काठमाडौं । एक अर्थमा नेपाली महिला फुटबल टिमलाई ‘अभागी’को संज्ञा दिँदा फरक नपर्ला । अभागी हुँदैनथ्यो त ११ फाइनल खेल्दा कम्तीमा एकपटक च्याम्पियन बन्ने थियो ।
बिहीबार साउदी अरेबियामा भएको पश्चिम एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ‘अभागी’को उपमा तोड्ने सुनौलो अवसर थियो । तर, नेपाली टिम त्यसमा सफल बन्न सकेन ।
वाफ महिला च्याम्पियनसिपको फाइनलमा आफूभन्दा ३१ स्थान माथिको जोर्डनसँग अन्तिम १६ मिनेट सम्हालिन नसक्दा नेपाल उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । त्यसपछि समाचारका हेडलाइन बने– ‘नेपाल ११औँ फाइनलमा पनि पराजित’, ‘३८ वर्षसम्म उपाधिविहीन नेपाल’ अरू यस्तै–यस्तै ।
पश्चिम एसियाको महिला फुटबलमा एकलौटी दबदबा बनाएको जोर्डनले लगातार चौथोपटक फाइनलमा स्थान बनाउँदा नेपाल प्रतिद्वन्द्वी पाएको थियो । पछिल्लो तीन संस्करणको उपाधि जितेर ह्याट्रिक गरेको जोर्डनविरुद्ध नेपाली टिमको प्रदर्शनमा खोटका लागि सायदै कुनै ठाउँ होला ।
वरीयतामा आफूभन्दा अब्बल टिमविरुद्ध नेपालले ७३औँ मिनेटसम्म अग्रता बनायो । अझ भनौँ, पाहुना टिमका रूपमा आमन्त्रित नेपालले वरीयतासँग नडराउने सन्देश दियो । तर, यो बहादुरीपूर्ण प्रदर्शनले पनि नेपाललाई उपाधिसम्म डोहोर्याउन सकेन । नेपालले ७४औँ मिनेटमा जोर्डनबाट बराबरी गोल बेहोर्यो । निर्धारित समयको अन्तिम मिनेटमा दोस्रो गोल गरेपछि जोर्डनले उपाधि जितेसरि खुसियाली मनाउन सुरु गरिसकेको थियो । तर, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई रक्षक गीता राईले सदुपयोग गर्दा खेल ‘टाइब्रेकर’सम्म धकेलियो ।
‘टाइब्रेक’मा जोर्डनबाट प्रहारका निम्ति आएका पाँचै खेलाडीले गल्ती गरेनन् । नेपालबाट प्रहारका लागि आएका चौथो खेलाडीको प्रहार बचाएपछि जोर्डनले लगातार चौथोपटक प्रतियोगिताको उपाधि जित्यो । समग्रमा भने जोर्डनको यो छैटौँ उपाधि थियो । नेपाली टिममा भने पुरानै नियती दोहोरियो– ‘फेरि उपविजेता’ ।
“टिम राम्रो थियो । सिरियासँग खेल्दा तालमेल मिलेन । त्ययसपछि इराकसँग खेल्दा राम्रो भयो । प्यालेस्टाइनसँग अझ राम्रो भयो,” फाइनलमा जोर्डनसँग निराश भएपछि समग्र प्रतियोगिताबारे नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले भने, “त्यो तीन खेलमा तालमेल विस्तारै मिल्दै टिमवर्क राम्रो देखियो । सेमिफाइनलसम्म साम्बा पनि टिममा थिइनन् । फाइनलमा मिड ब्लक गर्ने योजना थियो । त्यसमा सफल भयौँ । तर, पेनाल्टी सुटआउट त भाग्यको कुरा थियो ।”
३८ वर्षदेखि उपाधि खोज्दै नेपाल
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।
गएको वर्ष अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन र नेपाल १९८० को दशकबाट नै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन् । तर, पछिल्लो चार दशकमा स्पेनले विश्वकप च्याम्पियन बन्ने गरी प्रगति गर्दा नेपाल त्यो मञ्चमा कहिले उक्लिन्छ भन्ने अड्कल काट्न सकिने अवस्था पनि अझै छैन ।
पहिलो अन्तर्राष्ट्रिय खेलदेखि वाफ महिला च्याम्पियनसिपसम्म नेपालले ३८ वर्षमा कुल ११ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता ।
नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । एघार फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेश, म्यानमार, ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।
सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।
त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्यो ।
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पिडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।
सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको शुक्रबार वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो ।
‘रंगशाला हैन, राम्रो घाँसे मैदानमात्र भए पनि हुन्छ’
वाफमा नेपाली टिमलाई फाइनलसम्म डोहोर्याएका प्रशिक्षक तामाङ नेपाली टिमलाई यसै वर्षको अन्त्यमा हुने साफ महिला च्याम्पियनसिपसम्म प्रशिक्षण दिन चाहन्छन् । तर, यो निर्णय एन्फामा निहित छ । पहिलोपटक राष्ट्रिय महिला टिमको जिम्मेवारी सम्हालेका तामाङ पनि मान्छन्– थोरै चासो दिए यो टिम धेरै माथिसम्म पुग्न सक्छ ।
“एफएले पूर्वाधारमा ध्यान दिनुपर्यो अब । धेरै ठूलो पनि पर्दैन यू–१४, १६ र महिला लिग धेरैभन्दा धेरै गर्यो भने नयाँ खेलाडीहरू आउँछन् र उनीहरूलाई प्रयोग गर्न पाइन्छ । संघले यी कुराहरूमा ध्यान दिनुपर्छ,” प्रशिक्षक तामाङले भने ।
वाफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फमा मात्र प्रशिक्षण गर्यो । साउदी पुग्दा त्यहाँको प्राकृतिक मैदानबाट चकित बनेका तामाङलाई लाग्छ, राम्रो घाँसेमैदान भएमात्र पनि नेपाली महिला टिमले उल्लेखनीय प्रगति गर्नेछ ।
“फुटबल संघले योजना ल्याए भने राम्रो हो । यहाँबाट हामी टर्फमा प्रशिक्षण गरेर गर्यौँ । त्यहाँ पुगेपछि त प्रशिक्षण मैदान र गेम खेल्ने मैदान छुट्याउने गाह्रो भयो । मैदानबाट लोभिएका हाम्रा खेलाडीहरू ‘नेपालमा यतिमात्र भइदिएको भए पनि हामी कहाँ पुग्थ्यौँ होला है सर’ भन्थे,” तामाङले भने, “हामीलाई रंगशाला हैन, एउटा राम्रो घाँसे मैदानमात्र तयार गरिदिए पनि कहाँ पुग्ने थियो हाम्रो टिम । किनकि हाम्रो टिमको खेल्ने शैली धेरै राम्रो छ । टर्फ सिकाएर उता खेल्दा प्रिती, रश्मी घाइते भए ।”
संरचनाविहीन घरेलु फुटबल, लक्ष्य विश्वकप
गएको फागुन १४ गते सार्वजनिक एन्फाको वार्षिक क्यालेन्डरमा महिला लिगलाई दुई चरणमा गर्ने उल्लेख छ । जसअनुसार पहिलो चरणमा यसै वर्षको चैत २५ गतेदेखि असारसम्म पहिलो चरणमा सात प्रदेशका सात टिमले खेल्नेछन् । पहिलो चरणका शीर्ष तीन टिम र तीन विभागीय टिम गरी ६ टिमले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने क्यालेन्डरमा उल्लेख छ ।
महिला लिगलाई दुई वर्षपछि क्यालेन्डरमा राखेको एन्फाले सन् २०२७ वा ०३१ को महिला विश्वकप खेल्नका निम्ति ‘मिसन’ नै बनाएर अघि बढेको छ । एन्फाले उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा ‘मिसन विश्वकप २०२७/३१’ योजना ल्याएको थियो । तर, महिला फुटबलको संरचना शून्य रहँदा विश्वकप पुग्ने ‘भिजन’ कस्तो हो ? कसैलाई थाहा छैन ।
घरेलु संरचना कान्तिबिजोग अवस्थामा रहँदा पनि महिला टिमले आजसम्म प्रदर्शनमा प्रश्न उठाउने ठाउँ दिएको छैन । नेपाली फुटबलको अभिभावकत्व बोकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधा–अचकल्टो महिला लिग गरेको नै दुई वर्ष पुगिसक्यो ।
०७८ चैत १० देखि ३० गतेसम्म चितवनको शारदानगरमा महिला लिगको पहिलो चरणका खेलहरू भएका थिए । दोस्रो चरणका खेलहरू विराटनगरमा गर्ने भनिएको थियो । तर, लामो समय बितिसक्दा पनि दोस्रो चरणका खेलहरू सञ्चालन हुन नसकेपछि २०७९ फागुन १७ गते बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले उक्त महिला लिगलाई निरन्तरता नदिने र त्यसबेला अंकतालिकाको शीर्ष तीनमा रहने टिमलाई नै लिगको विजेता, उपविजेता र तेस्रो घोषणा गर्ने निर्णय गर्यो । त्यसयता महिला फुटबलका कतिविधि शून्यप्रायः छ ।
‘नेपालले २०२७ वा ०३१ को महिला विश्वकप खेल्नेछ’
एन्फामा प्रवक्ता सुरेश साह भने सन् २०२७ वा २०३१ को महिला विश्वकप खेल्नका लागि संघले तीव्र तयारी गरिरहेको जिकिर गर्छन् ।
“सन् २०२७ वा ३१ को विश्वकप खेल्न एन्फाले कमिटी बनाएर नै काम गरिरहेको छ । महिला फुटबलको गतिविधि बढाउने, एकेडेमी सञ्चालन गर्ने, यू–१६, यू–१९ स्तरमा महिला फुटबल विकासमा गृहकार्य गरिरहेका छौँ,” शाहले बाह्रखरीसँग भने, “महिला टिमले पनि अहिले राम्रो प्रदर्शन गरिरहेको छ । यो लय कायम राख्न हामीले महिला टिमलाई होस्टल राख्न ठाउँहरू छनोट गरिसकेका छौँ । हामीले २०२७ वा ३१ को विश्वकपलाई लक्षित गरेर तयारी गरिरहेका छौँ ।”