site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
टिकाउ र बिकाउ सिनेमा निर्माणको बाध्यतामा मेकर, के छन् चुनौती ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ सिनेमा मेकिङलाई निरन्तरता दिन टिकाउ र बिकाउ चलचित्र बनाउनै पर्ने बाध्यता रहेको बताउँछन् । बजारमा चल्ने सिनेमा नचलाए पुनः अर्को सिनेमा बनाउन नसकिने रवीन्द्रको भनाइ छ । एउटा सिनेमा बनाएपछि अर्को सिनेमा बनाउन कै लागि बजारले चाहेजस्तो चलचित्र बनाउनुको विकल्प नरहेको उनको भनाइ छ । 

नेपाली सिनेमाको बजार निर्दयी रहेको उनी बताउँछन् । एउटा सिनेमा नचले अर्को सिनेमा बनाउन नसकिने भएकाले सिनेमाका मेकर सर्जकमात्रै नभएर व्यापारी पनि भएको उनको तर्क छ । 

“अर्को सिनेमा बनाउन अहिले बनाइरहेको सिनेमाबाट पैसा कमाउनैपर्ने बाध्यता छ । त्यसैले हामी व्यापारी पनि हौँ,” उनी भन्छन् । त्यसैले कस्तो सिनेमा दर्शकले मन पराउँछन्, त्यहीअनुसार बनाउनु पर्ने बजारको आवश्यकता रहेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्दयी बजारले बिक्ने चिज बनाउनुपर्छ भनेर दबाब दिने गरेको उनको अनुभव छ । त्यसैले बजार र कला दुवैको वरिपरि रहेर काम गरिरहेको उनले बताए । लामो समय टिक्ने र बिक्ने सिनेमा नबनाए मेकर टिक्न नसक्ने उनको भनाइ छ ।  

बजारमा बिक्ने र आफू टिक्ने चलचित्र बनाउन भने ठूलो चुनौती रहेको निर्माता दीपेश खत्री (म्याक्स) बताउँछन् । सुरुमा सिनेमा निर्माणका लागि राम्रो टिम खडा गर्न नै चुनौती रहेको उनको भनाइ छ । “सुरुमा त अमेजिङ स्क्रिप्टराइटर नै चाहिन्छ । त्यसपछि डाइरेक्टर र क्रिएटिभ टिम चाहिन्छ । जसले त्यो स्क्रिप्टअनुसारको सिनेमा बनाउन सकोस्,” दीपेश भन्छन्, “यसपछिको चुनौती फाइनान्स हो । तर मेरो बुझाइमा राम्रो टिम र स्क्रिप्टका लागि यो सेकेन्डरी चुनौती हो ।” राम्रो टिम र स्क्रिप्टका लागि लगानीकर्ताको खाँचो नहुने उनको भनाइ छ । 

Global Ime bank

राम्रो प्रोडक्सन प्लान, स्क्रिप्टअनुसारको टाइम सेड्युल, बजेटिङको राम्रो प्लान गर्ने व्यक्ति आवश्यक पर्ने उनी बताउँछन् । “यसले त्यति धेरै असर भने गर्दैन किन भने खर्च दुईको तीन अथवा तीनको ठाउँमा दुई होला । मुख्य कुरा क्रिएटिभ काममा भने कम्प्रमाइज हुनु भएन । यसमा राम्रो काम भयो भने राम्रो सिनेमा बन्छ, जसले कमाउन सक्छ । त्यही नै बिक्ने र टिक्ने सिनेमा हो ।” तर कति टिक्ने र कति बिक्ने सिनेमा हुन्छ त्यो भने टिमको अनुभवमा भर पर्ने दीपेशको भनाइ छ । 

सिनेमा टिमवर्क भएकाले कम्तीमा सात/आठजना चलचित्र निर्माणमा ‘कोर टिम’मा हुनुपर्ने उनको जोड छ । एकजना मान्छेले कहिल्यै पनि चलचित्र बनाउन नसक्ने उनको तर्क छ । “एकजना व्यक्तिले करोडौं रुपैयाँ लगानी गरेर बनाएको सिनेमा डुब्यो भने ऊ उक्सिन सम्दैन । त्यसैले त हो चौधरी ग्रुपले पनि सिनेमा बनाउन नसकेको,” दीपेश भन्छन्, “घाटा भएपछि मान्छेले फेरि चलचित्र बनाउन सक्दैन । त्यसैले टिमले चलचित्र बनाउनुपर्छ भन्ने हो । मिहिनेत गर्ने टिम र प्यासन भएको समूहले बनाएको एउटा सिनेमा नचले पनि अर्को बनाउन सक्छ ।” 

