
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा १–० को अग्रता जोगाउन नसक्दा लिग लिडर आर्सनलले लिभरपुलसँग अंक बाँडेको छ । खेलको सुरुआती पाँच मिनेटमै अग्रता बनाए पनि जोगाउन नसक्दा आर्सनल घरेलु टिम लिभरपुलसँग १–१ को बराबरीमा रोकिएको हो ।
शनिबार राति एनफिल्डमा सम्पन्न खेलको चौथो मिनेटमै आर्सनलले अग्रता बनाएको थियो । आर्सनलका मार्टिन ओडिगार्डको पासमा गाब्रियलले सानदार हेडर गोल गरेका थिए ।
तर, २९औँ मिनेटमा मोहम्मद सालाहले गोल गरेपछि घरेलु टिम खेलमा फर्किएको हो । यसपछि थप गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे ।
शनिबार राति नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट हमसँग २–० ले पराजित भयो । टोटनहमले एभर्टनलाई २–१ ले हराउँदा लुटन टावनसँग न्युक्यासल १–० ले पराजित भयो ।
१८ खेलबाट ४० अंकसहित आर्सनल शीर्ष स्थानमा छ । १८ खेलबाट समान ३९ अंक जोडेका लिभरपुल दोस्रो र एस्टन भिल्ला तेस्रो स्थानमा छ । ३६ अंकको टोटनहम शीर्ष चारमा उक्लिएको छ । १७ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ३४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।