site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
मुलुकमा महामारी चले जसरी जवानदेखि अधबैँसेसम्म मुलुक छाड्ने होडबाजीमा

लुम्बिनी प्रदेशको दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र नगरपालिकाद्वारा स्थापित मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले हामीलाई कानुनका विद्यार्थीहरूसँग कानुनका सवाल र स्थानीय नगर क्षेत्रभित्रका वडाध्यक्ष, महिला सदस्य र स्थानीय भद्र भलाद्मी, एवं र नगरपालिकाका कर्मचारीबीच नीति निर्माण कसरी गर्ने ? भन्ने विषयमा अन्तर्क्रिया गर्ने अवसर दियो ।

नेतृत्वको विकास तथा स्थानीय निकायका बारेमा जानकारी गराउने हेतुबाट एक दिवसीय छलफल कार्यक्रम राखिएको थियो । पंक्तिकारका साथै वरिष्ठ पत्रकार हरिबहादुर थापा, अर्का पत्रकार विमल आचार्य जो उक्त क्षेत्रसँग परिचित र नाता सम्बन्ध रहेभएको हुनुहुन्छ तीन जना हामी उक्त उपमहानगरपालिकाको निम्तोमा पुस १ गते दाङ पुगेका थियौँ । 

हवाई जहाजबाट बिहानीपख नेपालगन्ज र त्यसपछि हामी तुलसीपुरअन्तर्गतको मेट्रो कलेजमा दिउँसो करिब एक बजे पुगेका थियौँ ।

Dabur Nepal
NIC Asia

करिब २ बजेदेखि कानुन संकायका विद्यार्थीहरुसँग हाम्रो छलफल सुरुभएको थियो । मैले सुरुमा मेरो बाल्यकालदेखिका अनुभव सुनाए । ‘म कसरी वकिल भएँ ?’ एकतीस वर्षसम्म कानुन व्यवसायी हुँदै वकालत गर्दाका अनुभव सुनाए । त्यसपछि न्यायाधीश हुँदाको केही अनुभव पनि सुनाएकी थिएँ । हरिबहादुरजीले कानुन निर्माणमा संसद्को भूमिका, शक्ति सन्तुलनमा राज्यका अंगले खेल्नुपर्ने दायित्वबारे धारणा राख्नुभएको थियो ।

लामो छलफल चलिरहँदा विद्यार्थीहरूले हामीलाई थुप्रै प्रश्न राखेका थिए । हामीले तिनको उत्तर दियौँ । विद्यार्थीका प्रश्न लरतरा थिएनन्, रोचक र परिपक्व थिए । उनीहरूका प्रश्न सुन्दा तिनीहरु कानुनका प्रथम, दोस्रो, तेस्रो वर्षका विध्यार्थी हुन् भन्ने लाग्दैन थियो । छात्र र छात्राहरू प्रश्न राख्ने क्रममा उत्तिकै संख्यामा बराबर सहभागी भएका थिए ।

दाङको त्यो मेट्रो कलेजमा कानुन, कृषि, विज्ञानजस्ता सायद सबै संकाय स्थापित गर्ने प्रयास गरिएको रहेछ । पढ्न आउने छात्र/छात्रा विशेषतः वरिपरिका पहाडी क्षेत्र प्युठान, रोल्पा, सल्यानका वा स्थानीय र नजिक जोडिएको तराई क्षेत्रका यादव, थारु परिवारका समेत रहेको पाइयो ।

त्यसको कारण कलेजले कम शुल्क लिएको हुँदा थोरै खर्चमा पढ्न सकिने भएकाले रहेछ । यसका अतिरिक्त अर्को सुविधा के रहेछ भने विद्यार्थीहरूले चाहेमा आसपासका बासिन्दासँग कमसेकम छ हजार रुपैयाँसम्म तिरेमा खान र बस्न पाउँदा पनि रहेछन् ।

यो कलेजमा निम्न वर्ग र मध्यम वर्गका छात्रछात्रा अधिक संख्यामा पढिरहेको देखियो । ती विद्यार्थीमध्ये केहीमा दुबिधा पनि देखियो । कानुनको स्नातकसम्मको अध्यायन पूरा गर्ने कि नगर्ने ? किनभने यस विषयको अध्ययनपछि पेसामा स्थपित हुन पनि धेरै समय लाग्छ । 

कानुनको अध्ययनपछि रोजगारी पाउने क्षेत्र भनेको वकालत, न्याय क्षेत्रमा कानुन अधिकृत, वित्तीय संस्था, स्थानीय निकाय वा अन्तर्राष्ट्रिय संघसंस्थानमा पनि कानुनी सल्लाहकारको रूपमा भविष्यमा काम गर्न सकिन्छ । कानुन व्यवसायी भएर आत्मनिर्भर हुन करिब पाँचदस वर्ष त खर्चिनै पर्ने हुन्छ ।

दाङ तुलसीपुरको उक्त मेट्रो कलेजमा पढ्न आउने छात्र/छात्रा निम्न आयका परिवारका नै हुन् । किनभने आर्थिकरूपमा सक्षम परिवारले छोरा/छोरीलाई काठमाडौंमा स्थापित र नाम चलेको कलेजमा राखेर पढाउँछन् । कारण, काठमाडौंमा धेरै कुराको पहुँच र सुविधा पाउन सम्भावना रहन्छ । 

विध्यार्थीहरूले छलफलको क्रममा कुरा खोले विद्यार्थीका मातापिता जो ग्रामीण तथा पहाडी क्षेत्रमा बसोबास गरेका छन् तिनको परिवारले त्यहाँ महिनामा हुने पाँच/दस हजार रुपैयाँ खर्चको पनि जोगाड गर्न सकिरहेका छैनन् । 

तसर्थ, अबका दिनहरूमा स्वयम् आमाबाबु नै आफ्ना कलिलै उमेरका सन्तानलाई खाडीका मुलुक, मलेरिया, कोरिया वा युरोपका कुनै पनि देशमा गएर सन्तानले कमाउन् भन्ने अवधारणा राख्न थालेका छन् । गाउँघरमा आमाबाबुको त रोजगारी छैन । 

अन्नपात फलफूल मरीमरी फलायो, बजारमा बिक्दैन । बिके पनि कौडीको भाउमा बेच्नुपर्छ । त्यसबाट लागेको लागत पनि उठ्दैन । बरु भारतबाट आयातित समान बजारमा छ्यासछ्यास्ती बिक्रीमा छन् ।

ती आयातित सामानको बिक्री हुन्छ तर नेपाली उपज तिनै वस्तु फालिन्छन् । सडेर जान्छ तर बिक्री हुँदैन । 

हाम्रो मुलुकभित्र एउटा बलियो षड्यन्त्रकारी सञ्जालको सञ्चालन छ जसले नेपालीलाई गरिब बनाएर विदेशीको कमारो बनाउने योजनाको सञ्चालनमा लागिपरेको छ । नेपालीले शिक्षा र रोजगारीको नाममा बरु भिसा र पासपोर्ट सरलसँगै पाउँछन् । 

परराष्ट्र मन्त्रालय, प्रमुख जिल्ला अधिकारीका कार्यालय, श्रम कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकबाट बाहिरिनेको भिड, लाम लागेको हेर्दा यस्तो प्रतीत हुन्छ । मानौँ सारा नेपाली अधबैँसे उमेरको, जवान, युवायुवती मुलुक छाड्ने होडबाजीमा छन् । यस्तो लाग्छ, मुलुकमा कुनै महामारी नै चलेको छ ।

त्यसैले बुद्धिजीवीहरुले भन्न थालेका छन् - नेपालमा गणतन्त्रको सिद्धान्त र मर्मलाई मुठ्ठीभरका नेताले आफ्नो परिवार र आफ्ना निम्ति राम्रैसँग भजाउन सफल भएका छन् । नरहे बाँस नबजे बाँसुरी भनेजस्तै । भए भरका ताता उम्लिने रगतलाई भोको पेट राखेपछि युक्रेन, रुस, मलेसिया अरबको तातो बालुवामा आफू अकालमा देह त्याग गरेरै भए पनि जहान बालबच्चा बूढा आमाबाबुको पेट पाल्नै पर्छ  । 

अनि त्यसो हुँदा मुलुकका अग्रज नेतालाई कति हाईसञ्चो, मुलुकभित्र न विवाद, न विरोध । न त सडकको फलामे बार भाँच्नेहरूको संख्या मुलुकमा रहेबचेको छ । आन्दोलन गर्नेहरूको मुलुकमा अकाल भएपछि सदाबहार नेतृत्व पंक्तिमा अटल भएर कायम रहन पाइयो । 

नेपालमा आज त्यही भइरहेको छ । नेपालीले स्नातकोत्तर डिग्री पाए पनि विदेशमा जहाँ गए पनि प्रारम्भमा जुठोचुलो र भान्सा पुच्छने कामसम्म गर्ने नै हो ।

हिजो बेलायती सेनामा राणाहरूले रोयल्टीको पोको बुझेर १५ वर्षसम्मका नाबालकलाई पनि विदेशी रणभूमिमा युद्धमा होमेकै थिए । त्यो रोयल्टी बुझ्ने कार्य भनिन्छ । पंचायतकालसम्ममा पनि जारी थियो ।

आज पनि हिजोजस्तै जुँगाको रेखीसम्म नबस्दै बालकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेका छन् । हिजो रोयल्टी बुझ्ने एक परिवार थियो तर आज गणतन्त्रमा धेरै घराना छन् ।

नेपालीले रोजगारी पाउने ठाउँ भनेको हाललाई युक्रेन र रुसको युद्ध मैदान खुला छन् । त्यहाँ जाने र युद्धमा घाइते हुने कसैकसैले त भनेका पनि छन् - ‘मरेरै भए पनि जन्म दिने आमाको गर्जो टारेर आमालाई खुसी पार्न सक्छु कि भनेर जानीजानी होमिन आएको हुँ ।’

वैदेशिक रोजगारीको पीडाबाट अत्यन्त प्रभावित रहेछ दाङ । सालना ११ देखि १५ जना स्थानीय युवा अकालमा मरेका छन्, वैदेशिक रोजगारीका निम्ति जाने दाङवासी । यस वर्ष २०८० सालमा मात्र पनि हालसम्म ज्यान जानेको संख्या ५ जना पुगिसकेको छ । 

पुस १ गतेको साँझमा तुलसीपुर उपमहानगरपालिकाका मेयरले तिनै वैदेशिक रोजगारमा गई मर्ने मृत आत्माको नाममा दीप प्रज्वलन गर्दा हामी पनि सरिक भएका थियौँ । 

दाङबाट चोर बाटो भएर अमेरिका पुग्नेहरुको संख्या पनि प्रशस्त रहेछ । तिनले अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरू पार गर्दै दलालमार्फत कुबाटो भएर जाँदा लाखौँ लाख रुपैयाँ र बाटामा जाँदा जाँदै ज्यान गुमाएको उदाहरण पनि प्रशस्त छन् । 

तापनि तिनको त्यहाँ जाने सपना निरन्तर छ । बरु दाजु त्यसरी अकालमा मरे, भाइ जान तत्पर छ । पत्रकार विमल आचार्यले भनेअनुसार यस भेगका कतिपय गाउँघरमा बिमारी अस्पताल पुर् याउने युवाको अभाव छ । त्यस्तै मरेकाको सदगत गर्ने मलामी गाउँमा छैनन् । 

जम्मै गाउँ वृद्ध नै वृद्धमय बनेको छ । त्यसमाथि तुलसीपुरको आसपास ग्रामीण क्षेत्रमा खाली चौरबीच एकसेएक सुन्दर तिन तले पक्की घरहरू निर्माण गर्ने होडबाजी नै चलेको देखियो । सयौँ त्यस्ता घर छन् न त व्यवसायमा लगाएर आम्दानी गर्न सकिने न त वृद्ध मातापिताले स्याहार्न सक्ने । त्यसको कुनै लाभ नै छैन । ती सबै अमेरिका पुगेर कष्ट गर्नेहरूका घर हुन् जो विदेशिएर कमाएको ठाटबाट देखाउन चाहन्छन् ।

जे होस् दाङको तुलसीपुर उपनगरपालिकाले एउटा प्रशंसनीय काम गरेको रहेछ । आसपासका विपन्न परिवारका सन्तानलाई कलेज खोलेर शिक्षा दिने जमर्को गरेको रहेछ । यसरी कलेज खोल्ने सोच जसजसले बनाए सञचालन गरे, ती धन्यवादका पात्र हुन् ।

अब त्यहाँ एउटा साधारण मेट्रो होटलको पनि आवश्यकता छ जहाँ निम्न वर्गले काम परेर आउन पर्दा आफ्नो औकात अनुसार बास पाउन् । प्रत्येक नगरपालिकाले निम्न र मध्यम वर्गको सेवाको निम्ति यी कार्यको अनुकरण गर्न आवश्यक छ ।
(पूर्व प्रधानन्यायाधीश)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro