site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसकेन्द्रित दलको मोर्चा : सीके राउत भन्छन्– जनमतले नेतृत्व गर्न सक्छ

काठमाडौं । तराई मधेसकेन्द्रित सात राजनीतिक दलले घोषणा गर्न लागेको मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मोर्चा’ हुने सम्भावना छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले मोर्चाबारे दस्ताबेज तयार हुँदै गरेको जानकारी दिए ।

मोर्चाको नेतृत्व हाल त्यसमा आबद्ध हुन लागेका मध्ये सबैभन्दा ठूलो दलका हिसाबले आफ्नो पार्टीले गर्न सक्ने उनले उल्लेख गरे । तर, तत्काललाई कोही अध्यक्ष नहुने उनले स्पष्ट पारेका छन् ।

Argakhachi Cement Island Ad

चक्रीय प्रणालीअनुसार मोर्चाको बैठक बस्ने उनले बताए । “...मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मोर्चा’ हुनेछ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कोही अध्यक्ष हुने छैनन्, चक्रीय प्रणालीअनुसार बैठक सबै पार्टीले राख्ने र सो दिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने भन्ने छ ।”

‘मोर्चा विषयमा भ्रमपूर्ण जानकारीबारे स्पष्टीकरण’ भन्दै बिहीबार (चैत २१) बिहान उनले थप लेखेका छन्, “नेतृत्व लिनैपरे सबभन्दा ठूलो दल जनमत पार्टी (६)ले गर्नेछ ।”

मोर्चामा आबद्ध हुन लागेका दलहरूमा जनमत पार्टी (प्रतिनिधिसभा सिट संख्या ६), जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा नेपाल (४), तमलोपा, जनता प्रगतिशील पार्टी र राष्ट्रिय मुक्ति पार्टी छन् । “अरू दल पनि जोडिन सक्छ, भएको दल जतिखेर पनि छोड्न स्वतन्त्र हुनेछ,” उनले लेखेका छन् ।

उक्त मोर्चा घोषणा आज (चैत २१) गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्