site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नेपालले सन् २०२३ मा ६ वर्षयता सबैभन्दा धेरै चिकित्सक उत्पादन गर्‍यो भने । गएकै साल चार वर्षयता सबैभन्दा धेरै चिकित्सक देशबाट बाहिरिएका छन् । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत छ ।

नेपालको चिकित्सा क्षेत्रका लागि बढी डाक्टर उत्पादन हुनु सकारात्मक समाचार होला, तर उत्तिकै मात्रामा चिकित्सक बाहिरिनुले फाइदा शून्यमा झर्छ । चिकित्सा शिक्षासम्बद्ध मेडिकल कलेजका निम्ति भने धेरै उत्पादन हुनु र सबैले जहाँ भए पनि जागिर पाउनु सकारात्मक समाचार होला, तर देशको बृहत्तर हितलाई ध्यान दिँदा यसरी उच्चशिक्षा हासिल गरेका अतिदक्ष मानवस्रोत बाहिरिनु नोक्सानी हो । यसले नेपालको ठूलो स्रोत बाहिरिन्छ । नेपालले लगानी गरेको प्रतिफल विदेशीले सित्तैमा पाउँछन् र नेपालको स्वास्थ्य अवस्था जर्जर नै रहन्छ । यो प्रक्रियालाई रोक्न नसके पनि निरुत्साहित बनाउनुपर्दछ, अन्यथा हाम्रो चिकित्सा क्षेत्र अहिलेकै अवस्थामा रुमल्लिरहनेछ ।

विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्न प्रतिएक हजार जनसंख्यामा एक डाक्टर, दुई नर्स र एक स्वास्थ्यकर्मी चाहिन्छ भनेको छ । विश्व बैंकको एक तथ्यांकानुसार, नेपालमा प्रतिएक हजार जनसंख्यामा ०.९ चिकित्सक छन् । यो संख्या विश्व स्वास्थ्य संगठनको मापदण्डको नजिक त छ, तर यसले सही तस्बिर प्रस्तुत गर्दैन । 

Dabur Nepal
NIC Asia

हाम्रा ठूला केही सहरबाहेक अन्य स्थान जहाँ डाक्टरको सेवा चाहिएको छ, त्यहाँ डाक्टर छैनन् । जहाँ डाक्टर छन्, त्यहाँ पनि सेवा अत्यन्त महँगो र कतिपय अवस्थामा विश्वसनीय छैन । नेपालका दुर्गम स्थानका बिरामी औषधि उपचार नपाएरै मृत्युवरण गर्न बाध्य छन् भने सहरी क्षेत्रमा उपचार खर्च धान्न नसकेर कतिपय बेघरबार भएका छन् । तर, धनीमानी भारत, थाइल्यान्ड, सिंगापुर, जापान वा अमेरिकामा नै उपचार गराउन रुचाउँछन्, किनभने यहाँको सेवामा तिनलाई विश्वास छैन ।

यस्तो अवस्थामा चिकित्सा क्षेत्रमा सुधार ल्याउन र देशको साधनस्रोत खर्च गरेर डाक्टर बनेका युवायुवतीलाई कसरी देशमै राख्ने भन्ने विषयमा सरकारको ध्यान जानुपर्दछ । आफू संसारको कुनै पनि देशमा बिक्न सक्ने मानवस्रोत हुँदाहुँदै किन कोही नेपालमा नै बस्छ ? अहिलेसम्म त्यस्ता सक्षम व्यक्ति नेपालमा बसेको कारण आफ्नो माटोको माया वा अन्य व्यक्तिगत वा घरेलु कारण होलान्, तर हाम्रो नीतिले रोक्न सकिएको छैन ।

कुन ैपनि उच्च क्षमताका दक्ष व्यक्ति नेपालमा रहनका निम्ति पैसाभन्दा महत्त्वपूर्ण प्रोत्साहन सामाजिक प्रतिष्ठा हो । नेपालमा कुनै बिरामीको अचानक मृत्यु भए डाक्टरले पिटाइ खानुपर्छ, यस्तो अवस्था भएको देशमा के सामाजिक प्रतिष्ठा ? बरु, अहिले सेवा गरिरहेकालाई धन्य भन्नुपर्छ ।

डाक्टरलाई आफ्नै देशमा बस्न प्रोत्साहनको अर्को कारक व्यावसायिकता हुनसक्छ । आफूले धेरैभन्दा धेरै बिरामीलाई निको पार्ने मात्र होइन, न्यूनतम दबाई र सकभर अन्य खर्च कम गराउन पाए चिकित्सक र बिरामी दुवै सन्तुष्ट हुन्छन् । तर, यहाँका डाक्टरलाई त्यो सुविधा छैन । कुन डाक्टरले कति धेरै टेस्टहरू गराएर निजी अस्पताललाई कति नाफा गराए, त्यहीअनुसार उनीहरूको तलब र सुविधा बढ्छ । यस्तो कार्य निरुत्साहित पार्न सरकारी अस्पताल सशक्त र सुविधाजनक हुनुपर्दछ, जुन नेपालमा छैन ।

चिकित्सा क्षेत्रमा सरकारले गर्ने नियुक्ति केवल राजनीतिक भागबन्डा र भ्रष्टाचारका आधारमा हुनाले पनि सर्वसाधारण जनताले यथोचित चिकित्सा सुविधा पाइरहेका छैनन् ।

चिकित्सा सेवा बलियो बनाउने हो भने सरकारले यस क्षेत्रमा गर्ने खर्च बढाउनुपर्छ र भ्रष्टाचार नियन्त्रण पनि गर्नुपर्दछ । अहिले हाम्रो सानो अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको करिब ६ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा खर्च भएको छ, जुन अत्यन्त न्यून छ । यी सबै कारण र निराकरणका उपायमा ध्यान दिऔँ, चिकित्सकलाई विदेशिनबाट रोकौँ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro