नेपालको इतिहासमा पञ्चायतकाल एउटा विशिष्ट घटनाक्रम हो । यसका पक्ष या विपक्षमा रहेर तर्क गर्नु एउटा पाटो हो । यद्यपि, आधुनिक नेपालको समकालीन चरित्र बुझ्न पञ्चायतकालको सांगोपांग अध्ययन नगरीकन सम्भव छैन । नेपाली समाज अतिवादी समाज छ, कि त ताली दिन्छ कि त गाली । कि त भगवान् बनाउँछ कि त राक्षस । यस किसिमको अतिवादी दृष्टिकोणबाट समाजलाई वस्तुनिष्ठ ढंगबाट बुझ्न सकिँदैन ।
व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वलाई हेर्ने र बुझ्ने सही दृष्टिकोण नहुँदा आमनागरिक मात्र नभई समाज विज्ञानका अध्येताहरू समेत गलत निष्कर्षमा पुग्ने गर्छन् । पुगिरहेका छन् । व्यक्तिकै कारण सारा संसार परिवर्तन भइरहेको छ भनी त्यसमै रुमल्लिरहेका छन् । अर्थात्, महेन्द्र थिए र यस्तो भयो वा बीपी कोइराला थिए र यस्तो भयो वा यस्तै केही ।
उनीहरू समाजलाई वस्तुनिष्ठ र सही ढंगबाट नहेरी अतिवादी दृष्टिकोणबाट हेर्नाले वास्तविकताको नजिक पुग्न सकिरहेका छैनन् । केही अपवाद वा केही अतिवादी दृष्टिकोणलाई अलिकता पर राखेर भन्ने हो भने पञ्चायतकालदेखि गणतन्त्रको सुरुआती समयसम्म बुझ्न डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ महत्त्वपूर्ण दस्तावेज मान्नुपर्ने हुन्छ ।
विहङ्गम दृष्टिकोणले साना कुरामा नरुमल्लीकन समग्रलाई अध्ययन गरेर मात्र वास्तविक सवाल बुझ्न सकिन्छ भन्ने दृष्टिकोण दिन्छ । यसले सामाजिक परिवर्तन वा पुनर्गठनको सवालमा कर्तालाई प्रधान मान्दैन । यसले त समग्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक संरचना, अन्तर्राष्ट्रिय तथा विश्वव्यवस्थाको परिवेश र ऐतिहासिक सवाललाई महत्त्व दिन्छ । विशिष्ट ऐतिहासिक प्रणालीहरूको अध्ययन नै समाज विज्ञानको केन्द्रीय विषयवस्तु हो ।
विश्व, राष्ट्र, जातजाति, लिंग, धर्म, वर्ग, परिवार, व्यक्तिलगायत सम्पूर्णको वर्तमान खास ऐतिहासिक कालखण्डको उपज हुन । खास ऐतिहासिक विगतविना वर्तमान समाज, संस्कार, संस्कृति, राज्य, लिंग, धर्म, वर्ग, परिवार, विकास, राष्ट्रवाद, शासनव्यवस्था वा अन्य केही कुराको पनि निर्माण हुन सक्दैन । यस आधारमा हेर्दा इतिहासको एक कालखण्डलाई विहङ्गम दृष्टिकोणबाट हेर्न र बुझ्न ‘राष्ट्र–परराष्ट्र’ पुस्तक एक महत्त्वपूर्ण आधार हो ।
पुस्तकले वि.सं. २०१७ साल पुस १ र त्यसपछिका ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्थालाई मिहिन रूपमा विश्लेषण गरेका छन् । उनले यसका पछाडिका केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा कारणहरूलाई उल्लेख गरेका छन् ।
प्रस्तुत पुस्तक विद्यावारिधि गरिरहेका २४ वर्षीय युवकको आधुनिक नेपालको योजना कोर्ने यात्राको फेहरिस्त मात्र होइन, यसमा नेपालको शासन, प्रशासनको जग कसरी बस्यो, योजना कसरी निर्माण भए, रित्तो ढुकुटीको बीचमा पनि कसरी आकर्षक योजनाहरू बने र त्यसको कार्यान्वयनका लागि आधार तयार कसरी तय भयो ? भन्ने बारेमा विस्तृत रूपमा व्याख्या गरिएको छ । यो आजको नेपाल, यसको अवस्था र चरित्र बुझ्न एउटा आधार पनि हो ।
पुस्तकले तत्कालीन समयको देशमा घटेका घटना तथा गतिविधिलाई विश्व परिवेशसँग जोड्दै विश्वव्यवस्थामा आएको परिवर्तनले नेपालमा पारेको असर तथा प्रभावलाई उल्लेख गरेको छ । छिमेकीसँगका द्वन्द्व अनि मित्रता र यसका सहजता, जटिलता अनि त्यसबाट नेपालले लिएको फाइदा र भोग्नुपरेका असहजताहरूका बारेमा मिहिन रूपमा व्याख्या गरिएको छ ।
शक्तिसम्पन्न अमेरिका र सोभियत संघ, दुई विशाल छिमेकी अनि त्यसले नेपालको विकास, नीति निर्माण तथा आर्थिक, सामाजिक, तथा राजनीतिक क्षेत्रमा पारेको प्रभावलाई प्रस्ट रूपमा बुझाइएको छ । नेपालले मिश्रित अर्थतन्त्रको नीति पास गर्नुका पछाडि कसरी तत्कालीन विश्व परिवेश र शक्ति संरचनाको भूमिका थियो भन्ने बुझ्न पुस्तक सहयोगी छ ।
नेपालमा भएका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासका योजनाहरू, भूमिसुधार, त्रिभुवन विश्वविद्यालयअन्र्तगतका अनुसन्धान केन्द्रहरूको स्थापना, नेपालको प्रशासन संयन्त्रको स्थापना, विकास, नेपालको नीति निर्माणलगायत सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक संरचनाहरू क्षेत्रीय तथा विश्वव्यवस्था र ऐतिहासिक अवस्थाको भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
अनि, नेपालको अविकासमा भारतको भूमिका के कस्तो रहेको थियो र रहिरहेको छ भन्ने बारेमा पनि विस्तृतमा उल्लेख छ । नेपालको माओवादी आन्दोलनमा भारतको भूमिका कस्तो थियो भन्नेबारेमा तथ्यपरक विषयहरू थापाले पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा डा. थापाले नेपाली नेताहरूको वास्तविक दोधारे र स्वार्थी चरित्रलाई मिहिन रूपमा चित्रण गरेका छन् ।
प्रा. चैतन्य मिश्र लेख्नुहुन्छ, “ऐतिहासिक प्रवाह र सांरचनिक बन्देजबाट फुक्काफालकर्ता कल्पनामा मात्र फस्टाउन सक्छ, जिउँदो जाग्दो इतिहासमा सक्दैन ।” प्रा. मिश्रले भन्नुभएजस्तै ऐतिहासिक प्रवाह र संरचनाविना कुनै पनि कर्ताले समग्र इतिहास निर्माण सम्भव छैन ।
महेन्द्रले गरेका भनिएका विकास वा अन्य कामहरू कर्ता (महेन्द्र) एक्लैले मात्र गरेका होइनन्, त्यो सम्भव पनि छैन । बरु, त्यो त तत्कालीन ऐतिहासिक प्रवाह र संरचनागत व्यवस्थासँग जोडेर मात्र हेर्ने हो भने सत्यको नजिक पुग्न सकिन्छ । समाजमा भइरहेका घटनाहरू, समाज रूपान्तरण र परिवर्तनका कारणहरू, आन्दोलन तथा विद्रोहका स्वरूपहरू, सामाजिक संरचना निर्माण, विघटन तथा पुनर्निर्माणका रहस्यहरू, उत्पादनका प्रणाली निर्माण, विघटन र पुनर्निर्माणहरूलाई विहङ्गम रूपमा ऐतिहासिक सन्दर्भ र विश्वव्यवस्थासँग जोड्दै बुझ्नु जरुरी हुन्छ ।
थापाले आफ्नो पुस्तकमा नेपालमा भएका कुनै पनि कार्यहरूलाई तत्कालीन ऐतिहासिक प्रवाह र विश्व प्रणालीसँग जोड्दै व्याख्या गरेका छन् । यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको छ ।
कर्ता कुनै पनि कार्यको महत्त्वपूर्ण पक्ष हो, तर कर्ताकै कारण र भूमिकाले मात्र समाजमा भइरहेका परिवर्तन र रूपान्तरण सम्भव छैनन् । राजनीतिक परिवर्तनका कारणहरू सतही रूपमा हेर्दा केही राजनीतिक दल, तिनका नेताहरूजस्ता देखिन्छन् । तर, गहिरोसँग अध्ययन, व्याख्या, विश्लेषण गर्ने हो भने त्यसको जग इतिहासको गर्भमा अन्त कतै बसिसकेको हुन्छ । र, जगको वृद्धिसँगै राजनीतिक परिवर्तन भएका हामी पाउँछौँ ।
आर्थिक उन्नति तथा अवनति पनि कुनै तात्कालीक कर्ताको कारणले मात्र हुने कुरा होइन । नेपालको धराशायी आर्थिक विपन्नताका कारण नेपाली आर्थिक नीति निर्माता तथा राजनीतिक दल तथा तिनीहरूको आर्थिक दृष्टिकोण मात्र कारण होइनन् भन्ने पनि पुस्तकमा प्रस्ट रूपमा उल्लेख छ ।
राष्ट्र–परराष्ट्र पुस्तकले तात्कालीक घटनाक्रम, कर्ता प्रधानता र सतही विश्लेषणभन्दा माथि उक्लेर ऐतिहासिक दृष्टिकोण, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश, सामाजिक, आर्थिक, राजनीतिक संरचना र त्यसमा कर्ताले गरेको कार्य अर्थात् कर्ता–संरचनाको गतिशील सम्बन्धको आधारमा बुझ्नको लागि आधार प्रदान गरेको छ ।
थापाको पुस्तकको अर्को महत्त्वपूर्ण सवाल भनेको दरबारको चरित्र चित्रण हो । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र तथा ज्ञानेन्द्रको चरित्रलाई डा. थापाले तथ्यगत रूपमा चित्रण गरेका छन् । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रबीचको शासनप्रशासन सञ्चालन गर्ने सवालमा रहेका आधारभूत भिन्नता प्रस्ट रूपमा उल्लेख गरेका छन् ।
राजा महेन्द्रको पालामा सिंहदरबारकेन्द्रित शासकीय पद्धति वीरेन्द्रका पालामा कसरी नारायणहिटी दरबारकेन्द्रित भयो र कर्मचारीतन्त्रमा ह्रासको प्रक्रिया सुरुआत भयो भन्ने बारेमा प्रस्ट रूपमा उल्लेख गरिएको छ ।
यसैगरी, ज्ञानेन्द्रको पानीजहाज सपनामार्फत उनको चरित्रलाई प्रस्ट रूपमा छरपष्ट पारिदिएका छन् । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले पानीजहाज चलाउने कम्पनी खोल्ने योजना र प्रक्रियाले झन्डै कसरी देशलाई टाट पल्टाउन लागेका थिए भन्ने बारेमा थापाले महत्त्वपूर्ण खुलासा गरेका छन् ।
अनि, दरबारका ज्ञानेन्द्रजस्ता भाइ–भारदारको स्वार्थअनुरूप काम नगर्दा उनीहरूले कसरी बदला लिन्थे भन्ने बारेमा गलैँचाकाण्डमार्फत बुझाइदिएका छन् । वास्तवमा ज्ञानेन्द्रको बुई चढेर ‘राजा आऊ देश बचाऊ’ नारा लगाउनेहरूले पनि यो पुस्तकबाट उनको असली अनुहार चिन्न चाहने हो भने प्रशस्त खुराक पाउँछन् ।
पुस्तकमा रहेको ‘मैले बेहोरेका राजा र प्रधानमन्त्री’ परिच्छेदमा तत्कालीन तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) र मूलतः चार प्रधानमन्त्री (सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी)हरूको चरित्रलाई चित्रण गरिएको छ ।
यस परिच्छेदमा डा. थापाले महेन्द्रको सवल पक्ष, वीरेन्द्रका कमजोर पक्ष र ज्ञानेन्द्रको महत्त्वाकांक्षालाई उल्लेख गरेका छन् । यद्यपि, महेन्द्र डा. थापाले भनेजस्तै कमजोरीविहीन थिए भन्नेचाहिँ होइन । सायद २४ वर्षे अध्ययनमा अब्बल तर अनुभवहीन युवालाई एकैपटक सचिवमा नियुक्ति दिएको गुन अझै तिरिरहेका हुन सक्छन् ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको कूटनीतिक क्षेत्रमा रहेका व्यक्तिहरूका लागि धेरै महत्त्वपूर्ण ‘टिप्स’ पुस्तकमा छन् । उनले ‘कूटनीतिक संसारमा’ भन्ने परिच्छेदमा आफ्नो कूटनीतिक अनुभवलाई उल्लेख गरेका छन् । पुस्तकले तत्कालीन शीतयुद्धकालीन विश्वव्यवस्था, त्यसमा अमेरिकी दृष्टिकोण र गतिविधि बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ ।
टेनिस कूटनीति, ह्वाइट हाउसमा पहुँच, कूटनीतिमा लबिइङ, शान्तिक्षेत्रको प्रस्ताव र त्यसमा अमेरिकी समर्थन, कर्णाली र म्याकनमारालगायत उपपरिच्छेदबाट कूटनीतिक क्षेत्रमा रहेका व्यक्तिहरूले धेरै लाभ लिन सक्छन् । यसैगरी, तत्कालीन श्रीलंकन द्वन्द्वलाई राम्रोसँग चिरफार गरेका छन् । श्रीलंकाको द्वन्द्वबाट नेपालजस्तो बहुसांस्कृतिक, बहुजातीय देशले सिक्न सक्ने पाठ पनि पस्किएका छन् ।
डा. थापाको अनुभव तथा विज्ञतालाई पुस्तकको आधारमा ल्याउन वरिष्ठ पत्रकार हरिबहादुर थापाको महत्त्वपूर्ण योगदान रहेको छ । मिठो लेखनीका कारण पुस्तक रोचक बनेको छ । यद्यपि, पुस्तकमा कतिपय सवालहरू पटकपटक दोहोरिएका छन् भने कतिपय तथ्यगत त्रुटि पनि रहेको देखिन्छ । जस्तो, पेज नं. ८३ मा डा. थापाले तत्कालीन राजा महेन्द्रसँग देवेन्द्रराज पाण्डेलाई अर्थसचिव बनाउन प्रस्ताव गरेको उल्लेख छ । तर, महेन्द्रको पालामा नभई वीरेन्द्रको पालामा पाण्डे सचिव भएका थिए । महेन्द्रसँग भनिएको उक्त संवाद सायद वीरेन्द्रसँगको हुनुपर्छ ।
यसैगरी, पुस्तक पढिरहँदा केही सवालहरू भने खट्किरहन्छ । जस्तो, बीपी–महेन्द्रबीचको सम्बन्ध अनि यी दुईबीचको सम्बन्धमा दरार आउनुका कारणबारे पुस्तक मौन छ । विश्वव्यवस्था बुझेको, लोकतान्त्रिक देशमा रहेर शिक्षा प्राप्त गरेका डा. थापाले अधिनायकवादी निरंकुश व्यवस्थाभन्दा लोकतान्त्रिक व्यवस्था ठीक हो भनी प्रस्ट रूपमा उल्लेख गर्न सकेका छैनन् ।
यस्ता केही सवालबाहेक पुस्तक समग्रमा वि.सं. २०१७ सालपछिको पाँच दशकलाई बुझ्न एक महत्त्वपूर्ण दस्ताबेज हो । पुस्तकले एक कालखण्डलाई विहङ्गम दृष्टिकोणबाट बुझ्न प्रशस्त आधार प्रदान गर्दछ । साथै देश–विदेश, दलहरू, दरबार र यिनीहरूबीचको द्वन्द्वलाई हेर्ने विहङ्गम दृष्टिकोणसहितको महत्त्वपूर्ण दस्ताबेजका रूपमा यो पुस्तक रहेको छ ।
विश्वराजनीतिक घटनाक्रम र नेपाललाई सँगै राखेर तत्कालीन शासनप्रशासन, आर्थिक क्षेत्र, कूटनीति र समाज बुझ्न चाहने जोकोही अध्येताका लागि यो पुस्तक एक महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहिरहने छ ।