काठमाडौं । एक अध्ययनले काठमाडौं उपत्यकाभित्रका ५७ वटा विद्यालय/कलेज, स्वास्थ्य चौकी/अस्पताल र पूललाई भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जापानी अन्तन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले संयुक्त रुपमा गरेको अध्ययनले ती संरचना संवेदनशील देखाएको हो ।
काठमाडौं तथा काठमाडौं वरपर केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएमा ती संरचना भत्किने जोखिम उच्च रहेको अध्ययनमा पाइएको छ ।
“उच्च प्रविधिको सहयोगमा प्राधिकरण र जाइकाको टीमले केही सरकारी भवन, विद्यालय/कलेज, अस्पताल/स्वास्थ्य चौकी र पूलको अध्ययन गरेको थियो,” प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “अध्ययन ५७ वटा संरचना भूकम्पीय दृष्टिले संवेदनशील देखिएको छ ।”
प्राधिकरणको जोखिम न्युनीकरण तथा कार्यसञ्चालन महाशाखाका प्रमुख तथा सहसचिव रामेश्वर मरहट्टाका अनुसार, अध्ययनका लागि सुरुमा ५ हजार ७३१ वटा स्कुल/कलेज भवन, ५८४ वटा अस्पताल/स्वास्थ्य चौकी भवन, ४७८ वटा सरकारी कार्यालय भवन र १४५ वटा पूल छनोट गरिएको थियो ।
उक्त सूचीबाट ‘सर्टलिस्ट’ गरी १५४ वटा विद्यालय/कलेज भवन, १५५ वटा अस्पताल/स्वास्थ्य चौकी भवन, ५४ वटा सरकारी कार्यालय भवन र २४ वटा पूलको अध्ययन गरिएको सहसचिव मरहट्टाले जानकारी दिए ।
“अध्ययनमा समेटिएकामध्ये काठमाडौं उपत्यकाभित्र भूकम्पीय जोखिमका दृष्टिले ३२ वटा स्कुल/कलेज भवन, १३ वटा अस्पताल/स्वास्थ्य चौकी भवन, ८ वटा सरकारी कार्यालयका भवन र ४ वटा पूल संवेदनशील पाइएको छ । यी संरचनाले ७.८ म्याग्निच्युडको भूकम्प थेग्न सक्दैनन्,” सहसचिव मरहट्टाले बाह्रखरीसँग भने ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार, अध्ययनमा उच्च प्रविधिको प्रयोग गरिएको थियो । संरचना निर्माणमा प्रयोग सामाग्री, अपनाइएको विधि, संरचना भएका स्थान, संरचना निर्माण भएको अवधिलगायतमा अध्ययन गरिएको थियो ।
“अध्ययन समेटिएका संरचनामा प्रयोग भएका पिल्लर र विम, त्यसमा रहेका रड लगायतको पनि अध्ययन गरिएको थियो,” कार्यकारी प्रमुख पोखरेलले भने । अध्ययनले काठमाडौं उपत्यकाका चारवटा पूल संवेदनशील देखाएको छ । ७.८ म्याग्निच्युडको भूकम्प आए यी पूल भत्किने अध्ययनले देखाएको छ ।
भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील देखिएका चार वटा पूलमा पहिलो छ– तिलंगगा आँखा अस्पताल र पशुपतिको बीचमा वाग्मती नदीमाथिको पूल । काठमाडौं रिङ्रोडमा पर्ने यो पूलको लम्बाई ४८ मिटर र चौडाई १५.३० मिटर रहेको छ । पूलको सुपरस्ट्रक्चर ‘आरसीसी टी–बिम’ र सवस्ट्रक्चर ‘आरसी मल्टी कोलम’ (४ कोलम) रहेको छ ।
दोस्रो पूलमा, काठमाडौं रिङ्रोडमा धोबीखोला माथि रहेको पूल छ । यो पूल चाबहिलको ओम अस्पताल तथा रिसर्च सेन्टरभन्दा केही मिटर उत्तरतर्फ रहेको छ । चाबहिलबाट महाराजगन्ज जार्ने मार्गमा पूल रहेको छ । पूलको लम्बाई ४८ मिटर चौडाई १५.३० मिटर छ । पूलको सुपरस्ट्रक्चर ‘आरसीसी टी–बिम’ र सवस्ट्रक्चर ‘आरसी मल्टी कोलम’ (४ कोलम) रहेको छ ।
भूकम्पीय दृष्टिले तेस्रो संवेदनशील पूल सोह्रखुट्टेबाट बालाजु जाँदा विष्णुमति खोलामाथिको छ । यो पूल भ्याली कोल्ड स्टोरबाट उत्तरतिर पर्छ । पूलको लम्बाई ६०.८० मिटर र चौडाई १२.८० मिटर रहेको छ । पूलको सुपरस्ट्रक्चर ‘आरसीसी टी–बिम’ र सवस्ट्रक्चर ‘आरसी सिङ्गल कोलम’ रहेको छ ।
संवेदशील चौथौ पूल पनि बागमती नदीमाथि रहेको छ । यो पूलले काठमाडौं र ललितपुरलाई जोड्ने काम गर्छ । यो शंखमुल पूलका नामले चिनिन्छ । पूल यून पार्कमा जोडिन्छ । पूलको लम्बाई ५०.४५ मिटर र चौडाई १०.५० मिटर रहेको छ । पूलको सुपरस्ट्रक्चर ‘आरसीसी टी–बिम’ र सवस्ट्रक्चर ‘आरसी सिङ्गल कोलम’ रहेको छ ।
अध्ययनले काठमाडौं उपत्यकाभित्र १३ अस्पताल/स्वास्थ्य चौकीलाई भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील देखाएको छ ।
तिनीहरुमा गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँ प्राथमिक स्वास्थ केन्द्र, दक्षिणकाली नगरपालिका–८ स्थित छैमले स्वास्थ्य चौकी, चन्द्रागिरी नगरपालिका–८ स्थित मातातीर्थ स्वास्थ्य चौकी, चन्द्रागिरी नगरपालिका–१० स्थ्ति सतुङ्गल स्वास्थ्य चौकी, गोदावरी नगरपालिका–१ स्थित गोदामचौर स्वास्थ्य चौकी र गोदावरी नगरपालिका–३ स्थित गोदावरी स्वास्थ्य चौकी छन् ।
अध्ययनमा नागार्जुन नगरपालिका–४ स्थित सीतापाइला स्वास्थ्य चौकी, सूर्यविनायक नगरपालिका–७ स्थित गुन्डु स्वास्थ्य चौकी, कीर्तिपुर नगरपालिका–३ स्थित पालिफल स्वास्थ्य चौकी, ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठी स्वास्थ्य चौकी, ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल स्वास्थ्य चौकी, गोदावरी नगरपालिका–७ स्थित देवीचौर स्वास्थ्य चौकी र सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकी रहेका भवन पनि संवेदनशील देखिएका छन् ।
अध्ययनले काठमाडौं उपत्यकामा रहेका ३२ वटा स्कुलका भवनहरु संवेदनशील रहेको देखाएको छ ।
प्राधिकरण र जाईकाको अध्ययन अनुसार, भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं महानगरपालिका–३१ स्थित नेपाल कमर्स क्याम्स, काठमाडौं महानगरपालिका–१६ स्थित सरस्वती बहुमुखी क्याम्पस, काठमाडौं महानगरपालिका–२६ स्थित श्री रानीदेवी लोअर सेकेन्डरी स्कुल, काठमाडौं महानगरपालिका–५ स्थित श्री टंगाल हाइअर सेकेन्डरी स्कुल र काठमाडौं महानगरपालिका–२८ स्थित शंकरदेव क्याम्पसका भवन संवेदनशील देखिएका छन् ।
ललितपुर महानगरपालिका–११ स्थित कुम्बेश्वर लोअर सेकेन्डरी स्कुल, काठमाडौं महानगरपालिका–२२ स्थित निर्मल विद्यापिठ सेकेन्डरी स्कुल, काठमाडौं महानगरपालिका–२३ स्थित बालसेवा सेकेन्डरी स्कुल, महालक्ष्मी नगरपालिका–८ स्थित श्रीमहालक्ष्मी हाइअर सेकेन्डरी स्कुल, चाँगुनारायण नगरपालिका–८ स्थित श्रीकालिका लोअर सेकेन्डरी स्कुल, चन्द्रागिरी नगरपालिका–१० स्थित भैरवनाथ लोअर सेकेन्डरी स्कुलको भवन पनि अध्ययनमा संवेदनशील पाइएको छ ।
यस्तै, अध्ययन प्रतिवेदनमा काठमाडौं महानगरपालिका–२५ स्थित प्रभात सेकेण्डरी स्कुल, ललितपुर महानगरपालिका–१२ स्थित आदर्श कन्या निकेतन हाइअर सेकेन्डरी स्कुल, ललितपुर महानगरपालिका–९ स्थित ललित कल्याण केन्द्र लोअर सेकेन्डरी स्कुल, महालक्ष्मी नगरपालिका–६ स्थित भानोदय प्राइमरी स्कुल, गोदावरी नगरपालिका–१ स्थित श्री दमाईटार लोअर सेकेन्डरी स्कुल, चन्द्रागिरी नगरपालिका–२ स्थित श्री चण्डिका देवी सेकेन्डरी स्कुल, महालक्ष्मी नगरपालिका–८ स्थित श्री लुभु सेकेन्डरी स्कुल र चागुनारायण नगरपालिका–९ स्थित फैढोका प्राइमरी स्कुलको भवन पनि संवेदनशील रहेको जनाइएको छ ।
