site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न– सरकार मन्दीमा छ, पोर्चुगलमा दूतावास किन ? 
फाइल तस्बिर

काठमाडौं । सांसदहरूले पोर्चुगलमा नयाँ दूतावास खोल्नुको औचित्य पुष्टि गर्न परराष्ट्रमन्त्री एनपी साउदसँग माग गरेका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सांसदहरूले देशमा आर्थिक मन्दी चलिरहेका बेला केही दिनअघि सरकारले सत्तारुढ दलका कार्यकर्तालाई राजदूत बनाउन पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि सांसदहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग जवाफ मागेका हुन् । 

“अर्थ मन्त्रालयले बजेट छैन भनेर राज्यको निकाय खारेज गर्ने काम गरेको छ । पछि राजदूतले म बस्ने कहाँ होला, कुर्सी कहाँ छ भन्ने स्थिति आउँछ कि आउँदैन ?,” सांसद् महेश बर्तौलाले प्रश्न गरे । 

Argakhachi Cement Island Ad

अर्का सांसद रमेशजंग रायमाझीले देशमा मन्दी रहेको बेला नयाँ दूतावास खोल्न हतार गर्न नहुने बताए । “सरकार देश मन्दीमा छ भन्छ । हामी दूतावास खोल्दै छौं । बजेटले भार थेग्छ कि थेग्दैन ?,” सांसद रायमाझीले परराष्ट्रमन्त्रीलाई प्रश्न गरे, “भइरहेका दूतावासको व्यवस्थापन गर्न सकिएको छैन, नयाँ खोलेर नेपालीले के पाउँछन् ? अहिले दूतावास खोल्न आवश्यक हो ? राज्यले बेहोर्न सक्छ कि सक्दैन ? अलि दिन पर्खिंदा के हुन्थ्यो ?”
 
सांसद जगप्रसाद शर्माले पनि आर्थिक मन्दीको समयमा सरकारले नयाँ दूतावास खोल्ने निर्णय गर्न नहुने तर्क गरे । उनले भने, “अहिले हामी आर्थिक मन्दीको अवस्थामा छौं । यस्तो बेला नयाँ दूतावास खोल्न कसरी सम्भव भयो ?”  

सांसद ईश्वरी घर्तीले सरकारको ध्यान दूतावासको संख्या बढाउनेतर्फ मात्र केन्द्रित भएको तर व्यवस्थापन गर्नेतर्फ नभएको आरोप लगाइन् । “सरकार सबै नेपाली पुगेको देशमा दूतावास होस् भन्ने चाहन्छ । सरकार दूतावासको संख्या बढाउनेतर्फ देखिन्छ । तर, कसरी राम्रो व्यवस्थापन गर्ने भन्ने देखिँदैन,” घर्तीले भनिन् । उनले नयाँ दूतावास खोल्नभन्दा पनि खाडी राष्ट्रमा रहेका दूतावासमा जनशक्ति थपेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न आग्रह गरिन् । 

सांसद जीवन परियारले कतपय देशमा नेपाली राजदूत बस्न गाह्रो रहेको बताए । उनले परराष्ट्रमन्त्री साउदलाई प्रश्न गरे, “कतिपय देशमा राजदूत बस्न गाह्रो छ । अन्य देशमा नयाँ दूतावास खोल्ने योजना छ कि ? के छ योजना ?”

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्