site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाका नयाँ अनुहार, यस्तो हुनेछ दलगत अवस्था 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभामा बिहीबार १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । ५१ प्रतिष्पर्धीबाट १९ जना चुनिएका हुन् ।  २०८० फागुन फागुन २१ गतेबाट एक मनोनीतसहित २० सदस्यको पदावधि सकिन लागेपछि बिहीबार निर्वाचन भएको हो ।

जसमा एमालेबाट एक मनोनीतसहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीबाट दुई, जसपा एक र स्वतन्त्र एकको पदावधि फागुन २१ बाट सकिँदैछ । त्यही स्थानमा बिहीबार कोसीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदमा निर्वाचन भयो । 

त्यस्तै,गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको हो ।  जसबाट हाल सत्तामा रहेको गठबन्धनका उमेदवार १८ सिटमा निर्वाचित भए भने एक सिटमा भने प्रतिपक्षी नेकपा (एमाले) निर्वाचित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले पाँच, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक र नेकपा एमालेले एक सिट जितेको हो । 


जो निर्वाचित भए 

Global Ime bank

कोसी प्रदेशमा गठबन्धनका दुई उमेदवारमध्ये एक जनामात्रै निर्वाचित भए ।  अन्यमा कांग्रेसका कृष्ण सिटौला निर्वाचित भएका छन् ।  महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भइन् । उनले सत्ता गठबन्धनको तर्फबाट उमेदवार बनेकी चम्पादेवी कार्की पराजित भइन् । 

मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना निर्वाचित भएका छन् । वाग्मतीमा कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत चुनिए । माओवादी केन्द्रबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी र दलिततर्फ नेकपा (एकीकृत समाजवादी)बाट घनश्याम रिजाल विजयी भए । 

गण्डकी प्रदेशबाट महिलातर्फ माओवादीकी मनरूपा शर्मा, अपाङ्गगता र अल्पसंख्यक क्लस्टरमा कांग्रेसका पदमबहादुर परियार र अन्यमा किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् । लुम्बिनीमा महिला क्लष्टरमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भए । 

कर्णालीमा महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलिततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भए । सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त तथा माओवादीका रेणु चन्द निर्वाचित भएका हुन् । 

साटिँदै स्थान 

अब फागुन २१ गतेबाट राष्ट्रियसभामा दलीय हैसियत हेरफेर हुनेछ । माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा पुग्नेछ । माओवादी मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्यसहित पहिलो दल हुनेछ । कांग्रेस १६ सिटसहित दोस्रो दल हुनेछ । एमाले १० सिटसहित तेस्रो दलको रुपमा बन्नेछ । त्यसरी नै एकीकृत समाजवादी ८ सिटसहित चौथो हुनेछ । 

जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य हुनेछन् । एकजना राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम रहेका छन् । सत्ता गठबन्धनले बाँकी रहेको मनोनीत जनमोर्चालाई दिए उसको दुई सिट हुनेछ । यसरी राष्ट्रियसभामा सात दल कायम रहने देखिएको छ । राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा दलहरूबीच एकता, विभाजन र गठबन्धनले हैसियत फेरिएको हो ।

राष्ट्रियसभाको पहिलो निर्वाचन २०७४ फागुन २४ गते भएको थियो । राष्ट्रियसभामा पाँच दलको प्रतिनिधित्व भयो । जसमा पहिलो दल एमाले बन्यो । एमालेबाट २९ सदस्य निर्वाचित भएका थिए । दोस्रो दल बनेको कांग्रेसबाट १३ सदस्य निर्वाचित भएका थिए ।

नेकपा एमालेसँग सहकार्य गर्दा पनि तेस्रो दल बनेको माओवादी केन्द्रबाट १० सदस्य निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल २, संघीय समाजवादी फोरमबाट २ सदस्य निर्वाचित भएका थिए । 

०७४ फागुन ८ गते राष्ट्रपतिबाट ३ जना सदस्य मनोनीत भएपछि राष्ट्रियसभा ५९ सदस्यीय बनेको थियो । मनोनीत हुनेमा एमालेबाट युवराज खतिवडा, विमला राई पौडेल थिए भने माओवादीबाट रामनारायण बिडारी थिए । 

मनोनीतसहित एमाले ३१ र माओवादीले ११ सिट पाएको थियो । राष्ट्रियसभामा गोलाप्रथाबाट सदस्यहरूको कार्यकाल निर्धारण भएको थियो । जसमा २, ४ र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसबेला राष्ट्रियसभाको निर्वाचन भएको ३ महिनामा नै दलहरूको हैसियत फेरिएको थियो । 

०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भयो । एकता भएर बनेको नेकपा मनोनीतसहित ४२ सदस्यीय बन्यो । राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेकपा बन्यो । त्यस्तै, ०७६ वैशाख २३ गते संघीय समाजवादी पार्टी फोरम र नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी गठन भयो । 

त्यतिबेला समाजवादी पार्टीसँग राष्ट्रियसभाका एक सदस्य थिए ।  उक्त पार्टी र राष्ट्रिय जनता पार्टी ०७७ वैशाख ११ गते एकता भयो । दुई बीच एकता भए बनेको जनता समाजवादी पार्टी (जसपा), सँग राष्ट्रियसभामा तीन सदस्य थिए । 

अनि खुम्चियो कांग्रेस

०७६ माघ ९ गते राष्ट्रियसभाको दोस्रो निर्वाचन भएको थियो । १९ सदस्य दुई वर्षे कार्यकाल पूरा भएर बिदा भए ।  जसमा मनोनीत युवराज खतिवडाको पनि कार्यकाल सकिएको थियो । दुई वर्षे कार्यकाल पूरा हुनेमा नेकपाका मनोनीत एकसहित ९, कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादीका एक जना थिए । 

१८ स्थानका लागि निर्वाचन भएको थियो । जहाँ नेकपा र राष्ट्रिय जनता पार्टीबीच चुनावी गठबन्धन बनेको थियो । नेकपाले १६ सिट र जसपाले २ सिट जितेको थियो । कांग्रेसले आफ्नै ७ सिट पनि जोगाउन सकेन । नेकपालाई ८ सिट फाइदा भएको थियो । 

दुई वर्ष कार्यकाल पूरा हुँदा नेकपा ४९ सिटको बनेको थियो । ०७७ असोजमा वामदेव गौतम मनोनीत भएपछि नेकपा ५० सदस्यीय बनेको थियो । राष्ट्रियसभामा नेकपा ५० सदस्यीय बन्दा कांग्रेस ६ सिटसहित दोस्रो दल बनेको थियो । त्यस्तै जसपासँग ३ सिट थियो । 

तर, २०७७ फागुन २३ गते सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । नेकपा विभाजित हुँदा एमाले मनोतीतसहित ३५ सदस्यीय बन्यो । र, माओवादी मनोनीतसहित १५ सदस्य बनेको थियो । 

कांग्रेस ६ सिटसहित तेस्रो बनेको थियो । जसपासँग ३ सिट थियो । 

उपनिर्वाचनले स्वतन्त्रको प्रवेश, कांग्रेसलाई फाइदा

नेकपा विभाजन हुँदा माओवादीबाट निर्वाचित रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का एमालेमै बसे । उनीहरू एमालेमै रहेपछि माओवादीले कारबाही ग¥यो । ती ठाउँमा २०७८ जेठमा उपनिर्वाचन भयो ।

उपनिर्वाचनमा बादलको स्थानमा स्वतन्त्र नेकपा एमालेको तत्कालीन वरिष्ठ नेता माधव नेपालको सहयोग पाएका स्वतन्त्र उमेदवार खिमलाल देवकोटा र लुम्बिनीमा खड्काको रिक्त पदमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भए । 

एमालले १ सिट गुमाउँदा स्वतन्त्रको प्रवेश भयो भने कांग्रेस एक सिट बढाएर ७ सिट पुर्‍यायो ।
 
एमाले र जसपा विभाजन

०७८ भदौ ९ गते एमाले र जसपा विभाजित भयो । ०७८ भदौ ९ गते एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । राष्ट्रियसभामा एमालेका ७ जना सदस्य एकीकृत समाजवादीमा आबद्ध भए ।

त्यस्तै जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो । एक सदस्य लोसपामा अबद्ध भए । एमाले र लोसपा विभाजित हुँदा दलहरूको सिट संख्या फेरियो ।  एमाले मनोनीत एकसहित २५ सदस्य, माओवादी १५, कांग्रेस ७, एकीकृत समाजवादी ७, जसपा २, लोसपा १ र स्वतन्त्र १ सिट रह्यो । त्यस्तै मनोनीत वामदेव गौतमले ०७८ भदौ १९ गते एमाले छाडेर छुट्टै दल गठन गरे ।

एमालेलाई झनै धक्का 

तेस्रो निर्वाचन २०७८ माघ १२ गते भयो । ०७८ फागुन २० गते चार वर्षे कार्यकाल पूरा गर्ने राष्ट्रियसभाका २० सदस्य थिए ।  जसमा एमालेका ८, कांग्रेसका ३, माओवादीका ४ एकीकृत समाजवादीका ४ सदस्य थिए । 

मनोनीत रामनारायण बिडारीको पनि कार्यकाल चार वर्ष नै थियो । उक्त चुनावमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन चुनावमा होमिएको थियो । जसमा एमालेले १ सिट मात्रै जितेको थियो ।

कांग्रेस ६, माओवादी ५, एकीकृत समाजवादी ५, जसपा १ र जनमोर्चाले समेत १ सिट जितेको थियो ।  ४ वर्षे कार्यकालमा राष्ट्रियसभामा ७ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उपस्थिति थियो ।  ०७८ फागनु २१ चुनावपछि पनि राष्ट्रियसभामा एमाले पहिलो दल थियो । एमाले एक मनोनीतसहित १८ सदस्यीय थियो । दोस्रो दलको रुपमा माओवादी एक मनोनीतिसहित १६ सदस्य थिए । कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १, स्वतन्त्र १ र मनोनीत (वामदेव गौतम) १ सिटको हैसियतमा रहे । 

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा ०७९ माघ २५ गते उपनिर्वाचन भएको थियो । जसमा एमालेका कुमार दसौंदी निर्वाचित भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !