काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्न नसकेको बताएका छन् । भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाको भनाइ छ ।
'सन्त नेता'को छवि बनाएका भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईंको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।
“उहाँको विषयमा खोजीनीती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,” उनले भने ।
फरक प्रसंगमा उनले भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने बताए । भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए ।
'आर्दशको राजनीति, विधिको शासन र किसुनजी'को योगदान विषयक अन्तर्क्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको समेत बताए ।
“अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ । कमजोर बनाउने कुरा भएको छ । हामी सबै एक भएर लाग्नुपर्छ,” उनले भने, “इतिहास फर्कने कुरा छैन । गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ । यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ ।”
सभापति देउवाले भट्टराईको बारेमा जति बाले पनि कम हुने धारणा राखे । २०४७ को संविधान बनाएर राजतन्त्रसहितको प्रजातन्त्र स्थापना गर्दै नेपाली जनतालाई सर्वसत्ता सम्पन्न बनाउन भट्टराईं सफल भएको भनाइ देउवाको थियो । साथै उनले भट्टराई सच्चा 'त्यागी नेता' भएको र कुनै दाग लाग्न नसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे ।