site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारसँग सय बढी परिवारको आग्रह– रुस पुगेका छोरा छिटो फर्काइदेऊ 

काठमाडौं । रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काइदिन अनुरोध गर्दै परराष्ट्र मन्त्रालय धाउनेको संख्या दिनदिनै बढ्न थालेको छ । रुसी सेनामा भर्ती भएकाका आफन्तले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पुगी उनीहरुलाई उद्धार गरी ल्याइदिन अनुरोध गरेका हुन् ।

कन्सुलर सेवा विभागका एक अधिकारीले बाह्रखरीसँग भने, “करिव डेढ महिनामा ‘रुसी सेनामा भर्ती भएका आफन्तको ज्यान जोखिममा परेकोले उनीहरुलाई उद्धार गरी ल्याइदिनु पर्यो’ भन्न आउने संख्या एक सय नाघेको छ ।” 

रुसी सेना भर्ती भएकाहरुले आफ्नो ज्यान जोखिममा रहेको र कुनैबेला मारिन सकिने भन्दै सन्देश पठाएपछि नेपालमा रहेका आफन्तहरु कन्सुलर सेवा विभाग पुगेका हुन् । यसरी विभागमा जानेमा रुसी सेनामा भर्ती भई लामो समयसम्म सम्पर्क नआएका परिवार पनि छन् । 

यसरी कन्सुलर सेवा विभाग पुग्नेहरुको अनुरोध एउटै छ, “उनीहरुको ज्यान खतरामा छ, छिटो फर्काइदिनु पर्यो ।”

मंसिर मसान्तसम्म यस्तो अनुरोध गर्नेको संख्या मात्र ३० थियो । पछिल्लो पाँच दिनमा यो संख्या एक सय नाघेको छ । रुसी सेनामा भर्ती भएका नेपालीको संख्याबारे नेपाल सरकार बेखबर छ । पछिल्ला केही सातायता रुसले आफ्नो सेनामा भर्ती भएका कम्तीमा ८ जना नेपालीको मृत्यु भएको जानकारी नेपाललाई दिएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागललगायत छन् ।

युद्धका क्रममा रुसी सेनामा भर्ती भएका चार जना नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ । युक्रेनले युद्धबन्दी बनाएका चार जना नेपालीमा बर्दिया राजपुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर–६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ–२ का विकास राई र रोल्पा रुन्तिगढी–८ का प्रतिक पुन छन् ।

नेपालले रुसलाई नेपाली युवा भर्ती गर्न अनुमति दिएको छैन । न त नेपाल र रुसबीच नै त्यस्तो कुनै सहमति भएको छ । तर, पछिल्ला घटनाक्रमले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ ।

उद्धारका लागि पहिल गरिदिन भन्दै ठूलो संख्यामा आफन्तहरु विभागमा आएपछि परराष्ट्र मन्त्रालयले काठमााडौंस्थित रुसी दूतावास, रुसको मस्कोस्थित नेपाली दूतावास, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास र जर्मनको वर्लिनस्थित नेपाली दूतावासमार्फत रुस र युक्रेनमा रहेका नेपालीको उद्धार गर्ने प्रयास गरिरहेको छ । तर सफलता भने हात परेको छैन । 

नेपालले रुससँग जनायो कडा असन्तुष्टि

रुसले अवैध तरिकाले नेपालीलाई आफ्नो सेनामा भर्ती गरेको भन्ने भनाई नेपाल सरकारको छ । नेपालले यसप्रति रुससँग कडा शब्दमा असन्तुष्टि समेत जनाएको छ । परराष्ट्र मन्त्रालयले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाएर खुलेर असन्तुष्टि जनाएको हो ।

परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको नेपालले रुसलाई बताएको छ ।

नेपालले गत साउन १६ गते र मंसिर १८ गते जारी गरेको विज्ञप्तिमा पनि रुसप्रति इङ्गित गर्र्दै युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजान नेपालीलाई सतर्क गराएको थियो । परराष्ट्र मन्त्रालयले यसै साता रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर तीन वटा अनुरोध गरेको छ ।

पहिलो, रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ । दोस्रो, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन अनुरोध गरिएको छ ।

तेस्रो, रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाबारे रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्षष्ट अडान राखिएको छ ।

रुस जानेमाथि कडाई 

रुसले अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले रुस जाने नेपालीमाथि कडाई गर्न थालेको छ ।

सरकारले यसअघि सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्र्तगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
 
सरकारले मंगलबारबाट यो व्यवस्था अझ बिस्तार गरेको छ । अबदेखि भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा ती देशमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ ।

धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रुस गएको भेटिएपछि सरकारले कडाइ गरेको हो ।

युक्रेनबाट नेपाली पर्काउने प्रयास

सरकारले रुसी सेनामा कार्यरत हुँदा युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार जना नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल सुरु गरेको छ । युक्रेनी सेनाले युद्धबन्दी बनाएका चार नेपालीहरुको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनीहरुको रिहाइ र नेपाल फिर्तीका लागि इन्टरनेसनल कमिटि अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको परराष्ट्रले बताएको छ ।
  
पछिल्लो ८ महिनामा पौने ६ सय नेपाली रुस गए

पछिल्लो ८ महिनाको अवधिमा श्रम स्वीकृति लिएर ५७३ जना नेपाली रुस गएका छन् । २०८० वैशाख १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा उनीहरु वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई रुस गएका हुन् ।

यसरी जानेहरुमध्ये ठूलो संख्या रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार, वैशाखमा १७, जेठमा १७९, असारमा ३३, साउन ५३, भदौमा १६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ जना नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा ३७० जनापुरुष र १६ जना महिना गरी ३८६ जना नेपाली श्रम स्वीकृति लिई रुस गएका थिए । अघिल्लो वर्ष श्रम स्वीकृति लिएर जति नेपाली रुस गएका थिए चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा त्योभन्दा बढी संख्यामा रुस पुगेका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८२ जना नेपालीले रुस जान श्रम स्वीकृति लिएका थिए । त्यही वर्ष १५६ जना नेपालीले युक्रेन जान श्रम स्वीकृति लिएका थिए । 

सन् २०२२ फेब्रुअरी २४ बाट रुस र युक्रेनबीच युद्ध सुरु भएको थियो । त्यसपछि युद्ध रोकिएको छैन । यसैबीचमा रुसले युक्रेनसँग लड्न नेपाल सरकारसँग कुनै जानकारी र सहमति नलिई नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न थालेको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro