काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट गर्ने बताएका हुन् ।
“सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो,” उनले भने, “अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।”
सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको उनको भनाइ छ । सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीले बताए ।
सहकारीले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।