site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ सत्तासँगै संसद् घोचपेचको मैदानमा परिणत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ सत्ता गठबन्धनपछि अपेक्षितरूपमै बिहीबारको प्रतिनिधिसभा बैठक ‘घोचपेच’ र ‘छेडखानी’ गर्दै सकियो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन तोडिनु र नयाँ गठबन्धन बन्नु बाध्यात्मक परिस्थिति कांग्रेसबाटै उत्पन्न भएको जिकिर लिए ।

केही दिन अघिसम्म सत्ताको ‘रस्सास्वाद’मा रुमलिएको कांग्रेसले पनि प्रमुख प्रतिपक्षमा ‘हुत्तिएपछि’को पीडा पोख्यो । जसको आसपासमा रहेर एमालेलगायत अन्य दलले तिखो बहस गरे ।

गएको वर्ष फागुनमा 'बेठिक' भएको नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री प्रचण्डका विश्वासिला दल बनेका छन् । यता, कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको प्रचण्डसँग मोह भंग भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डले १४ महिनासम्म सरकार कमजोर बन्नुमा यी दलहरू बाधक बनेको स्पष्टीकरण दिएका छन् । यी विषयले बिहीबारको प्रतिनिधिसभा पनि चर्को बहस सिर्जना गरेको छ । 

Prachanda-PM-1709819600.jpg
 

Global Ime bank

रोस्टममा प्रचण्डको जवाफ– कांग्रेसका व्यवहारका कारण गठबन्धन टुट्यो

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका कारण सत्ता संकट परेको आरोप लगाए । उनले केही कारण देखाएर गठबन्धन विघटनको दोष कांग्रेसको पोल्टामा थोपरे । प्रचण्डले कांग्रेसको नेतृत्वको आफूप्रति सद्भाव र विश्वास रहे पनि राजनीतिक कारणले गठबन्धन छाड्नुपरेको बताए ।

प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको कांग्रेसको आरोप थियो । बैठकको शून्य समयपश्चात् उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विकास र सरकारको गतिलाई लिएर गठबन्धन फेरेको बताए ।

“कांग्रेसले सरकारमाथिको विश्वास फिर्ता लिइसकेकाले फेरि मैले संसद्‌मा विश्वासको मत राख्न बाँकी छ । विश्वासको मत लिने सन्दर्भमा विस्तारपूर्वक घटनाक्रम र समीकरणबारे धारणा राख्नेछु,” प्रधानमन्त्रीले भने, “म जिम्मेवारीपूर्वक र गम्भीरतापूर्वक भन्न चाहन्छु । यस संसद्‌मा म प्रधानमन्त्रीका रूपमा असुरक्षित थिइनँ । टिकिरहनुलाई स्थायित्व मान्ने हो भने कांग्रेसको नेतृत्व र मेराबीच कुनै समस्या थिएन ।”

राजनीतिमा व्यक्तिगतभन्दा राजनीतिक कारण निर्णायक हुने भन्दै उनले माओवादीलाई कांग्रेसले जसरी निर्वाचनमा सघायो, त्यस अनुरुप सहयोग पाएन भन्ने मनोविज्ञान देशभर रहेकाले त्यसको सम्मान गरेको बताए ।

“एउटा परिस्थितिबाट फेरिएपछि कोसी प्रदेशमा एउटा घटना भयो । शेखर पक्षले विद्रोह गरेर त्यहाँ गठबन्धनको निर्णयविपरीत सरकार बन्यो । त्यसमा दण्डित हुनुपर्ने पक्ष भएन,” प्रचण्डले भने, “राष्ट्रियसभामा त्यही समूहले हराउने काम गर्‍यो । कांग्रेसको महासमिति बैठकमा गठबन्धनको निन्दा गर्ने काम भयो ।”

कांग्रेसको महासमिति बैठकमा प्रस्तुत भएको प्रतिवेदनको आधारमा निर्वाचन आउन चार वर्षअघि नै गठबन्धनको निन्दा स्वाभाविक मान्न नसकेर विकल्पको बाटोमा लागेको उनको भनाइ छ । 

उनले कांग्रेसको संविधानमाथिको प्रतिबद्धतामा पनि गम्भीर प्रश्न उठाए । संविधान जारी गर्दा नेतृत्व लिएको कांग्रेसको महासमिति बैठकमा ‘स्टल’ राखी हिन्दू राज्यको अभियान चल्नुले उसको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको उनले बताए । 

साथै उनले माओवादी जनयुद्धको विषयमा कांग्रेसको राजनीतिक प्रतिवेदनले पनि गठबन्धन टुट्न सहयोग गरेको भन्दै आक्रोश पोखे । 

“संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्‍यो,” उनले भने । 

त्यसका अतिरिक्त प्रचण्डको भनाइ थियो, “महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र ०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन वितरण गरियो । यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।”

रमेश लेखकको प्रतिवाद– धोका पाएका एकैठाउँ उभिए भने कहाँ पुग्नुहोला ? 

प्रधानमन्त्री प्रचण्ड बोलेपछि रमेश लेखकले कांग्रेसको तर्फबाट बोले । विशेष समयमा ३८ मिनेट बोलेका लेखकले प्रधानमन्त्री प्रचण्डलाई ‘नरम भाषामा घुमाइ घुमाइ’ जवाफ दिए । एक–दुई मन्त्रीको भागमा सबै कमजोरी देखाएर प्रधानमन्त्री प्रचण्डले 'राजनीतिक बेइमानी' गरेको आरोप उनको थियो ।

कपोकल्पित ढंगले तथाकथित र रचित कारण देखाउने, आपसी छलफल गरेर समाधान हुने विषयमा पनि छलफल गर्न नचाहेको आरोप उनको थियो । आफू उम्कन कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक–दुई मन्त्रीको पोल्टामा आफ्नो कमजोरी फाल्ने काम प्रचण्डबाट भएको गुनासो उनको थियो । 

“कमसेकम आपसमा छलफल गरेर समाधान हुने विषयालई अतिरञ्जित ढंगले प्रस्तुत गर्नुभयो । एक–दुई मन्त्रीको भागमा सबै कमजोरी पोलेर आफू उम्कने प्रयत्न भयो त्यो आफैँमा अशोभनीय कार्य भयो,” उनले भने, “स–साना मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने र गठबन्धन भत्काउने र अविश्वासनीय काम भयो । यो राजनीतिक बेइमानी हो । राजनीतिकरूपमा इमान भएन, त्यसैले इमान भएन, बेइमान भयो । यो गठबन्धन भत्काउने काम मूल्य मान्यता र संस्कृतिविपरीत भयो ।”

उनी यत्तिकैमा रोकिएनन् । मन्त्री गलत र असफल हुँदा प्रधानमन्त्री कसरी सफल हुन्छ भन्ने जिज्ञासा उनको थियो । एमालेको प्रतिवेदनको अंश पढेर सुनाउँदै उनले 'धोका पाएका एकै ठाउँ उभिए भने कहाँ पुग्नु होला ?' भन्दै चेतावनी दिए । एमालेले पनि गएको वर्ष फागुनमा प्रचण्डबाट धोका पाएको दस्ताबेजमा नै उल्लेख गरेको भन्दै कांग्रेस–एमाले सहकार्य हुन सक्ने संकेत गरिदिए ।

Ramesh-Lekhak-1709819488.jpg

“एमालेले हामीमाथि पटक–पटक धोका भएको छ भनी लेखेको छ । त्यसलाई कसरी लिनुहुन्छ ?,” उनले भने, “लेख्दा रहेछन् नि पार्टीहरूले । बरु उहाँहरूले भन्नुभयो पटक–पटक धोका भएको छ । म त के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटि सोच्नु सबै धोका पाएकाहरू एकदिन एक ठाउँमा उभिए तपाईंविरुद्ध भए भने कहाँ पुग्नुहोला ? ख्याल गर्नुहोला, हेक्का राख्नुहोला ।”

“पन्ध्र महिनासम्म संविधान कार्यान्वयनका लागि कानुन नबनेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कांग्रेसको कारण रोकिएको हो ?,” उनले प्रश्न गरे, “साँच्चै कांग्रेसले यो विधेयक अघि बढ्न अवरोध गर्‍यो भने के हुन्छ ?”

