काठमाडौं । केही समयअघि निर्देशक दीपेन्द्र के खनालसँग एक द्वन्द्व निर्देशकले भने– दाइ, म फिनल्यान्ड जाँदै छु, सायद अब म नेपाल फर्किन्नँ होला ।
“१९ वर्ष नेपाली सिनेमा उद्योगमा काम गरेको त्यो भाइले त्यसोभन्दा उसका आँखाभरि आँसु टिलपिल थिए,” दीपेन्द्र भन्छन्, “ऊ आफ्नै पनि होइन, श्रीमतीको डिपेन्डेन्ट भिसामा जान लागेको बताइरहेको थियो ।”
१९ वर्ष बिताएको उद्योगमा पछिल्लो समय काम पाउन छोडेपछि ती द्वन्द्व निर्देशक पलायन हुने अवस्थामा पुगेका थिए । “ठूलो रोगको उपचारको त कुरै भएन, दाँत दुखेको उपचार गराउने पैसा पनि छैन दाइ भनेर भनिरहेका थिए । उसले त्यसो भन्दा मेरो मन नै खिन्न भएको थियो,” दीपेन्द्र भन्छन्, “द्वन्द्व निर्देशक मात्रै होइन, भिलेनको रूपमा मात्रै काम गर्नेलाई पनि काम नपाउने अवस्था छ ।”
इन्टरनल कन्फिल्क्ट मात्र भएका सिनेमा बनाइनु, लार्जर देन लाइफ चलचित्र नबन्नु र एकै प्रकृतिका फिल्म बन्नु खलनायक र द्वन्द्व निर्देशकले काम नपाउनु मुख्य कारण भएको दीपेन्द्र बताउँछन् । लार्जर देन लाइफ सिनेमा कम बन्दा एन्टागोनिस्टको भूमिका खुम्चँदै गएको उनको ठहर छ ।
अहिले सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकार हुने गरेका छन् । यी कलाकार आफैँमा चरित्र अभिनयमा सफल मानिन्छन् । चरित्र अभिनयमा काम गर्ने कलाकार मुख्य भूमिकामा भएपछि फिजिकल द्व्रन्द्व हुने सम्भावना स्वतः न्यून हुने उनको भनाइ छ ।
एक्सनप्रधान सिनेमा बजेटका हिसाबले खर्चिलो हुने भएकाले पनि अहिले नबनाइएको दीपेन्द्रको बुझाइ छ । “अहिले सोसल ड्रामा मात्रै बनिरहेका छन् । टाक्कटुक्क ह्युमर राखेर कमेडी सिनेमा मात्रै बनिरहेका छन् । अझ पछिल्लो समय त पोलिटिकल सिनेमा बनिरहेका छन्,” दीपेन्द्र अगाडि थप्छन्, “यस्ता सिनेमामा भिलेनको मारधाड खासै धेरै नहुने हुँदा यही रोलका लागि काम गर्ने कलाकार आवश्यक भएन ।” सामान्य द्वन्द्व चलचित्र निर्देशकले नै हेर्ने भएकाले विशेष व्यक्ति आवश्यक नपर्ने उनी स्पष्ट पार्छन् ।
अर्कोतर्फ, भयंकर द्वन्द्व सिनेमामा काम गर्ने कलाकार पनि अहिले चलचित्र उद्योगमा नरहेको उनी बताउँछन् । द्वन्द्वप्रधान सिनेमामा काम गर्न त्यहीअनुसारको हिरो चाहिने र लामो तयारी आवश्यक पर्ने उनी सुनाउँछन् ।
“उहाँहरूलाई खेलाउन सकिन्छ । लामो अनुभव भएको र उहाँहरूले आफूलाई प्रुभ गरिसकेका कारण काम गराउन सकिन्छ,” निखिल उप्रेती, विराज भट्टलगायत हिरोलाई एक्सन सिनेमामा खेलाउन सकिँदैन ? भन्ने प्रश्नमा उनी भन्छन्, “तर, दर्शकको रुचि केही सिफ्ट भएको छ । त्यसमा अपडेट भने हुनुपर्छ ।”
बजार एक्सन सिनेमाकै
नेपालमा अहिले एक्सनप्रधान सिनेमा नबनाइए पनि यो जानराका चलचित्रमा दर्शकको आकर्षण रहेको उनी बताउँछन् । “हामी अहिले इन्टरनल कन्फ्ल्क्टि मात्रै भएका चलचित्रमा काम गरिरहेका छौँ । तर, दर्शकको आकर्षण एक्सनप्रधान सिनेमामा छ,” दीपेन्द्र भन्छन्, “‘सलार’, ‘जवान’ एक्सनप्रधान सिनेमा भएकैले हेरिएको हो ।”
अक्सर एकै प्रकारका चलचित्र बनाइनुलाई राम्रो मान्न नसकिने उनको धारणा छ । क्रेडिटलाइन नहेर्ने हो भने कसको सिनेमा भनेर थाहा नहुने उनको टिप्पणी छ । हरेक विधाका सिनेमा बनेको अवस्थामा मात्र चलचित्र उद्योग फराकिलो हुने उनी बताउँछन् ।
पलायन हुने अवस्था
चलचित्र ‘ऐश्वर्य’मार्फत नेपाली सिनेमामा एन्टागोनिस्टका रूपमा प्रवेश गरेका प्रशान्त ताम्राकार भन्छन्, “चलचित्रसँगै मेरो साइड बिजनेस नभएको भए म पनि पलायन भइसक्थेँ होला ।”
लामो समयदेखि काम नपाउँदा द्वन्द्वको विधामा काम गरेका व्यक्ति विदेश पलायन भइसकेको उनी बताउँछन् । २०औँ वर्ष काम गरेको उद्योगमा बेरोजगार भएपछि विदेशिनुको विकल्प नरहेको उनको भनाइ छ ।
सिनेमाका लागि अफर आउनु ‘आकाशको फल आँखा तरी मर’जस्तो भइसकेको उनको टिप्पणी छ । वर्षौँ कुर्दा पनि काम नपाएपछि द्वन्द्व निर्देशक, फाइटर विदेशिएको उनी सुनाउँछन् ।
“म ‘ऐश्वर्य’बाट आउँदा दशकौँपछि नेपाली सिनेमा उद्योगले सुनील थापापछि अर्को एन्टागोनिस्ट पायो भन्ने कुरा आयो । मिडियाले पनि त्यसैगरी साथ दियो,” प्रशान्त भन्छन्, “टाइप कास्ट हुनु हुँदैन भन्ने हो । नेगेटिभ क्यारेक्टरभित्र पनि रिचनेस खोजिनुपर्छ । एन्टागोनिस्ट भन्नेबित्तिकै नेगेटिभ क्यारेक्टर मात्रै हुन्छ भन्ने होइन । त्यो कुन हदसम्म चित्रण गर्ने भन्ने हो, जुन ‘ऐश्वर्य’मा थियो ।”
खलनायकले पनि सकारात्मक छाप छोड्न सक्ने भन्दै प्रशान्त सधैँ टाइप कास्ट गर्न नहुने धारणा राख्छन् । “एक्सन मुभी नबन्दा कठिन पक्कै भएको छ । नयाँ सोच र ऊर्जाका साथ आएको व्यक्ति काम नपाउँदा कति समयसम्म कुर्ने भन्ने हो ?,” प्रशान्त भन्छन्, “लामो समयसम्म काम नपाउँदा मुड पनि हराउँदो रहेछ । योबीचमा थुप्रै नयाँ ट्यालेन्ट आएर पनि पलायन हुनुभयो ।”
नेपाली चलचित्र उद्योगमा काम नपाएपछि आफूले भारतका साउथ र भोजपुरी मुभीमा काम गरिरहेको प्रशान्त बताउँछन् ।
बदल्दै चरित्र
लामो समय भिलेनका रूपमा नेपाली चलचित्र उद्योगमा काम गरेका सुनील थापा अहिले एन्टागोनिस्ट हुने सिनेमा नै कम लेखिएको बताउँछन् । “भिलेन हुने सिनेमा नै बनिरहेका छैनन् भन्ने त मलाई लाग्दैन, संख्या भने कम भएको हो । कथाले नै मागेन भने जबरजस्ती घुसाएर त भएन,” सुनील भन्छन्, “कथा नै एन्टागोनिस्ट डिमान्ड नगरेको हुनसक्छ ।”
अधिकांश टेलिसिरियलमा महिला भिलेन हुने गरेको उनी बताउँछन् । कथाले मागेकै कारण टेलिचलचित्रमा महिला भिलेन हुने गरेको उनी स्पष्ट पार्छन् ।
भिलेनबिनाको सिनेमा ‘तरकारीबिनाको मसला’जस्तो हुने उनको टिप्पणी छ । फिजिकल द्वन्द्व राख्ने कि इन्टरनल भन्ने मात्र हो । अहिले नेपाली सिनेमाको द्वन्द्व प्रायः इन्टरनल कन्फिल्क्टमा केन्द्रित छ ।
पछिल्लो समय सिनेमामा केही परिवर्तन भएको सुनीलको अनुभव छ । “मलाई नै अहिले हार्डकोर भिलेनभन्दा पनि मुख्य भूमिका भएको क्यारेक्टर रोल मन पर्छ,” उनी भन्छन् ।
सुनील मात्र होइन, अहिले रवि गिरी, हेमन्त बुढाथोकीलगायत लामो समय हार्डकोर भिलेनका रूपमा काम गरेका कलाकारले अहिले आफूलाई फरक चरित्रमा प्रस्तुत गरिरहेका छन् ।
पछिल्लो समय कस्तो सिनेमा दर्शकले मन पराउँछन् भन्नेमा मेकर नै कन्फ्युजनमा रहेको सुनील बताउँछन् । एक्सनप्रधान वा सोसल ड्रामा मन पराउँछन् भन्नेमा नै दोधार रहेको उनको भनाइ छ ।
“उपेन्द्र सुब्बाको चलचित्र ‘जारी’ मजाले चल्यो, जसमा फिजिकल एक्सन छैन,” सुनील स्पष्ट पार्छन्, “तर, करिब–करिब त्यही जानरामा बनेका कति सिनेमा चलेका छ्रैनन् ।”
एक्सनप्रधान सिनेमा कम बनाइँदा पछिल्लो दशक नेपाली चलचित्रमा स्वतः भिलेनको उपस्थिति नगन्य मात्र देखिन्छ ।
एक्सन सिनेमा बनाउन नसक्दा...
बजेट र दक्ष जनशक्तिको अभावका कारण पछिल्लो समय फिजिकल द्वन्द्वसहितका सिनेमा कम बनाइएको निर्माता रवीन्द्रसिंह बानियाँ बताउँछन् । दक्षिण भारतका सिनेमाको द्वन्द्व हेरिरहेका दर्शकलाई सोहीस्तरका मारधाडका दृश्य देखाउन नेपाली मेकरलाई कठिन हुने उनी सुनाउँछन् ।
“हामीले एक्सन सिनेमा बनाउन नसकेकै हो । बनाउन हो भने यसको ठूलो बजार छ । साउथका सिनेमा, त्यसको बजार र बक्सअफिस कलेक्सन हेर्दा पनि त्यो पुष्टि हुन्छ,” रवीन्द्र भन्छन् ।
नेपालमा एक्सनप्रधान सिनेमा ‘बलिदान’ बन्दै गरेको र यसले राम्रो प्रतिक्रिया र बक्सअफिस कलेक्सन गरे फेरि यस्तै चलचित्र बनाइने उनी बताउँछन् । “वास्तवमा ट्रेन्डसेटर बन्ने कि ट्रेन्डका पछाडि लाग्ने भन्ने हो । आफैँ ट्रेन्डसेटर बनेर सिनेमा चलाउनुपर्छ भन्ने हो,” उनी भन्छन्, “आवश्यकताअनुसार चलचित्र बनाउने कि आवश्यक महसुस गराउने भन्ने हो । साउथले चलचित्रमा द्वन्द्व आवश्यकता महसुस गराइरहेका छन् ।”
नेपालमा अहिले विकल्प नभएर फिजिकल एक्सनबिनाका सिनेमा निर्माण तथा प्रदर्शन भइरहेको रवीन्द्रको धारणा छ । दर्शकले विकल्प भेटेको अवस्थामा त्यतैतर्फ सिफ्ट हुने उनको विश्वास छ । “सुरुमा आन्तरिक द्वन्द्व भएपछि नै त्यसपछि फिजिकल द्वन्द्व हुने हो,” उनी भन्छन्, “त्यसलाई कसरी बाहिर ल्याउने भन्ने हो ।”
भविष्यमा देखिनेछ नकारात्मक असर
लामो समय एक्सन सिनेमा नबन्नु अहिलेभन्दा पनि भविष्यका निम्ति नराम्रो हुने प्रशान्त बताउँछन् । “अहिले एक्सन विधामा काम गर्ने कलाकार, निर्देशक र फाइटर बेरोजगार मात्रै हुने हो,” उनी भन्छन्, “यसको असर भोलिका दिनमा नकारात्मक पर्नेछ । अहिले काम नपाएपछि एक्सन मुभीमा काम गर्ने दक्ष कलाकार र फाइटरहरू पलायन हुँदा भोलि यो विधामा काम गर्ने मान्छे नै हुँदैन ।”
दक्ष जनशक्ति पलायन हुने र अहिले बजार र माग नहुँदा त्यस्तो जनशक्ति तयार नहुन सक्छ । यसको असर भविष्यमा पर्ने उनको भनाइ छ । त्यति बेला एक्सन सिनेमा बनाउन खोज्नेलाई कठिन हुने उनको जिकिर छ । दक्ष जनशक्तिको अभावमा राम्रो सिनेमा नै नबन्ने समय आउने प्रशान्तको तर्क छ ।