काठमाडौं । गत सिजन तीनवटा उपाधि विजेता म्यानचेस्टर सिटीले पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । सिटी प्रिमियर लिगमा पनि शीर्ष स्थानको आर्सनलभन्दा ६ अंकले पछि छ ।
बुधबार एस्टोन भिल्लासँग १–० ले पराजित भएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले नै भने, ‘टिम संघर्ष गरिरहेको छ’ । यसअघि सिटीले पछिल्लो पटक सन् २०१७ मा प्रिमियर लिगका लगातार चार खेलमा जित निकाल्न सकेको थिएन । जारी सिजन ग्वार्डिओलाको टिमले प्रिमियर लिगमा चेल्सी, लिभरपुल र टोटनहमसँग अंक बाँड्दा एस्टोन भिल्लासँग पराजित भएको थियो ।
सन् २००९–१० को सिजनयता पहिलो पटक सिटीले सुरुआती १५ खेलमा १७ गोल व्यहोरेको छ । बुधबार भिल्लाविरुद्ध सिटीले जम्मा दुई प्रहारमात्र गर्न सक्यो । जुन ग्वार्डिओलाको टिमले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो ५३५ खेलयता गरेको सबैभन्दा कम प्रहार हो ।
खेलको ७४औं मिनेटमा लियोन बाइलीले गरेको गोल भिल्लाको जितमा पर्याप्त बन्यो । जसको अर्थ साविक विजेता चौथो स्थानमा खस्किँदा भिल्ला तेस्रोमा उक्लियो । सिटीअघि भिल्ला, लिभरपुल र आर्सनल छन् ।
ग्वार्डिओलाको असन्तुष्टी
खेलपछि ग्वार्डिओले भनिहाले, टिम संघर्षरत छ । ‘राम्रो टिमले जित्ने’ तर्क गरेका ग्वार्डिओलाले सिटीलाई लयमा फर्काउन आफूले ‘समाधानको उपाय खोज्नुपर्ने’ प्रतिकृया दिए ।
“हामीले संघर्ष गर्यौं । विशेषगरी पहिलो हाफमा र दोस्रो पूर्ण रुपमा फरक थियो । फाइनल थर्डमा, पासको गुणस्तर र चहलपहल हामीले खेलभर नै देख्न पाएनौं । हामीलाई हाम्रो स्तर थाहा छ र एक प्रशिक्षकको रूपमा मैले जितका लागि उपाय खोज्न आवश्यक छ । हामी केही संघर्ष गरिरहेका छौं । म यहाँ उनीहरूलाई सहयोगका लागि आएको हुँ ।”
सिटीले लिगमा तीनवटा खेल हार्दा यी सबै खेलमा मिडफिल्डर रोड्री टिममा थिएनन् । रोड्रीले एक खेल निलम्बनका कारण भिल्लाविरुद्धको खेलपछि गुमाएका थिए । रोड्री टिममा हुँदा सिटीले पछिल्लो ४३ खेलमा अपराजित थियो ।