काठमाडौं । प्रहरीले अमेरिका पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४, दिव्यनगरका २८ वर्षीय राजन पन्त रहेका छन् ।
प्रहरीका अनुसार पन्तले अमरबहादुर पुन मगरलाई ६० लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएका थिए । उनले अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक सात लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।
पुनबाट उनले पटकपटक गरी १० लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नवलपरासी प्रहरीसँग समन्वय गरेर बिहीबार बर्दघाटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।