अंग्रेजी र उर्दु सायरीको प्रयोग गर्दै बोलेका उनले १५ महिनामा तीनपटक गठबन्धन फेरिएको र यसरी नै प्रधानमन्त्री प्रचण्ड अघि बढे १३ पटक गठबन्धन फेरबदल हुने र प्रचण्ड प्रधानमन्त्री बन्ने भन्दै व्यङ्ग गरे ।

आफू 'बाँचुन्जेल उथलपुथल गर्ने' र 'लात्ताले हान्ने'जस्ता शब्दबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

कांग्रेसलाई सत्तारूढ दलहरूको कटाक्ष

लेखकपछि बोलेका सत्तारूढ दलका सांसदहरू कांग्रेसमाथि खनिए । उनीहरूले धेरै पीडा पोख्नुभन्दा पनि संसदीय राजनीतिको स्वाभाविक प्रक्रियालाई आत्मासात् गर्न अनुरोध गरेका थिए । 

नवसत्तारूढ एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेलले कांग्रेसप्रति कटाक्ष गर्दै कति पीडा रहेछ लेखकको मुखबाट पोखिएको उल्लेख गरे । पौडेलले ‘कति गहिरो पीडा र घाउँ लागेको रहेछ भन्ने अभिव्यक्ति लेखकबाट’ आएको बताए ।

“घाउमा मलमपट्टी गर्न राम्रा डाक्टर साथमा लिएर सहकार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु र त्यो अभियानमा हाम्रो साथ चाहिए एमाले याद गर्नुहोला,” उनले भने, “उहाँले यो तहको पीडा र छट्पटी यो तहको आक्रोश र बेचैनी प्रहार गर्नुपर्ने थिएन ।”

Bishnu-Paudel-1709819600.jpg

उनले नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको भन्दै उनले सत्ता सहकार्यका निम्ति कुनै दलहरूका बीचमा सकार निर्माण र सञ्चालनको खेल सामान्य भएको बताए ।

“कि त गठबन्धन बनाउन पाइन्छ केवल कांग्रेससँग मात्र गठबन्धन गर्नुपर्छ भन्ने लेख्नुपर्दथ्यो । यो परिवर्तनालाई एउटा ओठे अभिव्यक्ति हैन, साधारण र स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्छ, त्यहीरूपमा ग्रहण गर्नुपर्छ,” उनले भने । 

पौडेलले एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति पीडा होला भन्दै प्रश्न गरे । “३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला,” उनले भने ।

Debendra-Paudel-1709819601.jpg
 

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सक्नेले उथलपुथल गर्ने दाबी गरे । साथै अबको चार वर्ष गठबन्धन जाने भन्दै भोलि फुट्ने अपेक्षा गरे पनि भ्रममा नबाँच्न सुझाव दिए । 

'चारदिनपछि साथ खोज्ने दिन नआओस्'

राप्रपाले भने सत्ताको फोहोरी खेलमा आफू नलागेको बताएको छ । तर, जसरी पार्टीलाई ‘बाइपास’ गरी सत्ता गठबन्धन बन्यो, अबको चार दिनपछि साथ खोज्ने दिन नआओस् भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले व्यङ्ग्य गरे ।

आफू वर्तमान सत्ताको चलखेलमा सहभागी नभएको भनी स्पष्ट भन्दा पनि पार्टीविरुद्ध कुप्रचार भएको आरोप उनले लगाए ।

Rajendra-Lingden-1709819604.jpg
 

“कतिपय साथीहरूले बडो उत्साहका साथ राप्रपालाई नलिने भएका छौँ भन्नुभयो, यसलाई पार्टीले नोटिसमा राखेको छ,” उनले भने, “यो सत्ता केन्द्रित चलेखेलमा सामेल छैन र हुने छैन भनेर हामीले प्रस्ट भनेपछि जुन विषय आयो सहभागी हुन खोजेको तर पाएन भन्ने कुरा भ्रम हो ।”

तर, राप्रपालाई सहभागी नगराएको भनी उत्साहित हुँदै प्रचार गरिएको उल्लेख गर्दै उनले भने, “तपाईंको गठबन्धनले पर्सि नै राप्रपा खोज्ने दिन नआओस् । त्यो हामीले नोटिस राखेका छौँ ।”

मेटमणिको गुनासो– हामी त प्रचण्डलाई जोगाउने अंकगणित न हौँ 

बैठकमा सत्तारूढ दल (एकीकृत समाजवादी) प्रमुख सचेतक मेटमणि चौधरीले गुनासो पोखे । उनले प्रचण्डले थाहै नदिई गठबन्धन परिवर्तन गर्ने र प्रचण्डलाई जोगाइदिने दायित्व भने पार्टीले लिनुपर्ने भन्दै गुनासो गरे । उनले प्रचण्डलाई सधैँ धोका नदिन अनुरोध गरेका छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल सधैँ प्रचण्डको बखान गर्दै सरकार टिकाउन मरिहत्ते गरेर बसेको भन्दै सुतिरहेको अवस्थामा किन गठबन्धन तोडेको भन्दै प्रश्न गरे ।

Metmani-Chaudhari-1709819603.jpg
“अब हामीलाई छाडेर नजानुहोला । हामी साथमा छौँ, कतिबेला छुट्छौँ थाहा नै पाउँदैनौँ,” उनले रोस्टममा उभिएर भने, “हाम्रो अध्यक्ष माधव नेपालजस्तो असल इमान्दार मान्छेलाई थाहै नदिइकन गठबन्धन तोडियो । उहाँ सधैँ प्रचण्डको बखान गर्नुभएको छ, प्रचण्डको सरकार सरकार बनोस् भन्ने चाहना छ । सुतिरहेको बेला छुटेको थाहा हुँदैन कस्तो गजब छ ।”

भ्यागुतोलाई जोखेर धार्नी पुग्ला : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री प्रचण्डले ‘भ्यागुते प्रवृत्ति’ देखाएको आरोप लगाए । उनले १५ महिनामा तीनपटक सत्ता गठबन्धन परिवर्तन गरिएको भन्दै प्रधानमन्त्रीको यो प्रवृत्तिले राजनीतिलाई स्थिर हुनै नदिने बताए ।

उनले प्रधानमन्त्रीलाई लिएर कसैले स्थिरता दिन्छु भने त्यो हास्यास्पद हुने टिप्पणी गरे ।

“बरु, भ्यागुतोलाई जोखेर धार्नी पुर्‍याउन सहज होला, प्रधानमन्त्रीलाई कमजोर नठान्नुहोला । उहाँ कतिबेला उफ्रेर कता पुग्नुहुन्छ, अनि प्रदेशसहितको सरकार ढल्छ,” राउतले भने ।

CK-Raut-1709819602.jpg
प्रचण्डले आफूलाई ‘मिस्टर उथलपुथल’ भनिरहेको भन्दै दुनियाँको 'शेषनाग' उनै भएको बताए ।

“ख्याल गर्नुहोला प्रधानमन्त्रीज्यू, हरेक शेषनागसँगै कृष्णको पनि जन्म हुन्छ,” उनले भने ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement