‘ओहो, कोठामै छुटेछ !’
सिनेमाको सुटिङ प्याकअप भएपछि घर जाने तरखर गर्दै गरेकी शुभेच्छा (खड्का)ले भनिन् ।
‘के छुट्यो रे दिदी ? म ल्याइदिन्छु नि !,’ सिम्रन (खड्का)ले भनिन् ।
कोठा नक गरिन्, ढोको खुल्यो ।
कस्तो आश्चर्य !
कस्तो ?
“कोठामा त मैले अभिनयमा आइडल मानेको मेनुका (प्रधान) दिदी पो हुनुहुन्थ्यो,” सिम्रन नोस्टाल्जिक हुँदै सुनाउँछिन् ।
आफूले आइडल मानेको कलाकार अचनाक आफैँअगाडि देख्दा उनी छक्क परिन् ।
‘ओहो, दिदी पो !,’ उनले भनिन् ।
तर, सिम्रनले ‘दिदी, म तपाईंको फ्यान हुँ नि !’ भन्न सकिनन् । सिम्रन अक्सर मेनुकाका सिनेमा हुन् वा नाटक छुटाउँदिनन् । ‘पानी फोटो’, ‘गाजलु’, ‘साइँली’लगायत उनका धेरै फिल्म सिम्रनले हेरेकी छन् । “उहाँका नाटक पनि मैले धेरै हेरिकी छु,” सिम्रन मेनुकाले अभिनय गरेका सिनेमा र नाटकको नाम खरर्र भन्छिन् ।
सिम्रनले आफ्नो दोस्रो सिनेमा ‘चित्रा’मा तिनै आदर्श मानेकी मेनुकासँग स्क्रिन सेयर गरिन् ।
ओहो, अभिनयकी पारंगत मेनुका कति हम्मल ! उनले सिम्रनलाई पाईपाईमा सिकाइन् । बिग्रन लाग्दा ‘यस्तो हो, यसरी गर’ भनिन् । टेक लिँदा ‘यस्तै हो, डराउनु पर्दैन’ भनेर ढाडस दिइन् ।
फर्कौं अलि अगाडि–
सिम्रनलाई सानैदेखि हिरोइन हुने रहर थियो । डान्स खुब गर्थिन् । स्कुलमा मिस (शिक्षिका)लाई भन्थिन्, ‘म त हिरोइन् बन्ने हो ।’
घरमा त खासै भनिन्, तर उनको हिरोइन बन्ने चाहनाबारे घरपरिवार अनविज्ञ थिएन ।
अलिकति परिवारको गाइडेन्स, परिबन्द, करिअरले गर्दा होला सायद, सिम्रन अकाउन्टको विद्यार्थी बनिन् । तर, वाणिज्यशास्त्रका सूत्र र बजारको अध्ययन गरेर हिरोइन कहाँ भइन्थ्यो र ! त्यसैले उनले निर्णय गरिन्– अभिनयको कक्षा लिन्छु । परिवार बाधक बनेन । सुरु भयो अभिनयको सूत्रसँगको साक्षात्कार । कान्तिपुर फिल्म कलेज अभिनय सिक्ने थलो भयो ।
एक दिन उनले थाहा पाइन्, निर्माण हुन लागेको सिनेमाका निम्ति अडिसन हुँदै छ रे ! पढेर मात्र त रजतपट यात्रा तय हुँदैन थियो, उभिइन् अडिसनको लामो लाइनमा ।
निर्देशकसहितका केही व्यक्ति अडिसन लिन बसेका थिए । दिइएको इन्स्ट्रक्सनमा उनले छोटो एक्ट गरिन् ।
अनि ?
“एक दिन निर्देशकले फोन गर्नुभयो । र, भन्नुभयो– हाम्रो सिनेमाको क्यारेक्टरको उमेरअनुसार तिमी सुट हुन्छौ जस्तो लाग्यो, खेल्ने हो ?,” सिम्रन पहिलोपटक सिनेमाका लागि ढोका घुरुक्क उघ्रिएको दिनको कथा सुनाउँछिन्, “मैले ‘खेल्छु’ भनेँ । तर, मेरो बीबीएसको पढाइ चलिरहेकाले ‘भनेजति समय दिन सक्दिनँ कि’ भनेँ ।”
त्यो छोटो एक्टले सिम्रनलाई अभिनयको ढोका खोलिदियो । उनले पहिलो खुसी दिदीसँग साटिन्, ‘म फिल्ममा सेलेक्ट भएँ नि !’
‘ल बधाई छ । फिल्म कि फिल्म भन्थिस्, अवसर पाइछस् त !’
छनोट त भइन्, तर कस्तो क्यारेक्टरमा ? सिम्रनलाई थाहा थिएन ।
पछि थाहा पाइन्, एन्टागोनिस्ट पो रहेछ ! “तिमीले गर्ने क्यारेक्टर भिलेन हो भन्दा पनि मलाई नराम्रो लागेन, किनभने मलाई अभिनय गर्नु थियो,” सिम्रन सुनाउँछिन् ।
सिनेमा थियो परिच्छेद सेनको ‘प्रेमगञ्ज’ । मध्यकोरोनाकालमा सिनेमाको छायांकन भयो । “पहिलो सिनेमा भएर होला सायद, म निकै उत्साहित थिएँ । मलाई न डर न धक केही लागेन । बरु, अहिलेचाहिँ त्यो फिल हुन्छ,” सिम्रन भन्छिन् ।
तर, स्क्रिनमा आफ्नो अभिनय हेर्न उनलाई खुब लाज लाग्यो । डबिङमा उनी अरूको अभिनय हेर्थिन्, आफ्नो अभिनय हेर्न सक्दिन थिइन् । ‘स्किप’ गर्थिन् ।
सिनेमाको प्रिमियर थियो । दिदीलगायत केही आफन्त पनि आएका थिए । दिदीले भनिन्, ‘तँ त भिलेन पो भइछस् !’
सिनेमा रिलिज भयो । सिम्रनले अभिनयबाट तारिफ बटुलिन् ।
पहिलो सिनेमाबाट तारिफ बटुलेकी सिम्रनको दोस्रो चलचित्र ‘चित्रा’ शुक्रबारदेखि रिलिज भएको छ । चलचित्रमा उनी छोरीको रोलमा छिन् । उनले यो सिनेमाबाट पनि तारिफ बटुलिरहेकी छन् । प्रिमियरमा उपस्थित गौरी मल्लदेखि अधिकांश कलाकारले उनको प्रशंसा गरे ।
‘चित्रा’मा सिम्रन बेलाबेलामा भन्छिन्– म फ्लोरेन्स नाइटिंगेलजस्तै नर्स बन्छु नि ! त्यसै फ्लोरेन्स नाइटिंगेल कहाँ बनिन्छ, मैलेजस्तो काम गर्नुपर्यो नि !
फ्लोरेन्सले त नर्सिङमा पारंगत भएर संसारभर नाम कहलाइन्, तपाईंलाई अभिनयकी फ्लोरेन्स बन्ने रहर छ ? “छ नि ! अभिनयको फ्लोरेन्स हुने रहर छ,” मुसुक्क हाँस्दै उनले भनिन् ।
सकिन्छ ?
‘प्रयास गर्ने त हो, बनिन्छ/बनिन्न त्यो त भोलिको कुरा हो । हामीले त इमानदार प्रयास गर्ने न हो ।’
सिम्रन अभिनयको फ्लोरेन्स बन्छिन्/बन्दिनन् त्यो त भविष्यकै गर्भमा छ, तर करिअरको सुरुआतमै उनले सम्भावना देखाएकी छन् । त्यसैले त उनले अफरका सुखद समाचार सुनिरहेकी छन् ।
पहिलो सिनेमामा भिलेन बनिन्, दोस्रोमा छोरी । अब उनलाई यीभन्दा फरक क्यारेक्टरमा आफ्नो शिल्प पस्कने रहर छ । आइरहेका अफरले उनको रहर मेटाउँछ वा मेटाउँदैन त्यो स्क्रिप्टमा निर्भर होला ।
अझै अगाडि–
फिल्म हेर्न सुरु गर्दाताका सिम्रनलाई रमित ढुंगाना र आर्यन सिक्देन मन पर्थे । त्यो अबोध उमेरमा उनलाई लाग्थ्यो, सिनेमाका एक्सन सिन रियालिस्टिक हुन्छन् । हिरो–भिलेन मारधाड नै गर्छन् । र, एकले अर्कोमाथि विजयी झन्डा गाड्छन् । हिरो विजयी भए सिनेमाको सुखान्त अन्त्य, हारे दुखान्त फिल्म ।
जब रहरले रजतपटको रिलमा ल्याइपुर्यायो, सिम्रनलाई भिलेनदेखि पनि डर लाग्न छोड्यो । तर, कताकति बाल्यकालीन छापको अवशेषे रहिरहँदो रहेछ ।
जस्तै ?
“मलाई प्रमोद (अग्रहरि) दाइदेखि डर लागिरहेको थियो । हरेक सिनेमामा भिलेनको रूपमा देखेको, सँगै काम गर्नु थियो । एउटै सिनमा स्किन सेयर गर्नुपर्ने थियो,” उनी भन्छिन् ।
तर, रिलमा देखिने प्रमोद कहाँ रियलका प्रमोद ! “उहाँ त साँच्चै माइडियर दाइ पो हुनुहुँदो रहेछ । ‘यस्तो हो बच्चा’ भन्दै काम सिकाउनुहुन्थ्यो,” सिम्रन प्रमोदप्रति अनुग्रहित सुनिइन्, “कति धेरै मैले नजानेका कुरा मलाई सिकाउनुभयो । पर्दामा मात्रै डरलाग्दो हुनुहुँदो रहेछ ।”