site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महंगो उपचार खर्चकै कारण बाल क्यान्सरमा मृत्युदर बढी
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ललितपुरको पाटन अस्पतालमा आयोजित कार्यक्रम ।

काठमाडौं । बाल क्यान्सरको उपचार सहज र शुलभ बनाउन विज्ञहरूले सरकारसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ललितपुरको पाटन अस्पतालमा आयोजित एक कार्यक्रममा विज्ञहरूले उपचार खर्च शुलभ बनाउन सरकारको ध्यानकर्षण गराएका छन् । 

नेपालमा बाल क्यान्सर निको हुने दर २० देखि ३० प्रतिशत मात्रै रहेको भन्दै वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. कैलाश साह यसको प्रत्यक्ष कारण आर्थिक अभाव रहेको बताउँछन् । विकसित मुलुकहरूमा बाल क्यान्सर निको हुने दर ८० देखि ९० प्रतिशतसम्म रहेका डा. साहको भनाइ छ । 

“बालबालिकामा क्यान्सरको पहिचान, उपचार खर्च, आर्थिक भारका कारण धेरैले बीचमै उपचार छोड्छन्, यसले मृत्युदर बढाएको छ,” डा. साह भन्छन् । 

पछिल्लो समय विभिन्न दातृ संस्थाको सहयोगमा उपचार खर्च सहज भए पनि दुर्गम ठाउँबाट आउने परिवारमा यातायात र खानबस्नको प्रबन्धमा नै धेरै खर्च हुने उनको अनुभव छ । 

बालबालिकालाई क्यान्सरको उपचारमा ल्याउँदाको यातायात खर्च सरकारले व्यहोर्नुपर्ने उनको जोड छ । 

नेपालमा बर्सेनि आठ सयदेखि एक हजार बालबालिकामा क्यान्सर देखिने गरेको छ । तीमध्ये एक तिहाइ मात्रै उपचारमा आइपुग्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

कान्ति बाल अस्पतालमा बर्सेनि ३०० जना नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । क्यान्सर पहिचान भएकामध्ये १३.१४ प्रतिशत बालबालिकालाई अभिभावकले उपचार नै गर्न नचाहेको अस्पतालको तथ्यांक छ । 

उपचारमा आएकामध्ये पनि २५ देखि ३० प्रतिशत बालबालिकाले बीचमै  उपचार छोड्ने गरेको कान्ति बाल अस्पतालका बाल क्यान्सररोग विशेषज्ञ डा. सुधिर सापकोटा बताउँछन् । 

समग्र उपचारको झन्डै २५ प्रतिशत खर्च औषधिमा हुने गरेको छ, यसबाहेक परीक्षण र परिवारको बस्नेखाने लगायतमा ठूलो खर्च हुने भएकाले पनि उनीहरूको उपचार बीचमै टुट्ने गरेको डा. सापकोटाको अनुभव छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगत २० वर्षदेखि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निःशुल्क प्रदान गर्दै आएको छ । म्याक्स फाउन्डेसनको सहयोगमा अस्पतालमा फोक्सो, मिर्गौला रगतलगायत क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न आठ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. अनिलकुमार ओझा बढीभन्दा बढी बालबालिकालाई यो सेवाको दायरामा ल्याउन प्रयास गरिरहेको बताउँछन् । जनचेतनाको अभावमा क्यान्सर पहिचान भएपछि उपचार नगराउने, उपचारकै लागि भारत पुग्नेको संख्या ठूलो रहेको विज्ञहरू बतउँछन् । 

बाल क्यान्सरको उपचार नेपालमै सहज बनाउन ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सरकारको तयारी छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनीसीएटीभ फर चाइल्डहुड क्यान्सर’ (जीआईसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन लागिएको छ । सो औषधि यही वर्षको अन्त्यसम्ममा आइपुग्ने विश्व स्वास्थ्य संगठन नेपालका नसर्ने रोग विभाग प्रमुख डा. सुमन पन्थी बताउँछन् ।

ती औषधि कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट निःशुल्क प्रदान गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro