनालाई थप बढाउने मौका खोजेको हुनसक्छ । यसैकारण राजनीतिक क्षेत्रमा भारत मुद्दा शीर्षकमा छ,” नसरीनले भनिन् । 

बीएनपी र अवामी लिगको विरोधाभासपूर्ण मनोवृत्तिको बीचमा एउटा समूहले फेसबुकमा ‘बाइकट इन्डियन प्रोडक्ट’ नामक समूह बनाएर भारत विरोधी अभियान सुरु गरेको छ । त्यहाँ हजारौं मानिसले आफ्नो धारणा राखिरहेका छन् । 

उक्त समूहमा इरफान अहमद नामका व्यक्तिले लेखेका छन्, “मैले स्थानीय उत्पादनहरू किनेको छु । भारतीय उत्पादनहरू बहिष्कार गरेको छु ।”

“मानिस कहाँ जाने, कहाँ खाने र कहाँ उपचार गर्ने भन्ने विषयमा यति धेरै समस्या किन ? भारत प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । छिमेकी देशमा कम खर्चमा घुम्न सक्छु । हरेक मुद्दामा भाँजो हाल्न छाड्नुहोस्,’ अहमद इमरान नामका अर्का एक व्यक्तिले लेखेका छन् ।

(बीबीसी हिन्दीबाट भावानुवाद) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC