site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चार उच्च अदालतमा सुरु भयो श्रव्य–दृश्य माध्यमबाट मुद्दाको सुनुवाइ
फाइल तस्बिर ।

काठमाडौं । चार उच्च अदालतमा श्रव्य–दृश्य माध्यमबाट मुद्दाको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालत र अन्य दुई उच्च अदालतमा यसअघि नै सुरु गरिएको श्रव्यय–दृश्य माध्यमको सुनुवाइ थप चार उच्च अदालतमा विस्तार भएको हो ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलास, दिपायलको महेन्द्रनगर इजलास, विराटनगरको धनकुटा इजलास र पाटनको हेटौँडा इजलासमा बिहीबारदेखि श्रव्य–दृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ सुरु भएको हो ।

Argakhachi Cement Island Ad

सर्वोच्च अदालतमा बिहीबार पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले श्रव्य–दृश्यमार्फत सुनुवाइको शुभारम्भ गरेका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठले सेवा प्रारम्भ गर्दै प्रविधिको प्रयोगमार्फत मुद्दाको सुनुवाइबाट सेवाग्राहीको सहज पहुँच स्थापनाको प्रयास गरिएको बताए ।

“प्रविधिको माध्यमबाट न्यायमा पहुँच पुर्‍याउने कामको सुरुवात गरिरहेका छौँ, नेपालको धरातलीय स्थितिले दुर्गम क्षेत्रका मानिसको न्यायमा पहुँच पुग्न कठिनाइ भइरहेको छ,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “छिटो, छरितो, सरल, शुलभ तरिकाले न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो, आगामी दिनमा सबै उच्च अदालतबाट सेवा गरिने तयारी छ ।”

सर्वोच्च अदालतमा कोभिड महामारीको समयमा श्रव्य–दृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ सुरुवात गरिएको थियो । अहिले कानुन व्यवसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा श्रव्य–दृश्य माध्यमबाट बहस गर्न पाउने व्यवस्था छ ।

गत वर्षदेखि उच्च अदालत दिपायल र इलामबाट पनि पनि श्रव्य–दृश्यमार्फत बहस सुरु गरिएको थियो । मुद्दाको श्रव्य–दृश्य सुनुवाइका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनपछि सर्वोच्चको सूचना प्रविधि शाखाले जुममार्फत बहसको व्यवस्था मिलाइदिने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्