काठमाडौं । पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा लिभरपुलविरुद्ध म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकिएको छ ।
आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा सम्पन्न खेलमा जोन स्टोनसले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । स्टोनसले २३औँ मिनेटमा गरेको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
तर, ५०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई एलेक्सिस म्याक एलिस्टरले सदुपयोग गरेपछि योर्गान क्लोपको टोली खेलमा फर्किएको हो । सिटीका रक्षक नाथक एकेले दिएको खराव ‘ब्याकपास’ मा गोलकिपर एन्डरसनले रोक्न खोज्दा लिभरपुलका डार्विन नुनेजमाथि फाउल गरेपछि घरेलु टिमले पेनाल्टीको अवसर पाएको थियो । जसमा म्याक एलिस्टरले कुनै गल्ति नगरी बललाई जाली चुमाए ।
बराबरीमा रोकिँदा दुवै टिमले शीर्ष स्थानमा उक्लिने अवसर गुमाए । २८ खेलबाट ६४ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहे पनि आर्सनल गोलका आधारमा शीर्ष स्थानमा छ । २८ खेलबाट ६३ अंक जोडेको सिटी तालिकाको तेस्रो स्थानमा छ ।