site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार बुझेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

Argakhachi Cement Island Ad

“जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुन्छ,” गृहमन्त्री लामिछानेले भने, “विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याइनेछ ।” 

आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेका छन् । नौ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको थियो । 

मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर/डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ । 

“प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिनेछ । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ,” प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्रीले बताए । 

आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको जनाउँदै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने बताए । प्रतिवेदन कार्यान्वयनको चुनौती आफैँले सामना गर्ने उनले जनाए । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्