
काठमाडौं । राष्ट्रियसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिबाट भएको संशोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
मंगलबारको बैठकमा शिक्षामन्त्री पन्तले संशोधनसहितको प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री पन्तले विश्वविद्यालयको भौतिक संरचना सम्पन्न भइसकेको र ओभरहेड पानी ट्यांकी, बहुउद्देश्यीय हल र आन्तरिक सडक निर्माण भइरहेको जानकारी दिए । साथै, ट्रिटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निसिङसम्बन्धी काम चालु आर्थिक वर्षमा सम्पन्न हुने बताए ।