site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं । जान निकोल लोफ्टी–इटोलने कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।

नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो । नेपाल १८३–८ को स्थितिमा हुँदा नामिबियाका कप्तान जेजे स्मिथले १९औँ ओभर बलिङका लागि रुबेल ट्रम्पेलमेनलाई बल थमाएका थिए । ट्रम्पेलमको पहिलो तीन बलमा नेपाली ब्याटरले समान एक रन जोडेका थिए । तर, ट्रम्पेलमनले चौथो र पाँचौँ बलमा लगातार विकेट लिएपछि नेपाल २० रनले निराश बनेको हो । 

ट्रम्पेलमनले चौथो बलमा दीपेन्द्रसिंह ऐरीलाई र पाँचौँ बलमा अविनाश बोहरालाई पभेलियनको दिशा देखाएका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । दीपेन्द्रले ३२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । २४औँ बलमा लोफ्टी–इटोनको ओभरमा जान फ्राइलिन्कबाट क्याच हुनुअघि रोहितले समान तीन चौका र तीन छक्का प्रहार गरे ।

२०–२ को अवस्थाबाट रोहितले कुशल मल्लसँग तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । कुशलले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन प्रहार गरे । सोमपाल कामले ११ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । गुल्सन झाले ६ बलमा समान एक चौका र छक्कासहित १२ रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका ओपनर कुशल भुर्तेल र अन्तिममा ब्याटिङका लागि आएका अविनाश ‘गोल्डेन डक’ भएका थिए । अर्का ओपनर आसिफ सेख र विवेक यादवले समान ६ रन बनाए । सन्दीप जोराले पाँच रन थप्दा करण केसी दुई रनमा अविजित रहे । 

नामिबियाका रुबेन ट्रम्पेलमेनले चार विकेट लिए । ३.५ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । बर्नार्ड स्कल्ज, जान फाइलिन्क र जान निकोल लोफ्टी इटोनले समान दुई विकेट लिए । त्यसअघि जान निकाले लोफ्टी–इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो । 

नामिबियाबाट विस्फोटक ब्याटिङ गरेका इटोनले १०१ रनको सानदार इनिङ खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बनेका इटोनले ३६ बलमा ११ चौका र आठ छक्का प्रहार गरे । ३३ बलमा शतक बनाउँदै यो सबैभन्दा छिटो १०० रन बनाउने ब्याटर बनेका इटोनले नेपालका कुशल मल्लका नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । यसअघि एसियन गेम्समा मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बनेका थिए । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इटोनको यो पहिलो शतक हो । ६२–३ को अवस्थामा ब्याटिङका लागि आएका इटोनले चौथो विकेटका लागि मलान क्रुजरसँग १३५ रनको कीर्तिमानी साझेदारी गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै नामिबियाले बनाएको अहिलेसम्मकै उच्च साझेदारी हो ।

यसअघि सन् २०१९ मा सीजी विलियम्स र जेपी कोट्जेले बोत्सवानाविरुद्ध ११२ रनको साझेदारी गर्दै सबैभन्दा ठूलो साझेदारीको रेकर्ड कायम गरेका थिए । क्रुजरले ४८ बलमा ६ चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको पहिलो अर्धशतक हो ।

खेलको ११औँ समाप्त हुँदासम्म नामिबियाले तीन विकेट गुमाएर ६६ रन बनाएको थियो । तर, यसपछि इटोन र क्रुजरले आक्रामक साझेदारी गरेपछि नामिबियाले पछिल्लो नौ ओभरमा १४० रन बनाएको थियो । नामिबियाविरुद्ध नेपालका कप्तान रोहितले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले ३० रन खर्चिए । यसबाहेक, करण र अविनाशले समान एक विकेट लिए । ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् । 

नेपालले अब फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro