site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
जीआईडीसी बन्यो एकीकृत डाटा व्यवस्थापन केन्द्र, उपसचिव शर्मालाई जिम्मेवारी

काठमाडौं । सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)लाई सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रका रूपमा नामकरण गरेको छ । यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत रहेर जीआईडीसी सञ्चालनमा थियो ।

अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले एकीकृत डाटा व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएको हो । केन्द्रको जिम्मेवारी विभागका उपसचिव लोकराज शर्मालाई दिइएको छ ।

केन्द्रको प्रमुख पदमा सहसचिव हुने व्यवस्था भए पनि तत्कालका लागि प्राविधिकतर्फका उपसचिव शर्मालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । अन्य केही कर्मचारीहरू पनि केन्द्रमा नियुक्त गरिएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि विभाग आफैँले केन्द्रका लागि कर्मचारी एवं प्रमुखको जिम्मेवारी तोकेको हो ।

करारका कर्मचारी चैत मसान्तसम्म
केन्द्रमा हाल कार्यरत करार कर्मचारीहरूको हकमा चैत मसान्तसम्मको म्याद थप गरिएको छ । त्यसपछि विभागले आवश्यकताअनुसार प्राविधिक चाहिएको अवस्थामा राख्नसक्ने सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

“हाल कार्यरत कर्मचारीहरूको हकमा चैत मसान्तसम्मका लागि म्याद तोकिएको छ । प्राविधिक ज्ञान, सीपका कुराहरू हस्तान्तरण भइसकेपछि आवश्यकताअनुसार राख्ने/नराख्ने निर्णय होला,” मन्त्रालयका प्रवक्ता सुवेदीले भने ।

हाल केन्द्रको कार्यकारी निर्देशक रहेका प्रदिप शर्मा पौडेलले यो प्रक्रियामा सेवा अवरुद्ध नहोस् भन्ने किसिमले सहयोग भइरहेको बताए । अन्य कर्मचारीको हकमा एक वर्षका लागि सम्झौता हुने भए पनि कार्यकारी निर्देशक शर्माको भने चार वर्षका लागि राजनीतिक नियुक्त हो । उनले हेटौँडामा रहेको डाटा रिकभरी सेन्टर र केन्द्रमा गरी करिब ४० कर्मचारी रहेको बताए ।

विभागबाट आउने सरकारी कर्मचारीहरूलाई सेयर गर्नुपर्ने आवश्यक ज्ञान, सीपका कुरामा सहकार्य गर्ने पनि बताइएको छ । कर्मचारी समायोजनबारे मन्त्रालयसँग छलफल भइरहेको उनले बताए । त्यसैले तत्काल नै करारका सबै प्राविधिक कर्मचारी हट्लान् भनेर भन्न नसकिने अवस्था छ । केन्द्रबाट डोमेन रजिस्टर एवं होस्टिङ, क्लाउड, कोलोकेसन, सरकारी इमेल, नागरिक एपलगायत सेवा सञ्चालनमा रहेका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नै सूचना प्रविधि केन्द्र खारेज गरी डाटा सेन्टरलाई विभागमा गाभ्ने व्यवस्था गरेको थियो । सोहीअनुसार गत माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा गाभ्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले यसको सञ्चालनका लागि सूचना प्रविधितर्फका सहसचिव कार्यालय प्रमुख रहने गरी दुई उपसचिव र अन्य कम्प्युटर इन्जिनियर गरी करिब ५९ पदको दरबन्दी पनि कायम गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro