site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव–झलनाथको उमेर ‘भय’, यस्तो छ महाधिवेशन चार महिना धकेलिनुको अन्तर्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा चार महिनापछि धकेलिएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले महाधिवेशन २०८१ जेठ ३ गतदेखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । मदन भण्डारी–जीवराज आश्रितको स्मृति दिवसको छेकोमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको हो ।

उपमहासचिव तथा पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि महाधिवेशन तोकिएको मितिमा राष्ट्रिय सम्मेलन हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

तर, जाजरकोटमा गएको भूकम्प, राष्ट्रियसभाको निर्वाचन देखाउँदै महाधिवेशन सारेर माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय आजको बैठकले गरेको छ । 

Global Ime bank

खतिवडाका अनुसार विधानका केही व्यवस्था हेरफेर गर्नुपर्ने भएकाले राष्ट्रिय सम्मेलन गर्नुपर्ने भएको हो ।

राष्ट्रिय सम्मेलनको गृहकार्य गर्नका लागि संगठन विभाग प्रमुख तथा उपमहासचिव बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाइएको छ । सम्मेलनको व्यवस्थापनका लागि नेताहरू गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी तोकिएको छ ।

किन धकेलियो महाधिवेशन ?

पार्टी कार्यालयका सचिव जीवनराम श्रेष्ठ जाजरकोट र रुकुममा गएको भूकम्पका कारण महाधिवेशन सारिएको बताउँछन् । 

“राष्ट्रियसभाको चुनावको मिति पनि आइरहेको छ । त्यसो त कर्णालीका साथीहरूबाट अहिलेको अवस्थामा अधिवेशन राख्ने कमिटी बनाउने, प्रतिनिधि पठाउने कुरा गाह्रो हुन्छ भन्ने कुरा भएकाले हामीले महाधिवेशन सार्ने निर्णयमा पुग्यौँ,” श्रेष्ठ भन्छन् ।

एकीकृत समाजवादीको विधानमा महाधिवेशनको एक महिना अघि नै विधान टुंग्याउनुपर्ने बाहना देखाउँदै महाधिवेशनको मिति सारिएको अर्का एक नेताको भनाइ छ ।

“एक महिना अघि नै हामीले विधानको विषय टुंगो लगाउनुपर्ने व्यवस्था छ । महाधिवेशन सार्न एउटा निहुँ चाहिएको नै थियो । भूकम्पका कारण महाधिवेशन सार्ने मनस्थितिमा थियौँ,” एक सचिवालय सदस्य सुनाउँछन्, “एउटा वैधानिक बाध्यताले देखाउँदै निर्धारित मितिमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको हो ।”

राष्ट्रिय सम्मेलनले विशेष गरी पार्टीका कमिटीको संख्या तोक्ने छ । अगामी दिनमा आउन सक्ने वैधानिक जटिलता राष्ट्रिय सम्मेलनले गर्ने तयारी भएको छ । 

“कमिटीहरू भद्दा भएका छन् । काम नै नगर्ने केन्द्रीय सदस्यहरू जोडिएर एकपकट ३७२ सदस्यीय बन्न पुगेको थियो,” ती नेता भन्छन्, “ त्यसलाई निश्चित संख्यामा ढाल्नलाई विधानमा प्रबन्ध हुने छ ।”

पार्टी सचिव श्रेष्ठ पनि कमिटी पनि भद्दा भएकाले गुनासो आएकाले व्यवस्थित बनाइने बताउँछन् । 

“सम्मेलनबाट विधानलाई समयको आवश्यकताका आधारमा संशोधन गरेर पारित गर्छौं,” उनी भन्छन्,“ कमिटी भद्दा हुँदा बैठक बस्नै गाह्रो भयो भन्ने कुरा आएको छ । कमिटीलाई चुस्त बनाउँछौँ,” उनले बाह्रखरीसँग भने ।

पार्टीमा सबैको प्रतिनिधित्व हुने कुरामा जोड दिइने उनको भनाइ छ ।

“पार्टीमा सबैको प्रतिनिधित्व हुनुपर्‍यो युवाहरूको प्रतिनिधित्व हुनुपर्छ । युवा, महिलाको, पछाडि परका समुदायको प्रतिनिधित्वलाई मिलाउने कुरालाई सम्बोधन गर्छौं,” उनी भन्छन् । 

माधव–झलनाथको उमेर बाधक !

०७८ भदौ २ गते एमालेबाट छुटिएर एकीकृत समाजवादी गठन भयो । त्यसको दुई वर्षभित्रै महाधिवेशन गर्ने भनिए पनि लम्बिएको छ । उसले विधानको केही विषयलाई एमालेको निरन्तरता भनेको छ । 

नेकपा (एमाले)ले ७० वर्षे उमेदरहदको वैधानिक व्यवस्था हाललाई निलम्बन गरेको छ । तर, ७० वर्षे उमेरहदको विषय चर्किने आशंका नेताहरूमा देखिएको छ । 

एमालेको २०६५ सालमा बुटवल भएको आठौँ महाधिवेशनबाट मोदनाथ प्रश्रितले उमेर उत्तरार्धमा कार्यकारी पदमा बस्न नहुने भन्दै अवकास लिएका थिए । त्यसैगरी भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भए ।

२०७८ साल असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्षको प्रावधान राख्यो ।

७० वर्ष पुग्नु अघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागु हुने गरी व्याख्या गरी अध्यक्षमा केपी शर्मा ओली दोहोरिए । एमालेको सचिवालय बैठकले उमेरहद निलम्बन गर्दा चर्को आलोचना भयो ।

एकीकृत समाजवादीमा ७० वर्ष पुगेका नेताहरूले पार्टी नेतृत्व गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन खोजेको नेताहरू बताउँछन् ।

पार्टी हाँकिरहेका माधव नेपालको उमेर ७० वर्ष पुग्यो । सम्मानित नेता झलनाथ खनालको उमेर ७३ वर्ष पुगिसकेको छ ।

उमेरहदको विषय उचालिने परिस्थिति निर्माण हुने भयले महाधिवेशन सार्न नेताहरू सहमत भएको चर्चा पदाधिकारीहरूले नै गर्न थालेका छन् । 

“उमेरहदको विषय विधानमा स्पष्ट त छैन । यो विषय बाध्यात्मक पनि होइन । तर, हामीले विधानको कतिपय व्यवस्थलाई एमालेको निरन्तरा भनेका छौँ भरतमोहन, सिद्दिलाल श्रेष्ठले प्रयोग गर्नुभएको थियो । जीवनको उत्तरार्धमा पार्टीको नेतृत्वमा बस्दा स्वास्थ्य र अन्य हिसाबले उपयुक्त हुँदैन भनेका थियौँ । त्यसलाई प्रयोगमा ल्याउने कि भन्ने चर्चाको विषय त छँदै छ,” एक पदाधिकारी बताउँछन् । 

सोही विषयलाई देखाएर माधव झलनाथलाई महाधिवेशनमा 'रिङ आउट' गर्ने प्रयत्न युवा नेताहरूले गरेको आभाश भएको अर्का नेता सुनाउँछन् । 

“माधव र झलनाथलाई हटाएर म नेता हुन्छु भन्नेहरूका लागि यो अवसरको विषय भयो । तर, मदनले आफू महासचिव बनेर मनमोहनलाई अध्यक्ष बनाउनुभएको कुरा बिर्सन हुँदैन,” ती पदाधिकारी बाह्रखरीसँग भन्छन्, “अन्तिम समयसम्म पार्टीमा रहने पदमा रहनुपर्छ भन्ने कुरा त गलत हो । तर, ६० प्रतिशत प्रौढ र ४० प्रतिशत युवा हुँदा पार्टी दरिलो हुन्छ ।”

उनी माधव नेपाल हुँदा पार्टी हाँकिने परिकल्पना समेत गर्न नसकिने बताउँछन् । 

युवाहरूले ७० पुगेका नेताहरूलाई कित्ताबाहिर पार्नका लागि महाधिवेशन सारिएको र अर्को पक्षले तयारी पुगेन भन्ने चर्चा गराउन खोजेको ती नेताको विश्लेषण छ ।

पार्टीका सचिव समेत रहेका कार्यालय सचिव श्रेष्ठ उमेरको विषय राष्ट्रिय सम्मेलनबाट टुंग्याइने बताउँछन् ।

“उमेर राजनीतिक कुरा होइन । मानिस उमेर कम भए पनि अस्वस्थ भयो भने काम गर्न सक्दैन । स्वस्थ भयो र उमेर बढी भए नि काम गर्न सक्छ । त्यसैले युवाहरूको प्रतिनिधित्व, उमेर धेरै भए पनि योगदान दिएका भएका नेताहरू र अरू सबैको प्रतिनिधित्व कसरी गराउने भन्नेमा सम्मेलनबाट निर्णय गर्छौं,” उनले बाह्रखरीसँग भने । 

महाधिवेशन सानुपर्ने अडानमा दुई उपहासचिव !

पार्टीको सचिवालय बैठकमा महाधिवेशन सार्नुपर्नेमा पार्टीका दुईजना उपमहासचिव अडिग थिए । एक नेताका अनुसार उपमहासचिवहरू जगन्नाथ खतिवडा र विजय पौडेल महाधिवेशन परै धकेल्नुपर्ने पक्षमा थिए । त्यसमा महासचिव घनश्याम भुसालसहितका नेताहरूको साथ रहेको आकलन एक नेताको छ । 

“महाधिवेशन सार्नुपर्ने आवाज उहाँहरू दुईजनाको चर्कै देखिन्थ्यो । अन्तर्यमा महासचिव पनि भएजस्तो लाग्छ । युवा नेताहरूले राम्रै होमवर्क गरेको देखियो,” ती नेताले ब्रिफिङ गरे । 

राष्ट्रिय सम्मेलनबाट विधानमा ७० वर्षे विषय नेताहरूलाई सहज हुने गरी राख्ने तयारी भएको छ । प्राविधिक कुरा देखाएर महाधिवेशन सार्नुलाई कतिपय नेताहरूले उपयुक्त देखेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement