site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेनसँग अमेरिकी राजदूतको भेट, पाए अमेरिका भ्रमणको निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बालेनको कार्यकक्षमा भएको भेटघाटमा आपसी सहकार्यका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । 

भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए । "आपसी कार्यक्रमका रूपमा हामीले आईटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्," बालेनले भने ।

Argakhachi Cement Island Ad

उनले अगाडि थपे, "युनेस्को रचनात्मक सहर सञ्जाल अन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौंले काम गरिरहेको छ । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतवासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।"

भेटका क्रममा राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।

राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्