मलाई आफूभित्रको
‘म’ असाध्यै मन पर्छ
म बन्न आफूले गरेका संघर्ष
भोगेका कठिनाइ र पाएका सहयोग
गरेका गल्ती, बदमासी
सहेका अपजस र दोष
यी सबैसबै कुरा
केवल मलाई मात्रै थाहा छ ।
मैले नापेका गोरेटा र सडक
मैले नाघेका खाल्डाखुल्डी
आफू भड्किएका गल्लीहरू
मन अल्झिएका फूलहरू
दुःख बल्झिएका सम्बन्धहरू
व्यहोरेका उतारचढाव
सबैसबै मलाई मात्र त थाहा छ ।
आफन्तले नदिएका साथ
साथीभाइले गरेका घात
विश्वासपात्रले उठाएको फाइदा
मिलाउन नजान्दाका काइदा
निकटहरूका शब्दवाणको घोचाइ
सद्भावमै डुबाउनेका सोचाइ
समाउन नसकेको गन्तव्य
र, कमाउन नसकेको धन
सबैसबै मलाई मात्र थाहा छ ।
यी सबै चिजहरूबाट गुज्रिँदा
गुमाएका अवसर र पाएका उपलब्धि
हिँडेका बाटा र हटाएका अवरोध
थपेका खुसी र घटाएका दुःखपीडा
अविश्रान्त अविश्वास, अनन्त घात
र, अन्त्यहीन घाउहरू
मेरो क्यानभासका रंगीन दाग हुन् ।
अहिले म झलमल्ल उज्यालो देखिरहेछु
पारिवारिक ममता झुमरझैँ चम्किएको छ
साथीभाइको मुस्कान एलईडीझैँ बलेका छन्
नियतिको ट्युबलाइटले सडकमा प्रकाश छरिरहेछ
आशाको धिपधिपेमा सपना जगमगाएको छ ।
यी सबैको प्रकाशमा आज
नकारात्मकताको अँध्यारो चिरेर
आफूभित्रको ‘म’लाई
जाज्वल्यमान देखिरहेको छु
यो ‘म’ अब मात्र नामको पहिलो अक्षर होइन
जीवनको सम्पूर्ण दर्शन हो,
जुन कखरामा मात्रै होइन
मेरो आत्माको हरफहरफमा धड्किन्छ ।