साहित्य
उद्धव देवकोटा
मधुमासको सुरम्य रातमा
एक भएझैँ
दुई अपरिचित मन
निसास्सिने गरी आलिंगन गर्छन्
चुम्छन् एकार्कालाई
समर्पित हुन्छन् एकार्कामा
अनि,
बगाउँछन् आ–आफ्नो सौर्य
रातिन्छन् लाजले
छर्दछन् कौमार्य
वसन्तमा डाँडै ढाक्ने गरी फुलेको गुराँसझैँ
तब मुस्कुराउँछन् रङहरू
गालाभरि क्यानभासको
खाली तनभरि
मडारिन्छन् कुची
निस्फिक्री नाच्दछन्
साना, ठूला, मझौला ब्रसहरू
घोटिन्छन् थरीथरीका धारिला औजार
खोज्दछन् सुर र ताल
सुस्तसुस्त चलिरहन्छन् ब्रसहरू
बगाइरहन्छन् पुरुषार्थ
र,
जन्माउँछन् सुनौलो सिर्जना
क्यानभासमा
मस्तिष्कको गर्भबाट ।
(तिलोत्तमा, रुपन्देही)
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० ०६:३१
प्रतिक्रिया दिनुहोस्