site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलकुदको विकासमा सरकारले आवश्यक बजेट छुट्ट्याउन सकेन : नेता कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खेलकुदको विकासका निम्ति सरकारले आवश्यक बजेट छुट्ट्याउन नसकेको बताएका छन् । शनिबार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापनका अवसरमा उनले यस्तो बताएका हुन् ।

उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्ट्याउन आवश्यक रहेकामा जोड दिए । खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने उनले बताए ।

Argakhachi Cement Island Ad

उनले कुनै पनि देश विकास गर्न खेल क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे । खेलकुदको विकास गर्न सके मात्र युवा आकर्षित र अनुशासित हुने उनले बताए ।

“...कुनै पनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ । खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरू इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ,” उनले भने, “त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीहरूले अत्यन्त महत्त्वपूर्ण विधाको रूपमा लिएर अघि जान सक्यौँ भने मात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ ।”

अध्ययनजत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको उनले बताए । उनले आउँदो आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्