site stats
बाह्रखरी :: Baahrakhari
देश
दावा छिरिङलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ

काठमाडौं । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई नागरिकता दिलाउने एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रामचन्द्र अर्याललाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी हाल वागमती प्रदेशसभा सचिवालय हेटौँडामा छैटौँ तहका अधिकृतका रूपमा कार्यरत छन् । उनलाई हेटौँडाबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

गएको साउनमा ६० किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दावाले काभ्रेबाट नागरिकता लिएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

दावाले निमा तामाङका नामबाट ०७४ पुस २० गते नागरिकता लिएका थिए । अधिकृत अर्यालसँगको मिलोमतोमा नागरिकता लिएको खुलेपछि उनी पक्राउ परेका हुन् । दावाले नागरिकता लिँदा सनाखत गर्ने अर्का अधिकृत अझै फरार छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्