तारकेश्वर नगरपालिका–५ स्थित जितपुरफेदी हाइअर सेकेन्डरी स्कुल, ललितपुर महानगरपालिका–२४ स्थित श्रीजल्पा सेकेन्डरी स्कुल, गोकर्णेश्वर नगरपालिका–१ स्थित श्रीराम जानकी लोअर सेकेन्डरी स्कुल, चाँगुनारायण नगरपालिका–६ स्थित श्रीकालिका सेकेन्डरी स्कुल, चाँगुनारायण नगरपालिका–१० स्थित जोरपाटी सेकेन्डरी स्कुल, सूर्यविनायक नगरपालिका–१ स्थित श्री अन्तलिङ्गेश्वर प्राइमरी स्कुल, ललितपुर महानगरपालिका–२३ स्थित श्री पद्म प्रकाश सेकेन्डरी स्कुल, सूर्यविनायक नगरपालिका–७ स्थित बालचेतन प्राइमरी स्कुल छन् ।
त्यसरी नै सूर्यविनायक नगरपालिका–१० स्थित भगवति प्राइमरी स्कुल, गोदावरी नगरपालिका–७ स्थित श्रीदेवी हाइअर सेकेन्डरी स्कुल, चन्द्रागिरी नगरपालिका–२ स्थित चण्डिभैरव सेकेन्डरी स्कुल र शंकरापुर नगरपालिका–१ स्थित चाँपाबोट हाइअर सेकेन्डरी स्कुलका भवन पनि संवेदनशील रहेको अध्ययनले देखाएको छ ।
अध्ययनमा भूकम्पीय जोखिमका दृष्टिले ८ वटा सरकारी भवन संवेदनशील देखिएका छन् । चन्द्रागिरी नगरपालिका–१५ को वडा कार्यालय भवन, कागेश्वरी मनोहरा नगरपालिका–१ को वडा कार्यालय भवन, कीर्तिपूर नगरपालिका–३ को वडा कार्यालय भवन, गोदावरी नगरपालिका–१ को वडा कार्यालय भवन, गोदावरी नगरपालिका–२ को वडा कार्यालय भवन, गोदावरी नगरपालिका–३ को वडा कार्यालय भवन, गोदावरी नगरपालिका–१२ को वडा कार्यालय भवन र वडा नं.६ मा रहेको मध्यपुर ठिमी नगरपालिकाको भवनहरु संवेदनशील रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा संवेदनशील देखिएका भवनको पुनर्निर्माण गर्दा लाग्ने खर्चसमेत निकालिएको छ । संवेदनशील देखिएका ५७ वटा संरचनाको पुनर्निर्माण गर्न ३ अर्ब ६२ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान छ ।
सहसचिव मरहट्टाले भने, “३२ वटा विद्यालय भवनको पुनर्निर्माण गर्न १ अर्ब ६३ करोड १५ लाख रुपैयाँ, १३ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण गर्न ३८ करोढ ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको पुनर्निर्माण गर्न ५१ करोड ८० लाख रुपैयाँ र ४ वटा पूलको पुनर्निर्माण गर्न १ अर्ब ८ करोड ५ लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।’
अध्ययनले संवेदनशील देखाएका भवनको पुनर्निर्माण प्रस्तावसहितको प्रतिवेदन गृह मन्त्रालय पठाएको जानकारी उनले दिए । उक्त प्रतिवेदन र प्रस्ताव गृहले अर्थ मन्त्रालय पठाउने छ ।
अर्थले पुनिर्निर्माणका लागि आवश्यक बजेट जोहो गरेपछि पुनर्निर्माण कार्य सुरु गरिनेछ । पुनर्निर्माण कार्य सम्बन्धित निकायले गर्ने छन् ।
विद्यालय तथा कलेजको पुनर्मिाण शिक्षा मन्त्रालय, सरकारी भवनको पुनर्निर्माण सहरी विकास मन्त्रालय, स्वास्थ्य चौकी तथा अस्पतालको पुनर्निर्माण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूलको पुननिर्माण सडक विभाग तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्नेछ ।