site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा विवाद : अहिल्यै ‘पूर्वराजा’ फिर्ता ल्याउने कि पर्खिने भन्नेमा 

काठमाडौं । जन्मदेखि नै विवाद, फुट र एकतामा रूमल्लिइरहेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी ।

पूर्वपञ्चहरूको पार्टी टुक्रा–टुक्रा हुँदा पनि विवाद भने कहिल्यै सकिएको छैन । उसको ‘फुट’को कथा लेख्ने हो भने महाभारत नै बन्छ ।

फेरि राप्रपामा नयाँ खालको विवाद देखिएको छ, त्यो हो केन्द्रीय समिति ठूलो कि कार्य सम्पादन समिति ? यतिखेर पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र नवप्रवेशी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीचको आरोप–प्रत्यारोप भिडियो छताछुल्ल भएको छ ।

Dabur Nepal
NIC Asia

राप्रपाले कोसी प्रदेशमा सभामुखका उमेदवार अम्बरबहादुर विष्टलाई बनाएपछि नयाँ विवाद सतहमा आएको हो । राप्रपाका अध्यक्ष लिङ्देनले विष्टलाई सभामुख उमेदवार बनाएपछि अर्का नेता प्रकाशचन्द्र लोहनीले निर्देशन समितिको बैठक बोलाए । बैठकबाट तत्कालै उमेदवार फिर्ता गर्न निर्देशन दिए ।

त्यसले नयाँ विवाद सिर्जना गरेको हो ।  विष्ट सभामुखको उमेदवार बन्दा लिङ्देन मलेसियामा थिए ।

त्यहीबेला बसेको निर्देशन समितिको बैठकको निर्णयमा भनियो, “छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यसविपरीत आज कोसी प्रदेशमा सभामुखको लागि उमेदवारी दिनुभएको छ । अतः निर्देशन समितिले सभामुखको उमेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति÷कार्य सम्पादन समिति निर्देशन गर्दछ ।”

यो निर्देशनले तरंग सिर्जना गर्‍यो । यसलाई राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले अघि बढाउँदै सभामुखबाट फिर्ता हुनुपर्ने धारणा राख्दै हिँडे ।  तर, पार्टीले सुन्दै सुनेन । र, विष्ट कोसी प्रदेशसभाको सभामुख भए । त्यसपछि पार्टी अध्यक्ष र निर्देशन समूहबीच ‘शीतयुद्ध’ शुरु भएको हो ।

विवाद नौलो होइन 

राप्रपामा यस्ता खालका विवाद हुनु सामान्य हो । हुन त यस्ता विवादभन्दा माथि नेपालका कुनै पनि राजनीतिक दल छैनन् ।  कुनै पनि एजेन्डालाई हेर्ने दृष्टिकोण पार्टीमा फरक फरह हुन्छन् स्वाभाविक हो तर सार्वजनिक विवादको विषय भने कमै बन्छन् ।

२०६४ सालमा तत्कालीन राप्रपा नेपालमा रवीन्द्रनाथ शर्मा अध्यक्ष थिए । २०६४ सालमा भर्खरै जन्मिएको पार्टी संविधानसभाको निर्वाचनमा जाने कि नजाने भन्ने विवाद भयो । विवादले ठूलै रुप लियो । चुनावमा भाग लिने कि नलिने भन्नेमा दुईथरी मत थिए ।

एकथरी चुनावमा भाग लिएर पार्टीको एजेन्डा राख्नुपर्छ भन्नेमा थिए– त्यस एजेन्डा बोकेका थिए कमल थापा, पद्मसुन्दर लावतीहरुले । निर्वाचनमा जानै हुँदैन भन्नेमा शर्मा र राजेश्वर देवकोटाहरु थिए । पुस २१– २०६४ मा राप्रपाको बैठकले संविधानसभाको चुनावमा भाग लिने निर्णय गरेपछि शर्माले पार्टी नै छाडिदिए ।

राप्रपालाई नजिकबाट बुझेका एक पाका नेताले टिप्पणी गर्दै भने, “गणतान्त्रिक दलसँग सहकार्य गर्ने, तालमेल गर्ने चुनाव पनि जित्ने तर सरकारमा जान हुन्न, प्रदेशको सभामुख पनि लिनुहुन्न भन्ने मत पार्टीमा देखा पर्‍यो ।”

उनका अनुसार, उनीहरू २०६४ मा देखिएका शर्मा प्रवृत्तिका हुन् । जो अहिल्यै र आजै पूर्वराजालाई आफूहरुले मात्रै भए पनि नारायणहिटीमा लगेर राजा बनाउनुपर्छ भन्नेहरू हुन् । लोहनी र मिश्र पनि तत्कालै राजा स्थापित गर्नुपर्ने पक्षमा रहेको उनको टिप्पणी छ । तर त्यो कतैबाट पनि सम्भावना देखिँदैन ।

अध्यक्ष लिङ्देन भने संविधान मानेर चुनावमा गइसकेपछि सडक र सदनबाट आवश्यकताअनुसार आवाज उठाउँदै अघि बढ्ने र माहोल आफ्नो पक्षमा हुनासाथ एजेन्डा स्थापित गर्न लागिपरेको ती नेता बताउँछन् ।

राप्रपामा लोहनी र मिश्रले भाँजो ल्याउन खोजेको संकेत गर्दै सो पार्टीका अध्यक्ष लिङ्देनले टिप्पणी गरिदिए– ‘‘मिश्रले राप्रपा नै बुझेका छैनन्, लोहनीलाई मैले चिठी दिएर नियुक्त गरेको हुँ, उनको निर्देशन मान्नुपर्ने कारण छैन ।”

लिङ्देनले एभिन्युज टीभीसँगको कुराकानीमा भने, “रवीन्द्र मिश्रले राप्रपालाई के बुझ्नुभएको छ र ? उहाँ हिजो अस्ती आएको हो । उहाँले राप्रपा बुझ्नै बाँकी छ । आउनुभएको एक–डेढ वर्ष त भयो । उहाँले सरकारमा जानु ठीक थियो कि थिएन, सभामुख लिनु ठीक थियो कि थिएन भन्नेमा आफ्नो विचार राख्नुभएको छ ।”

लिङ्देनले निर्देशन समितिको अध्यक्ष आफूले बनाएको हुँदा आवश्यक परे सल्लाह लिन सकिने र आवश्यक नपरे सल्लाह लिनै नपर्ने बताउँछन् ।

“निर्देशन समितिको अध्यक्ष (लोहनी) लाई मैले चिठी दिएर बनाएको हो । अध्यक्ष महाधिवेशनले बनाएको अध्यक्षभन्दा माथि हुन्छ ?,” उनको प्रश्न थियो, “विधानमा स्पष्ट भनिएको छ– राजनीतिक विषयमा सुझाव दिने भनेर । सरकारमा जान ठीक होला कि नहोला भनेर कार्य समितिले निर्देशन समितिसँग सुझाव माग्यो भने सुझाव दिने हो । नाम र काम फरक छ । कार्य संपादन समितिको नाममा निर्देशन जारी गरिएको छ त्यो पनि सामाजिक सञ्जालबाट । त्यो कुरा राप्रपाको अध्यक्षले मान्दैन । त्यो छलफलको विषय नै हुँदैन । संस्थाले मान्दैन । त्यो अध्यक्षले छलफलमै राख्दैन । निर्देशन मान्नुपर्ने कहीँ व्यवस्था छैन, राप्रपाको अध्यक्षले मान्दैन ।”

लिङ्देनको टिप्पणीपछि लोहनीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । तर मिश्रले आफूले राप्रपा बुझ्नै बाँकी रहेको टिप्पणी गरेका छन् । उनले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै आफूले बीसौँ वर्ष गरेको पत्रकारिता त बुझ्नै बाँकी रहेको उल्लेख गर्दै १५–१६ महिनामात्रै रहेको राप्रपा बुझ्नै बाँकी रहेको स्वीकार गरे ।

“राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ । उहाँहरूले म १५ महिनाअगाडि आएको व्यक्तिलाई राप्रपा बुझ्नुभएको छैन भन्नु अत्यन्त स्वाभाविक हो,” मिश्रले भने, “तर, मैले देशभरि व्यापकरूपमा भ्रमण गर्दा पाएको के हो भने राप्रपाका सामान्य सदस्यदेखि स्थानीय र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, बुझाउने कुरामा प्रशस्त सहयोग गर्नुभएको छ । अध्यक्षले पनि सहयोग गर्नुभएको छ ।”

ती नेताका अनुसार, मिश्र पनि अध्यक्षसँग केही कुरामा विमति भए पनि टाढा भएको बताउँदै लोहनी भने टाढा हुँदै गएका छन् । लिङ्देनलाई राप्रपा नेतृसमेत रहेकी अभिनेतृ रेखा थापाले समेत टिप्पणी गर्न भ्याएकी छन् ।

लिङ्देनले बच्चा जन्माउनकै लागि अमेरिका गएको भन्दै व्यङ्ग्य गरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनिन्, “राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोसीमा भ्वाङ परेपछि, बिरालाहरु खाँबो कोतर्दै छन् रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ।”

राप्रपाका एकजना वरिष्ठ नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “लिङ्देन नै व्यवस्था पल्टाउन सकिन्न । विस्तारै जाउँ भन्नेमा देखिन्छन् । तर, लोहनी र नवप्रवेशी मिश्र आजै र अहिले नै व्यवस्था पल्टाउनुपर्छ, अहिले नपल्टाए कहिले पल्टाउने भन्नेमा हुनुहुन्छ । आफ्ना पछाडि कति कार्यकर्ता, कति समर्थक छन् भन्ने उहाँहरुले छुट्ट्याउनै सक्नुभएको छैन ।”

उनले लोहनी पनि बढी राजावादी भएको टिप्पणी गर्दै भने, “उहाँ पहिले राजावादी हुनुहुन्थ्यो होला, तर २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदा उहाँ जनशक्ति पार्टीको संसदीय दलको नेता हुनुहुन्थ्यो । हाम्रा चारजना सभासद विपक्षमा हुँदा उहाँ गणतन्त्रको पक्षमा ताली बजाउँदै हुनुहुन्थ्यो । अहिले हामीलाई सिकाउँदै हुनुहुन्छ ।”

विवाद महाधिवेशनदेखि समानुपातिक सांसद चयनसम्म 

राप्रपाको अहिलेको विवाद पछिल्लो महाधिवेशनदेखिकै हो । राप्रपाको अध्यक्षमा कमल थापा र लिङ्देनबीच प्रतिस्पर्धा भएको थियो । जसमा लिङ्देन विजयी भएका थिए । थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र उनको टिम लागेर आफूलाई हराएको सार्वजनिक टिप्पणी गर्दै आएका थिए ।

त्यसबेला लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए । पछि २०७९ मा भएको आमनिर्वाचनमा लोहनी पनि पशुपतिशमशेर जबराजस्तै समानुपातिक सूचीमा उमेदवार थिए । लोहनीलाई लागेको थियो– महाधिवेशनमा लगाएको गुन लिङ्देनले तिर्नेछन् ।

तर त्यसो भएन । राप्रपाले पाएको एउटा समानुपातिक सिटमा राणा र लोहनीबीच विवाद बढेपछि कार्य सम्पादन समितिको बैठकमै मतदान गराइदिए राणा विजयी भए लोहनी पराजित ।

त्यसैको असर अहिलेसम्मै राप्रपामा देखिएको छ । विवाद आगोको भुसजसरी फैलिइरहेको बेला निर्देशन समितिका संयोजकसमेत रहेका लोहनीले दुर्गा प्रसाईँले काठमाडौंमा गरेको आन्दोलनमा सहभागी हुन पार्टी कमिटीलाई निर्देशन दिए त्यो कुरा लिङ्देनलाई चित्त बुझेको थिएन ।

“एक जना व्यक्तिले गरेको आन्दोलनमा एक जना व्यक्तिले पार्टीलाई आन्दोलनमा जाऊ भन्न मिल्छ ?,” लिङ्देनको प्रश्न थियो । लोहनीले पार्टी हितविपरीत गरेको यो दोस्रो निर्णय भएको लिङ्देन नजिक मानिएका एक पदाधिकारीले बताए ।

त्यसबेला पनि लिङदेनले व्यक्ति आन्दोलनमा जान सक्छन् तर पार्टी सहभागी हुँदैन भनिदिए ।

नदेखिएका पात्र– धवलशमशेर जबरा 

अहिले सतहमा नदेखिएका पात्र हुन्, धवलशमशेर जबरा । जो राप्रपाका महामन्त्रीसमेत हुन् । उनी नै भित्रभित्रै लिङ्देनविरुद्ध लागिपरेका छन्– कारण हो, प्रचण्ड नेतृत्त्वको तत्कालीन सरकारमा आफूलाई नलगेर विक्रम पाण्डेलाई लगिनु ।

राणाले आफू मन्त्री हुने पक्का भएको बताइरहेका बेला पाण्डेलाई सहरी विकास मन्त्री बनाइएको थियो । त्यसपछि राणा लिङ्देन र पाण्डेको विरुद्धमा लागेको ती नेताको टिप्पणी छ । त्यसको असर अहिले पनि भित्रभित्रै देखिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro