site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन निर्मम बन्दैछन् ट्राफिक प्रहरी ? पाँच महिनामा चार लाख चालक कारबाहीमा

काठमाडौं ।  घटना–१, एक महिनाअघि धादिङका मनोज थापा बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि मोटरसाइकलमा पुगे । पुतलीसडक हुुँदै बागबजार पुगेका मनोज आफ्ना साथी लोकेश कार्कीलाई ‘पिकअप’ गर्न त्यहाँ पुगेका थिए ।

कन्सल्टेन्सीमा काम गर्ने लोकेशले अफिसबाट आउन पाँच मिनेट ढिला गरे । बाहिर मनोज सडककै छेउमा आफ्नो मोटरसाइकलबाट नओर्ली कुरिरहेका थिए । त्यहीबेला बाइकमा सवार ट्राफिक प्रहरीको टोली आइपुग्यो ।

मनोजसँग मोटरसाइकलको कागजात मागे । मनोजले दोहोरो नबोली कागजात र आफ्नो सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई दिए ।ट्राफिक प्रहरीले मनोजलाई भने, “चिट काट्नु पर्छ, किनकि यहाँ बाइक रोक्न मिल्दैन ।”

न त त्यहाँ रोक्नुहुँदैन भन्ने संकेत थियो, न उक्त मोटरसाइकलका कारण जाम नै परेको थियो । केवल परेको थियो त ट्राफिक चालकको नजर । ट्राफिक प्रहरीले चिट काट्ने भनेपछि मनोजले केही प्रतिवाद गर्न नखोजेका होइनन् ।

मनोजले प्रहरीलाई अनुरोध गरे, “म बाइकमै छु पार्किङ गरेर राखेर हिँडेको पनि होइन । साथीलाई पर्खिएको दुई मिनेटमात्रै भएको छ । फेरि यहाँ रोक्न पाइँदैन भनेर पनि कहीँ लेखिएको छैन । किन चिट काट्नु हुन्छ ?”
तर, मनोजको कुरा सुन्नै नचाहेका ट्राफिक प्रहरीले चिट काटेरै हातमा थमाइदिए ।

ट्राफिक प्रहरीले उनको लाइसेन्स लिएर २४ घण्टे पुर्जी थमाएर त्यहाँबाट हिँडे । ट्राफिक प्रहरीले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ को कसुर हुने दफाको १७ नम्बर अनुसार चिट काटेर पूर्जी थमाए । उक्त बुँदामा सार्वजनिक स्थानमा अरुलाई बाधा पुग्नेगरी मालसामान वा सवारी राख्न नहुने–चलाउन नहुने उल्लेख छ ।

मनोजले सार्वजनिक स्थलमा बाइक पार्किङ गरेका भने थिएनन् । चिट काटेपछि भने उनी ट्राफिक प्रहरीको व्यवहारप्रति चित्त नबुझेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख (डीआईजी) पोषराज पोखरेललाई गुनासो गर्न कार्यालय नै पुगे ।

पोखरेलले गुनासो स्वाभाविक भए पनि उपत्यकामा कारबाही नगरी ट्राफिक व्यवस्थापन नै गर्न नसकिने प्रतिक्रिया दिए । मनोजले जरिबाना बराबरको पाँचसय रुपैयाँ तिरेर बग्गीखानाबाट निस्किए । एकतर्फी भएको सडकको छेउमा बसेर ट्राफिकले संकेत नगर्ने तर अलि अघि लुकेर बसेर लगातार चिट काट्ने गरेको गुनासो आइरहन्छ ।

त्यसबाहेक कुन स्थानमा कुन गतिमा सवारी चलाउने भन्ने जानकारी पनि सार्वजनिकरुपमा नराखी ट्राफिकले झुक्याएर चालकलाई हैरानीमा पार्ने गरेको गुनासो पनि लगातार आइरहने गुनासो अन्तर्गत नै पर्छ । ट्राफिक प्रहरीको यस्तो व्यवहारप्रति चालक खुसी देखिँदैनन्  । भन्छन्, “स्पष्टसँग संकेत लेखिदिए भैहाल्छ, फेरि लुकेर बस्नुपर्ने ठाउँभन्दा अलिकति अघि बसेर यता जान पाइँदैन भने पनि हुन्छ । तर त्यसो गरिँदैन ।”

यस्तै कारबाहीमा परेका चालक विवेक थापा भन्छन्, “ट्राफिक नियम पालना गर्नै पर्छ । नियम नै उल्लंघन गर्न पाउनुपर्छ भन्ने हाम्रो कुरा होइन । तर, कहिलेकाही सामान्य मानवीय त्रुटिमा परेर हुने कमजोरीमा पनि ट्राफिक प्रहरीको व्यवहार राम्रो हुँदैन ।”

ट्राफिक प्रहरी आफ्नो काम देखाउन र राजस्व संकलन होस् भन्ने उद्देश्यले सवारी चालकमाथि निर्मम हुने गरेको आरोप लाग्ने गरेको छ । तर, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्ट भने सो कुरा अस्वीकार गर्छन् ।

उनी भन्छन्, “राजस्व संकलन गर्ने भन्ने उद्देश्य त होइन । ट्राफिक नियमको कडिकडाउ गरिएको हो । त्यसो गर्दा चालकहरु असन्तुष्ट भएका होलान् ।”

पछिल्लो समय राइड सेयरको नाममा मोटरसाइकल चालकहरुले यात्रु खोज्ने नाममा सडक जाम गर्ने गरेको उनको भनाई छ । ट्राफिक प्रहरीले पछिल्लो समय चेकिङ र सीसीटीभीको माध्यमबाट ट्राफिक निगरानी बढाएको छ । सवारी चालकको गतिनियन्त्रणका लागि स्पिड गनसमेत प्रयोगमा ल्याएको छ ।

पाँच महिनामा करिब चार लाख चालक कारबाहीमा

उपत्यका ट्राफिक प्रहरीको पछिल्लो पाँच महिनाको कारबाही तथ्यांकले नै उपत्यकामा ट्राफिक कारबाहीको दर उच्च रहेको देखाएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा तीन लाख ७० हजार ९८३ सवारी चालक कारबाहीमा परेको देखाएको छ ।

उनीहरुबाट २८ करोड ४८ लाख ४८ हजार ५७ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका एसएसपी भट्टले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा समेत ट्राफिक प्रहरीले कारबाहीबाट ६३ करोड ५४ लाख १९ हजार ८२२ रुपैयाँ राजस्व संकलन गरेको देखिएको छ । 

यो वर्ष कूल आठ लाख ९५ हजार ६१ जना चालक कारबाहीमा परेका थिए ।त्यसअघिको आर्थिक वर्ष २०७८–०७९ मा ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो समय सीसीटीभीको निगरानी र चेकिङमा कडाइ हुँदा कारबाहीको दर बढेको ट्राफिक प्रहरीको दाबी छ ।
 


 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro