site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेपालका कार्यकर्ताले मागे दुई मन्त्रीको राजीनामा

काठमाडौं । बालकुमारी घटनाको विरोध गर्दै राप्रपा नेपालका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको जमलमा विरोध प्रदर्शन गरिएको हो ।

पार्टीका जनवर्गीय संगठनमा आबद्ध नेता–कार्यकर्ताले प्रहरी दमनका विरुद्धमा नाराबाजीसहित प्रदर्शन गरेको राप्रपा नेपालले जनाएको छ ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन,’ ‘घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।

उनीहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत मागेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा उनीहरूले जोड दिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्