राम्रो टिम छ भने घाटामा सिनेमा किन गयो भनेर कमजोरी पत्ता लगाएर आत्मालोचना गर्दै पुनः सिनेमा निर्माणमा फर्किन सक्ने दीपेश बताउँछन् । “तर के चाहिँ सत्य हो भने एउटा सिनेमा घाटामा जानबित्तिकै मान्छे तत्काल अर्को सिनेमा बनाउन आँट गर्न भने सक्दैन । किनकी सिनेमा थोरै लगानी र मिहिनेतले बन्दैन,” दीपेश भन्छन् । 

टिममा काम गर्ने कति मेकरले भने अहिले पनि सिनेमा बनाइरहेको उनी सुनाउँछन् । “नाम लिनु पर्दैन हामी धेरैलाई थाहै छ । यसअघि लगातार पटकपटक सिनेमा घाटामा गए पनि अहिले पनि बनाइरहनु भएको छ किन भने उहाँहरूसँग टिम छ । र, काम गर्ने प्यासन पनि छ,” दीपेश भन्छन्, “ब्याक टु ब्याक सिनेमा घाटामा गइरहँदा पनि बनाइरहनु भएका मेकरले किन सिनेमा चलेन, दर्शकले किन रुचाउनु भएन अध्ययन गर्न आवश्यक छ भन्ने लाग्छ । अन्यथा लामो समय मेकिङमा रहिरहन कठिन हुन्छ । यो मेकरका लागि चुनौती हो ।”

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय सिक्वेल बनाउने घोषणा अघिल्लो सिनेमामा नै हुने गरेको छ । यसले पनि सिनेमा बिगार्ने काम गरिरहेको कलाकार समेत रहेका निर्माता रवीन्द्र बताउँछन् । चौथो सिनेमा बनाउने होडमा मेकरहरूले तेस्रो सिनेमा बिगारिरहेको उनको जिकिर छ । यद्यपि, आफूहरू यो चक्करमा कहिल्यै पनि नलागेको उनको दाबी छ । अर्को सिक्वेल बनाउनुपर्छ भन्ने प्रेसरमा काम पर्दा सिनेमा बिग्रिने र त्यो टिकाउ र बिकाउ दुवै नहुने उनको तर्क छ । 

“हामीले जात्रा बनाउँदा पनि जात्रैजात्रा सोचेका थिएनौँ । जात्रैजात्रा बनाउँदा महाजात्रा सोचेका छैनौँ,” रवीन्द्रको दाबी छ, “हामी सिक्वेल नै बनाउँदैनौँ भन्ने कमिटमेन्ट त गर्दैनौँ । कुनै समय सिक्वेल नै बनाउन पनि सकिएला । त्यो भोलिको कुरा भयो । तर अहिले हामीले त्यो सोचेका छैनौँ । सिक्वेलका लागि ठाउँ छोडेर अघिल्लो सिनेमा नै कथा लेख्दा पनि धेरै सिनेमा बिग्रिरहेका छन् ।” 

नयाँ सिनेमा बनाउँदा कलाकार स्ट्याब्लिस गराउने तनाव नहुने भएकले मेकरहरूले त्यसकै फाइदा लिन खोज्ने गरेको उनी सुनाउँछन् । नयाँ कथामा नयाँ कलाकार लिएर चलचित्र बनाउँदा छुट्टै संसार क्रिएट गर्नुपर्दाको ‘रिस्क’ बहन गर्न धेरैले नचाहेको उनको भनाइ छ । 

आफूहरूको ‘जात्रा’ टिमको योजनामा सिक्वेल नरहेको उनले दाबी गरे । “एउटै बक्सभित्र बसेर काम गर्दा चरित्र खोजेर नयाँ संसार क्रिएट गर्न सकिँदैन,” रवीन्द्र अगाडि थप्छन्, “त्यसैले अब नयाँ काम गर्ने योजना छ । अब महाजात्रा बन्दैन ।”  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement