site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि 

पोखरा । साहित्य पारखीहरूको उत्सवको रूपमा चिनिएको ‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ । बुकवर्म फाउन्डेसनले प्रत्येक वर्ष पोखरामा साहित्य महोत्सव आयोजना गर्दै आएको छ ।

११औँ संस्करणको यो महोत्सवलाई सूर्य नेपालले प्रायोजन गरेको छ । महोत्सवको नाम ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल’ राखिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति हुने जानकारी दिएको छ ।

Dabur Nepal
NIC Asia

फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिएको छ भने दैनिक हजारौँ साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमन : एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ । 

यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपन हाइमर चलचित्र बनेको छ । 

प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा सहभागी हुनेछिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा हुने छ । यो पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो ।

विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो ।

यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ । उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ ।

यस्तै, फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहने छ ।

यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहने छ । नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहने छ । 

गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ ।   

फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति छन् । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदै छ । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ । 

फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुने छ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुने छन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुने छन् । 

कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको र ११औँ संस्करणको फेस्टिभलमा आफूहरू देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको आयोजक संस्थाका भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । 

आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रूपमा स्थापित भइसकेको जनाए ।

“पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्, पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो,” उनले भने ।

नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको उनको भनाइ छ । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्त्वपूर्ण भूमिका रहेको उनले जनाए ।

यसैगरी, पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले यति बेला पोखरा शब्दहरूले दुलही जसरी सिँगारिएको बताइन् ।

“यहाँ यति बेला विचारहरूको ठूलाठूला महल ठडिँदै छन पोखरा यसै पनि कला–साहित्यको सङ्गम हो । गीत सिर्जनादेखि विभिन्न कलाकर्मका लागि मानिस खोजीखोजी पोखरा आउँछन् । यहाँको प्रकृति नै यस्तो छ, जसले जोकसैलाई सजिलै सिर्जनात्मक बनाइदिन्छ,” उनको भनाइ थियो ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक निरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए ।

समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभल आवश्यक भएको महसुस गरेको आफूहरूले बर्सेनि यस्तो फेस्टिभल गरिरहेको छ ।

“कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ,” उनले भने ।

फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि भारीले जनाए ।  

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro