site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस
फाइल तस्बिर ।

जनकपुरधाम । मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदै छ । अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन् ।

वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहाको मझौराका विद्यार्थी रमेश महतोको मृत्यु भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित गरिएको थियो । सो आन्दोलनलाई मधेसवादीले मधेस जनविद्रोहको संज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो ।

त्यसयता वि.सं. २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा ११७ जनाको ज्यान गएको मधेसवादी दलहरूले दाबी गर्दै आएका छन् । तर, मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्यांक छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro