site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संकल्प यात्रामा एमाले नेताहरूले बुझेको मध्यपहाडका समस्या 

काठमाडौं । प्रमुख विपक्षी एमाले मध्यपहाडी लोकमार्गकेन्द्रित १८ दिने यात्राबारे समीक्षा गर्न व्यस्त छ ।  यात्राका क्रममा जिल्ला–जिल्लामा देखिएका समस्या यकीन गरी समाधानको बाटो पहिल्याइने उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन् ।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा गरेको थियो । ‘समृद्धिका लागि संकल्प’ यात्राको नारा दिएर अभियान सञ्चालन गरेको थियो । यात्राका क्रममा जनताका समस्या, गुनासा सुन्ने काम भएको नेताहरू बताउँछन् ।

एमालेले यात्राबारे समीक्षासहितको जानकारी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ । 

उक्त यात्राका क्रमममा मध्यपहाडमा कस्ता समस्या देखिए त ? यसै सन्दर्भमा बाह्रखरीले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, दुई उपाध्यक्षहरूले देखेका समस्या र समाधानका उपाय उनीहरुकै शब्दमा ।

अष्टलक्ष्मी शाक्य 

astalaxmi1678536015.jpg

पहाडी जिल्लाले अत्यधिक सम्भावना बोकेका छन् । कृषि, सांस्कृतिक, सामाजिक विविधता हेर्न लायक छ । त्यसले नेपाललाई शृङ्गारेको छ । पहाड, डाँडा–काँडामा सम्पत्ति नै सम्पत्ति छ, भन्छन् विज्ञहरूले । 

यात्राका क्रममा मैले ठाउँ ठाउँमा फलफूलको राम्रो खेती देखेँ ।  

तर, बजार छैन । जडिबुटी छन्, त्यसको उपयोग हुन सकेको छैन । बाख्रापालन, भेडापालनको सम्भावना बोकेको ठाउँ पनि हो, त्यो क्षेत्र ।

उत्पादन छ, वस्तु जहाँको तहीँ छ । जनताले कति फाल्नु ? बिक्री हुँदैन । बिक्री–वितरण व्यवस्थापन गर्ने र बाटोघाटो राम्रो बनाउन सकियो भने निकै सहज हुने देखिन्छ । र, त्यहाँका वासिन्दाका भनाइ पनि त्यही छ । 

उत्पादित बस्तुले मूल्य पाएका छैनन् । नेपाली उत्पादनले स्वदेशमा मात्रै होइन विदेशमा पनि बजार पाउनुपर्ने हो, तर ओझेलमा परेको छ । व्यवस्थित भण्डारणको अभाव छ । 

हामी फर्केर इलाममा पुग्दा देख्यौैं, ताजा घिऊ । हामीले चाख्यौं पनि । तर, त्यसले उचित बजार नपाएको गुनासो सुन्यौं ।  

युवा नै खोज्नुपर्ने !

गाउँ–घरमा युवाहरु छैनन् । उनीहरु त खोज्नुपर्छ । बुढापाका, महिला र केटीकेटी छन् । युवा शक्ति शहर वा देशबाहिर पलायन भएका छन् । यसलाई जोगाउन सक्नुपर्छ । 

त्यसका लागि प्रष्ट नीति चाहिन्छ । स्थानीय तहका नेतामा प्रष्ट भिजन चाहियो नि । आफ्नो वडा, पालिकालाई कसरी समृद्ध बनाउने भन्ने भिजनको अभाव छ । त्यहाँका सम्भावनाका ढोका खोल्नुपर्छ । प्रस्ट नीतिका साथ योजनाबद्ध ढंगले अघि बढ्दा वडाबाट नै समृद्धिको ढोका खोल्न सकिन्छ ।
 
त्यसका लागि चुनौती पनि छ । सरकारको दृष्टिकोण प्रस्ट छैन । कसरी जनतालाई समृद्ध बनाउने भन्ने खाका सरकारसँग छैन । समृद्धिको खाका कोर्न अध्ययन, अनुसन्धान गर्नुपर्छ । विज्ञहरुसँग अन्तरक्रिया जरुरी छ, विज्ञहरुलाई परिचालन गर्नुपर्छ । 

बाँदर आतंक 

यात्राका क्रममा बाँदरले दुःख दिन थालेको गुनासो सुनियो । किनभने मानिस विस्थापित हुन थाले । बस्ती पातलो हुँदै गइरहेको छ ।

खाने कुराको अभाव भएपछि शहर नै पस्न थाल्यो । उसका लागि पनि खानेकुरा चाहियो ।

मान्छे र पशुपंक्षीलाई जोड्न सकियो भने अर्को सुन्दरता हुन्छ । त्यहाँ रुखो त हुँदैन नि । चराचुरुङ्गी, बाँदर पशुपंक्षी सबै भयो भने बस्नेहरुलाई रमाइलो नै हुन्छ नि । त्यतातिर ध्यान दिनुपर्छ । 

घर–घरमा धारा पुर्याउनुपर्छ 

पानीको श्रोत छ । झरना, खोल्साखोल्सी बगेका छन् । त्यसको संरक्षण भएको छैन । ढुंगेधारा देखिँदैनन् । घर–घरमा धारा पुर्याउनुपर्ने देखिन्छ । धारा घर–घरमा पुग्नु पनि त समृद्धिको एउटा पाटो हो । त्यसबाट धोरै भए पनि बिजुली निकाल्न सकिन्थ्यो । 

अपार माया 

अर्को पाटो, जनताको माया । माया अपार छ । यात्राका क्रममा त्यति ठूलो संख्यामा थियौं । स्कुस, सखरखण्डा उसिनेर खुवाउनुभयो । मकै भुटेर पनि दिनुभयो । त्यो माया सामान्य होइन । हामीले चोखो माया पनि पायौं ।

नेपाल गरिब छैन । प्रकृतिले धनी बनाएको छ । हाम्रा सिप, नीति योजना, ध्यान प्रष्ट नहुँदा बरदानको उपभोग गर्न सकेका छैनौं ।

अलिक ढिला गर्यौँ 

हामीले अलिक ढिलो गर्यौं । गणतन्त्र आउने बित्तिकै त भन्दिनँ, तर स्थानीय तहलाई अघि बढाउने क्रममा हामीले सँगसँगै यसबारे सोच्नुपथ्र्यो । राजनीतिक दलहरुबीच एकता पनि चाहिन्छ । जताततै खुट्टा तानातान हुँदा त कसरी गर्न सकिन्छ र ?

सरकारमा बस्ने नेतृत्वले ‘खुसी नेपाली, समृद्ध नेपाल’को बाटोमा जानुपर्छ । पहाडी जिल्लाको समृद्धिमा ध्यान दिनुपर्छ । पूर्वाञ्चलको पहिलेदेखिकै पहिचान हो, चिटिक्क घर बनाउने । आन्तरिक पर्यटन र विदेशी पर्यटकलाई आकर्षित गर्नतिर लाग्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, बिजुली, शान्ति सुरक्षालाई शहरबाट गाउँमा विकास गर्न सक्नुपर्छ । बिस्तारै बस्ती बाक्लो हुँदै जान्छ ।

स्थानीय सरकार यसमा केन्द्रित हुनुपर्छ । संघीय सरकराले प्रष्ट नीति योजना र बजेटको व्यवस्था गर्नुपर्छ । 

युवराज ज्ञवाली 

youbraj1669798784.jpg

यो यात्रमा कार्यकर्ताहरु ठूलो संख्यामा परिचालित भए । मध्यपहाडी लोकमार्गको ज्यादै ठूलो महत्व रहेछ भन्ने कुरा यात्रापछि थाहा भयो । सुन्दर, उब्जाउ, लोभलाग्दा ठाउँ छन् । तर, बस्ती पातलिँदै गएको छ । बसाईं सराई गर्ने, विदेश पलायन हुने अवस्था बढ्दो छ ।

त्यहाँ उत्पादित बस्तु बजारमा पुग्न नसक्ने अवस्था छ । सुन्तला, स्याउ, आलु, बदाम, तरकारी लगायतका उत्पादन भएका छन् । केही ठाउँले त बजार पाएका छन् तर अधिकांश बजारबिहीन छन् । 

त्यो राजमार्गलाई कमसेकम पनि तत्कालका लागि दुई लेनको पक्की बनाउनुपर्छ । भविष्यमा चार लेनको बाटो बनाउँदा राजमार्गले त्यहाँका जनतालाई त्यही बस्ने वातावरण बनाउन मद्दत गर्छ । त्यहाँका उत्पादन बिक्री हुन सक्ने, त्यहाँ नभएका अत्यावश्यक कुरा बाहिरबाट ल्याउन पनि सकिन्छ । राजमार्ग निर्माण व्यवस्थित रुपमा सक्न सरकारको पहिलो ध्यान जानुपर्ने देखिन्छ ।

कतिपय ठाउँमा कच्ची सडक बनेका छन् । कतिपय ठाउँमा अफ्ठ्यारा छन् । जे भए पनि एउटा अवधारणा बनिसकेको छ । एमालेकै सरकार र अरु सरकारका पालामा पनि निर्णय भएका छन् । तर, त्यो अपुरो छ ।

यो राजमार्ग सम्पन्न हुँदा कृषिलाई प्रोत्साहित गर्छ । रोजगारीको अवस्था सृजना गर्छ । विदेसिने क्रम कमजोर हुँदै जान्छ । 

सरकारप्रति निराशा 

सरकारको प्रभावकारिता राम्रो हुन नसक्दा मान्छेमा निराशा देखिन्छ । ‘अब देशमा के हुन्छ र ?’ विदेश जानुपर्छ भन्ने पनि प्रवृत्ति पनि देखियो । सरकारप्रति जनता सन्तुष्ट छैनन् । सरकारले मध्यपहाडी क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्छ ।

एमालेले पनि प्रतिपक्षमा रहँदा र सत्तापक्षमा रहँदा पनि यसमा जोड दिनुपर्छ । एमालेप्रति जनताको आकर्षण बढेको छ । एमाले सरकारमा रहँदा गरेका कामबाट जनता प्रभावित छन् । 

कैयौ ठाउँमा एमालेको सरकारले बनाएका योजनामा वर्तमान सरकारले कटौती गरेको छ । त्यसले पनि समस्या सिर्जना गरेको छ ।  जनतासित नियमित सम्पर्क बढाउने, सम्बन्ध कायम गर्ने काम गर्न सक्नुपर्छ । पुराना पार्टीहरुप्रति वितृष्णा बढ्यो भन्ने खालको हल्ला पिटाइएको छ । त्यो होइन भन्ने सावित गर्न सकिन्छ ।

यो यात्राले जनतामा उत्साह जगाएको छ । आकर्षण बढाएको छ । र, पुराना पार्टी असान्दर्भिक भएका छैनन् भन्ने देखाएको छ । एमाले नै आवश्यक छ र एमाले चाहिन्छ भन्ने भावना बढाएको छ । राति–राति पनि आससभामा बसिरहने, सभा नसकिँदासम्म नजाने कुराले पनि त्यो पुष्टि गर्छ । 

समस्या समाधान गर्न एमालेको बहुमत सरकार 

यतिखेर एमाले सरकारमा छैन । समस्या हल गर्न बहुमतको सरकार चाहिन्छ । यात्राका क्रममा हामीले प्रत्येक जिल्ला, पालिकाका समस्या लिखित रुपमा लिएका छौं । जिल्लाको नेतृत्वले पार्टीलाई त्यो समस्या बुझाएको छ । 

ती सुझावहरु संकलन गर्छौ, अध्ययन गर्छौं र कहाँकहाँ कुन जिल्लामा के कुराको धेरै आवश्यकता छ भन्ने कुराको अध्ययनबाट एउटा निष्कर्ष निकाल्छौं ।

प्रतिपक्षमा रहँदा सरकारलाई ती काम गर्न दबाब दिन्छौं । चुनावमा एमालेले बहुमत प्राप्त गराउन जनतालाई प्रोत्साहित गर्छौं । आगामी चुनावबाट एमालेको सरकार बनाउने गरी तयारी गर्छौं । जनताका समस्या समाधन गर्न भूमिका खेल्छौं । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro