site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सुस्ताए बुढा ‘बाघ’, किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुनै समयका ‘बाघ’ अभिनेता, अभिनेत्री, निर्देशक र निर्माता अहिले के गर्दै छन् ? नेपाली सिनेमा उद्योगमा एकलौटी राज गरेका सिनेकर्मी अहिले कता गए ? 

जस्तै, को–को ? 

राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, रमेश उप्रेती, दिलीप रायमाझी, करिष्मा मानन्धर, धीरेन शाक्य, छवि ओझा, तुलसी घिमिरे आदि । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै समय थियो, राजेश हमालको टाउको पोस्टरमा राख्न मात्र भए पनि केमियो रोल नै किन नहोस्, उनलाई सिनेमामा खेलाइन्थ्यो । तर, दशक हुन लाग्यो दर्शकले उनलाई सेतो पर्दामा नदेखेको ।

भुवन केसी कुनै समय चकलेटी हिरोका रूपमा आफूलाई सुपरस्टारको ट्याग दिन सफल भए । लामो समय आफ्नो जबरजस्त उपस्थिति कायम गरे । तर, आज अभिनयमा उनी कता हराए ?

Global Ime bank

कुनै समय शिव श्रेष्ठ, निखिल उप्रेती र विराज भट्टको एक्सन हेर्न मात्र दर्शक हलसम्म पुग्थे । त्यसैले उनीहरू तीन सिफ्टमा काम गर्थे । तर, उनीहरू अहिले किन छायामा परे ? 

आफ्नो समयमा रमेश उप्रेती, धीरेन शाक्य, दिलीप रायमाझी पनि मेकर र दर्शकको पहिलो रोजाइमा थिए । तर, उनीहरूको माग अहिले किन घट्यो अथवा छैन ?

करिष्मा मानन्धर जसले टिनेजर लाग्दै नेपाली रजतपटमा प्रवेश गरेर लामो समय समग्र यो इन्डस्ट्रीलाई ‘एकलौटी’ बनाइन् । तर, आज उनको माग छैन अथवा उनी स्वयं टाढिन चाहिन् ?

तुलसी घिमिरे जसले अभिनयदेखि निर्देशनसम्म नेपाली सिनेमा उद्योगको स्पातका रूपमा आफूलाई दशकौँ टिकाए र दर्जनौँ ‘हिट’ सिनेमा दिए । आज किन हराए ?

कुनै समय वितरकदेखि निर्मातासम्म नेपाली सिनेमामा दर्बिलो नाम बनाएका छविराज ओझाले पनि सिनेमा नबनाएको थुप्रै भइसक्यो । तर, आज उनी पनि सुस्ताए, कारण के हो ?

निखिल उप्रेती स्पष्टै भन्छन्, “पहिलो कुरा, मैले सोचेजस्तो सिनेमा नपाएको पनि हो । दोस्रो कुरा, जुन खालको सिनेमामा अफर आउँछ, त्यस्तो सिनेमा मैले गर्न नचाहेको पनि हो ।” 

निखिल नेपाली चलचित्र उद्योग अझै परिपक्व नभएको बताउँछन् । “मैले दोष दिन खोजेको होइन । तर, हामीले चलचित्र क्षेत्रलाई उद्योग भने पनि वास्तवमा यो उद्योग भइसकेको छैन । चलचित्र उद्योग परिपक्व हुनै बाँकी छ,” निखिल भन्छन्, “जसरी चलचित्र उद्योग परिपक्व हुँदै जानुपर्ने हो, त्यो भएको छैन । आदर्शमा हामी बढी रुमलिएका छौँ ।”

चलचित्र क्षेत्र उद्योग नभइसकेका कारण समकालीन निर्माताले सिनेमा नबनाउँदा पनि आफ्नो समयमा कलाकार अहिले सक्रिय नभएको उनको तर्क छ ।

नेपालमा बक्सअफिस लागु गरिएको भनिए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । “बक्सअफिसको नाममा खराब र फटाहाहरूकै हातमा तालाचाबी जिम्मा लगाउने काम भएको छ । त्यसैले लगानी डुबाउन कसैले पनि लगानी गर्दैन,” उनी भन्छन् ।

अहिले विदेशमा रहेका नेपालीसँगको सम्पर्क र सम्बन्धका कारण पैसा उठाएर चलचित्र बनिरहेको निखिल बताउँछन् । 

जेनेरेसन ग्याप पनि समकालीन सिनेकर्मी सक्रिय नहुनुको अर्को कारण भएको निखिलको जिकिर छ । “अहिले सिनेमा स्कुल पढेका व्यक्ति अभिनय र निर्देशनमा आइरहेका छन् । अनुभवको मूल्यांकन भइरहेको छैन । सिनेमा पढ्नेबित्तिकै निर्देशन र अभिनयमा आउने चलन छ । कला भन्ने चिज पढेर मात्रै हुँदैन, असिस्ट गरेर र सिकेर आउने हो,” निखिल अगाडि थप्छन्, “जसले मार्केटिङ गर्न सक्छ, जसले लगानी जुटाउन सक्छ उही अगाडि निर्देशक र कलाकार भइरहेको छ ।”

पुरानो अनुभव र नयाँ पुस्ताको ज्ञान र जोसलाई मिलाएर अगाडि बढ्न सक्नुपर्नेमा त्यसो हुन नसकेको निखिलको बुझाइ छ ।

“केही निर्देशक मसँग इन्टरनेसनल फेस्टिभलका लागि काम गरौँ भनेर आउनुभएको पनि हो । तर, फेस्टिभलका नाममा बनाइने रियालिस्टिक चलचित्र, झन् धेरै आर्टिफिसियल चलचित्र बनाउने काम भइरहेको छ,” उनी भन्छन्, “मैले भनेँ– म त खेलौँला रे, तर प्रोडुसरको लगानी कसरी उठ्छ भन्दा उहाँहरू जवाफ दिन सक्नु हुन्न । त्यसैले म लगानीकर्तालाई डुबाएर चलचित्र गर्दिनँ भनेँ ।”

निर्देशक ज्ञानेन्द्र देउजा अग्रज कलाकार, निर्देशक र निर्माताले निरन्तरता पाउन नसक्नुमा व्यक्ति स्वयं र बजार दुवै कारक भएको बताउँछन् ।

“समय सधैँ गतिशील छ । त्यसैले सधैँ एउटै मानिस चल्दैन । समय र प्रविधिअनुसार कलाकार, निर्देशक र निर्माता पनि चल्नुपर्छ,” निर्देशक देउजा भन्छन्, “समयानुसार नचल्ने व्यक्ति विस्तारै आफैँ आउटडेटेड पनि हुँदै जान्छन् ।”

दर्शकले परिवर्तित समयानुसार कलाकार र समय हेर्ने तथ्यलाई पनि स्वीकार गर्न सक्नुपर्नेमा उनको जोड छ । “पब्लिकले पनि नयाँ–नयाँ कुरा खोज्दै जान्छ, सधैँ एउटै टेस्ट दर्शकको हुँदैन,” उनी भन्छन्, “त्यसैले जसले आफूलाई अपडेट गर्न सक्यो उसले निरन्तरता पाउँछ, अपडेट नगर्ने छोडिन्छ ।”

यो उद्योगमा लामो समय काम गरेका कलाकार र निर्देशकले पर्याप्त आर्थिक उपार्जन गर्न नसक्नु अग्रज चलचित्रकर्मीले निरन्तरता दिन नसक्नुको अर्को कारण भएको निर्देशक देउजा बताउँछन् । “बजारमा ठूलो नाम भएर लामो समय काम गरेका चलचित्रकर्मीले पनि राम्रो पैसा नकमाएको पक्कै सत्य हो । नेपाली कलाकारले राम्रो पैसा कमाएको भन्दा पनि सर्भाइभ मात्रै गरेका हुन्,” उनी भन्छन्, “त्यसैले कति कलाकार तथा निर्देशक बुढेसकालमा अमेरिका, अस्ट्रेलिया जानुपरेको हो । त्यसैले आर्थिक सुरक्षाका लागि पनि कति चलचित्रकर्मी अरू पेसामा लागे ।”

राजेश हमाललगायत केही सम्भावना भएका कलाकारलाई निर्देशकले उनीहरूको छविअनुसार स्थापित हुने गरी अभिनय गराउन नसकेको पनि निर्देशक देउजा स्वीकार गर्छन् ।

चलचित्र निर्माता तथा वितरक छविराज ओझा पछिल्लो पुस्ता आफ्नै तरिकाले अगाडि बढ्दा अग्रज कलाकार सक्रिय हुन नसकेको टिप्पणी गर्छन् । “पछिल्लो समय सिनेमाको मेकिङ नै फरक भयो । थिएटरबाट आएका कलाकार अगाडि आए । क्यारेक्टर आर्टिस्ट अगाडि बढे,” छविराज भन्छन्, “अहिले हिरोहरू पछि परिरहेको समय छ । हिरोहरू कि क्यारेक्टर आर्टिस्टका रूपमा अगाडि आउनुप¥यो, तर उहाँहरूले त्यो नगर्दा हामी हाम्रो समयमा जसलाई हिरो भन्थ्यौँ, उहाँहरू पछि परेको समय छ ।”

क्यारेक्टर आर्टिस्टका रूपमा अभिनय गर्ने दयाहाङ राई, विपीन कार्कीलगायत कलाकारले नै अहिले हिरोका रूपमा काम गरिरहेको छविराज बताउँछन् । “हिरोहरूले क्यारेक्टर आर्टिस्टका काम गर्दा त्यो पनि चलेको मैले देखेको छैन,” उनी भन्छन्, “भारतमा अहिले पनि हिरोहरूकै सिनेमा चलिरहेका छन् । शाहरुख खान, अक्षय, सलमान, अजय देवगन नै हिरो भएका सिनेमा चलिरहेका छन् । नेपालमा पनि अब हिरो भएका सिनेमा चल्छन् भन्ने लाग्छ ।”

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको सिनेमा गत वर्ष राम्रो चलेको भन्दै उज्ज्वल घिमिरे, अशोक शर्माले पनि सिनेमा बनाउने तयारी गरिरहेको उनी सुनाउँछन् ।

भुवन केसी स्वयं अभिनयमा सक्रिय छैनन् । उनी मेकिङबाट भने ओझेलमा परेका छैनन् । सिनेमा उद्योगको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको नेतृत्व गरिरहेकाले भुवन भूमिका फरक भए पनि यही क्षेत्रमा सक्रिय छन् ।

“सम्भवतः अब हाम्रा समकालीन साथीहरू पनि नयाँ समय र प्रविधिसँगै नयाँपन लिएर आउनुपर्छ र आउनुहुन्छ भन्ने लाग्छ, त्यो तयारी र प्रयास पनि देखिन थालेको छ,” छविराज भन्छन्, “नारायण रायमाझी आउनुभयो, उहाँको सिनेमा पनि चल्यो । हाम्रा समकालीन साथीहरूलाई कसरी इन्ट्री गर्ने र कसरी काम गर्ने भन्ने लामो अनुभव छँदै छ । अलिकति समीक्षा गरे मात्रै पुग्छ ।”

अग्रज कलाकार पछिल्लो समय सिनेमामा नदेखिनुको अर्को कारण हिरोइजम भएका चलचित्र नबनाइनु भएको निर्माता छविराजको तर्क छ । उनी भन्छन्, “जसले दशौँ वर्ष हिरो भएर काम गरे उनीहरूलाई अहिले क्यारेक्टर आर्टिस्टमा खेलाउन खोज्छन् । तर, उहाँहरू आफूहरूलाई हिरोइजम भएको सिनेमा नै चाहिन्छ भन्नुहुन्छ ।”

पछिल्लो समय नेपालमा सिनेमा ‘गाउँ फर्किएको’ उनको टिप्पणी छ । गाउँ फर्किएका सिनेमा नै चलेको उनको अनुभव छ ।

यद्यपि, केही दिनअघि एउटै चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्ध भएको खबरले पुनः नेपालमा हिरोइजमको सिनेमा फर्कन सुरु भएको अनुभूत आफूले गरेको छविराज बताउँछन् । “सिनेमा भनेको लार्जर देन लाइफ हुनैपर्छ । हिरोइन भने ग्ल्यामरस हुनैपर्छ भन्ने हो,” उनी भन्छन्, “यस्ता सिनेमा बन्न थालेपछि पुनः हाम्रा समकालीन साथीहरू काममा फर्किनुहुन्छ ।”

लार्जर देन लाइफ नभएर रियालिस्टिक सिनेमा बनाउन थालेपछि हिरोइजम क्यारेक्टरमा अभिनय गर्ने हिरोहिरोइन छायामा परेका छन् । सोही कारण राजेश हमाल, धीरेन शाक्य चलचित्रभन्दा म्युजिक भिडियोमा देखिन थाले । दिलीप रायमाझी विभिन्न डान्स रियालिटी शोजको जजमा व्यस्त छन् ।

निखिल उप्रेतीले नयाँ चलचित्रको घोषणा गरेका छन् । विराज भट्टले कमब्याकको प्रयास ‘साङ्लो’मार्फत गरे । उनले अर्को चलचित्र पनि घोषणा गरिसकेका छन् । रमेश उप्रेती, शिव श्रेष्ठलगायत अभिनेताले कमब्याकको प्रयास गरिसकेका छन् । तर, उनीहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेका छैनन् ।

करिष्मा मानन्धरले पनि सिनेमा बनाउने भनेको थुप्रै भइसक्यो । तर, त्यसले मूर्तरूप लिन सकेको छैन । सरोज खनाल भने अभिनयमा सक्रिय नै छन् । उनले गएको वर्ष निर्देशन गरेको चलचित्र ‘बगान’ले बक्सअफिसमा राम्रो कलेक्सन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC