
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन् ।
राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
“विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।