site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारका काम जनतासमक्ष पुर्‍याउने गरी प्रस्तुत हुन सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसद्मा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सरकारले गरेका काम–कारबाही जनतासमक्ष पुर्‍याउने गरी संसद्मा आफ्ना धारणा राख्न सांसदहरूलाई निर्देशन दिएका हुन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने भन्नेबारेमा छलफल गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएको उनले जानकारी गराए ।

“बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरूले संसद्मा व्यवस्थित रूपमा कसरी उठाउने ? यी बारेमा हाम्रा छलफल भए,” उनले भने, “प्रधानमन्त्रीज्यूले संसद्लाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरू छन्, ति विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरूलाई निर्देशन दिनुभएको छ ।”

उनले थपे, “टीआरसी (संक्रमणकालीन न्यायसँग सम्बन्धित) सरकारको, हाम्रो पार्टीको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक हो । सरकारले सकेसम्म सहमतिबाट अघि बढाउने भनेको छ । सहमति हुन सकेन भने प्रक्रियामा लगेर भने पनि टुंग्याउने भन्ने छ । सकेसम्म सहमतिबाटै टुंग्याऔँ भन्ने हो ।”

दलको बैठक मंगलबार बिहान ९ बजे पुनः बस्ने उनले जानकारी दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्