काठमाडौं । बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले खाँलाई तीन लाख दुई हजार १९७ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार १४ गते खाँविरुद्ध छात्रवृत्ति वितरणतर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल तीन लाख दुई हजार १९७ रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।
बाँके जिल्ला शिक्षा कार्यालयबाट २०६८ देखि २०७४ सालसम्म छात्रवृत्तिका लागि प्राप्त रकममा, कम्प्युटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि खाँमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।