site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफूले पाउने क्लष्टर टुंगिएपछि मात्र नाम सार्वजनिक गर्ने माओवादी रणनीति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सोमबार (भोलि) मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । दलहरू उमेदवार टुंगो लगाउने अन्तिम चरणमा छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले आ–आफूले पाउने सिट संख्याको टुंगो लगाइसकेका छन् । क्लष्टरको टुंगो लगाउन बाँकी छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा उमेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा २० पद रिक्त हुँदै छ । तीमध्ये १९ जना निर्वाचनबाट चुनिनेछन् । एक पदमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

राष्ट्रियसभामा गण्डकी प्रदेशबाट तीन पद रिक्त हुँदै छ । फरकफरक तीन क्लष्टरका यी पदमा आकांक्षीको नाम सबै दलले केन्द्रमा पठाइसकेका छन् । अधिकांश आकांक्षीको नाम पनि सार्वजनिक गरिएको छ ।

Global Ime bank

नेकपा (माओवादी केन्द्र)ले भने आकांक्षीको नाम सार्वजनिक गरेको छैन । आन्तरिक रूपमा केन्द्रमा आकांक्षीको सूची पठाइए पनि आफूले पाउने सिट संख्या र क्लष्टर टुंगिएपछि मात्र नाम सार्वजनिक गर्ने रणनीति माओवादीको छ ।

“हामीले पाउने क्लष्टर टुंगिएपछि आज साँझ नै उमेदवारको नाम थाहा पाइहाल्नुहुन्छ,” माओवादी केन्द्र गण्डकीकी अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले भनिन् ।

तर, पार्टीभित्र विरोध हुने डरले नाम सार्वजनिक नगरिएको स्रोतको जिकिर छ । गण्डकी प्रदेशबाट राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदै छ । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले)का तर्फबाट र पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।

यी तीनजना अन्य, महिला र अपांगता/अल्पसंख्यक क्लष्टरबाट राष्ट्रियसभामा प्रवेश गरेका थिए । यी तीनै क्लष्टरका निम्ति माघ ११ गते निर्वाचन हुँदै छ ।

सत्ता गठबन्धन दलले आइतबार बिहान भागबन्डा गरेअनुसार गण्डकीका दुई क्लष्टर नेपाली कांग्रेसले लिनेछ । माओवादी केन्द्रले एउटा क्लष्टर पाउनेछ ।

यसका निम्त कांग्रेसको प्रदेश कार्यसमितिले १७८ आकांक्षीको नाम अघिल्लो हप्ता नै केन्द्रमा पठाइसकेको छ । तीन क्लष्टरका निम्ति एमालेको प्रदेश कमिटीले नौजनाको नाम सिफारिस गरेको छ ।

गठबन्धनको मतभार बढी, कांग्रेस एक्लै बलियो
सरसर्ती हेर्दा तीनै क्लष्टरमा गठबन्धनको जित निश्चित देखिन्छ । आफ्नो जित नहुने देखेपछि एमालेबाट सिफारिस आकांक्षी आफैँमा इच्छुक देखिएका छैनन् ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य, १७० स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष छन् । राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाता यिनै हुन् । जसको कुल मतभार ६ हजार १४० हुन आउँछ ।

०७८ को जनगणनापछि प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढाएर ५३ कायम गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ पुर्‍याइएको छ । यसलाई आधार मान्दा गण्डकीमा एक्लाएक्लै प्रतिस्पर्धा गरे तीनै सिटमा कांग्रेस विजयी हुने देखिन्छ ।

कांग्रेसका तर्फबाट प्रदेशसभामा २७, स्थानीय तहमा नगरप्रमुख १५, उपप्रमुख ११, गाउँपालिकाका अध्यक्ष २१, उपाध्यक्ष २० जना निर्वाचित भएका छन् । ती २७ प्रदेशसभा सदस्यको मतभार एक हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार एक हजार २७३ हुन आउँछ । दुवै जोड्दा राष्ट्रियसभामा कांग्रेसको मतभार दुई हजार ७०४ हुन्छ ।

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका तर्फबाट गण्डकीमा आठ प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार ४२४ हुन आउँछ । माओवादीबाट गण्डकीमा दुई नगरप्रमुख, सात उपप्रमुख, नौ गाउँपालिकाका अध्यक्ष र १२ उपाध्यक्ष छन् । उनीहरूको मतभार ५७० हुन आउँछ । प्रदेश र स्थानीय तह गरी माओवादीसँग कुल ९९४ मतभार छ ।

गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)सँग ५३ मतभार छ । यो मतभार निर्विरोध निर्वाचित भई सो पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)को हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक छन् । यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ ।

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८०८ हुन आउँछ । यो मतभारलाई आधार मान्दा गण्डकीका तीनै सिटमा गठबन्धनका उमेदवारको जित निश्चित छ ।

अर्कोतर्फ, एमाले गण्डकी प्रदेशसभाको दोस्रो ठूलो दल हो । एमालेका तर्फबाट २२ प्रदेशसभा सदस्य छन् । आठ नगरप्रमुख, नौ उपप्रमुख, २७ गाउँपालिकाका अध्यक्ष र २४ उपाध्यक्ष एमालेका तर्फबाट छन् ।

एमालेसँग प्रदेशसभा सदस्यको मात्र एक हजार १६६ र स्थानीय तहका जनप्रतिनिधिको एक हजार २९२ मतभार छ । प्रदेशसभा सदस्य र स्थानीय तहको गरी एमालेसँग कुल दुई हजार ४५८ मतभार छ । तर, एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली निलम्बित छन् । उनको १९ घटाउँदा एमालेसँग दुई हजार ४३९ मतभार रहन्छ ।

अर्को प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दुई प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार १०६ हुन आउँछ ।

गण्डकीमा मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङ स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

गण्डकीमा राप्रपाले के गर्छ भन्ने टुंगो लागिसकेको छैन । तर, उसको मतले गठबन्धनमा कुनै प्रभाव पार्दैन । एमालेसँग मिल्दा पनि घाटा हुने देखिँदैन । एमालेभन्दा झन्डै एक हजार ४०० मतभारले अगाडि रहेको गठबन्धनका उमेदवारको जित निश्चितजस्तै देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC