काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।
निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।