काठमाडौं । नेपाली बक्सअफिसमा अक्सर कमै चलचित्र सफल हुन्छन् । त्यसमा पनि समीक्षात्मक रूपमा रुचाइने र दर्शकले मन पराउने त झनै कम हुन्छन् । नेपालको सन्दर्भमा दर्शकले रुचाउने चलचित्र समीक्षकले मन नपराउने र समीक्षकले रुचाउने दर्शकले नरुचाउने गरेको पाइन्छ । यो विरोधाभास नेपाली सिने उद्योगमा लामो समयदेखि यथावत् छ ।
समीक्षकले मन नपराएका चलचित्रले बक्सअफिसमा रेकर्ड ब्रेक कलेक्सन गरेका छन् । तर, समीक्षकले मन पराएका चलचित्रले हलमा दर्शकको अभाव व्यहोर्दै आएका छन् । यसको उदाहरणका रूपमा ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’, ‘नाईं नभन्नु ल’ र ‘प्रेम गीत’लाई लिन सकिन्छ । यी चलचित्रले राम्रो व्यापार गरे, समीक्षकको साथ भने पाउन सकेनन् ।
अर्कोतर्फ, ‘हरि’, ‘कथा’, ‘बुलबुल’, ‘डाइङ क्यान्डल’, ‘आचार्य’, ‘सेतो सूर्य’, ‘टलकजंग भर्सेस टुल्के’ आदि राम्रो समीक्षा पाएका सिनेमा थिए । तर, यी चलचित्रले हलमा दर्शकको माया पाउन सकेनन् ।
समीक्षकले राम्रो भनेका नचल्ने तर नराम्रो भनेका चलचित्र किन चलिरहेका छन् ? निर्देशक तथा कलाकार दीपाश्री निरौलाको प्रश्न छ– कतै समीक्षक नै बायस त भइरहेका छैनन् ?
“समीक्षकले नराम्रो भनेका चलचित्र चलिरहेका छन् भने उहाँहरू फेलियर भएको होइन र ?,” दीपाश्री भन्छिन्, “समीक्षकले राम्रो कुरा पनि देख्नुपर्छ । सबै नराम्रैनराम्रो मात्रै छ भने त्यो चलचित्र कसरी चल्छ, दर्शकले कसरी मन पराउनुहुन्छ ?” उनी प्रश्न गर्छिन्, “नराम्रो भन्ने समीक्षकले राम्रो कुरालाई पनि वाह ! भन्न सक्नुपर्छ । राम्रो कुरा पनि देख्न सक्नुपर्छ ।”
समीक्षकको आँखा फराकिलो हुनुपर्ने उनको टिप्पणी छ । आर्टहाउस मुभी र कमर्सियललाई एउटै आँखाले हेर्न नहुनेमा उनको जोड छ । “आर्ट–कमर्सियल र कमर्सियल मुभीलाई एउटै आँखाले हेर्नु हुँदैन,” दीपाश्री भन्छिन्, “वास्तवमा यी दुई फरकफरक मूल्यांकन हुने चलचित्र हुन् भन्ने बुझ्न सक्नुपर्छ । समीक्षकका शुद्ध आँखाले हेर्नुपर्छ । हैन भने दर्शकले मन पराउने र समीक्षकले मन पराउने चलचित्रमा भिन्नता कायमै रहन्छ ।”
आर्ट–कमर्सियल र आर्ट मुभीको फरक छुट्ट्याउनुपर्ने उनी औँल्याउँछिन् । कमर्सियल मुभीको समीक्षा गर्दा सफ्ट कर्नर अपनाउनुपर्ने उनको धारणा छ । “कमर्सियल मुभीमा निर्माताले मेरो चलचित्रले बिजनेस गर्नैपर्छ भनेर लगानी गरेको हुन्छ । त्यहीअनुसार मेकरले सिनेमा बनाएको हुन्छ,” दीपाश्री भन्छिन्, “तर, समीक्षकले आर्ट मुभीसरह समीक्षा गरेको पाइन्छ । बलिउडममा पनि आमदर्शकलाई बनाउने सिनेमा छुट्टै हुन्छन्, ओस्कार र अन्य फिल्म फेस्टिभललाई भनेर बनाइएका सिनेमा छुट्टै हुन्छन् । यो सत्यतथ्यलाई समीक्षकले बुझ्नुपर्छ ।”
समीक्षकले निरन्तर नराम्रा भनेका चलचित्र दर्शकले मन पराइरहे समीक्षक ‘फेल’ भएको बुझ्न सकिने उनको टिप्पणी छ ।
समीक्षककै समीक्षामाथि पनि टिप्पणी गर्न सकिने निर्देशक तथा निर्माता सन्तोष सेन बताउँछन् । “एउटा समीक्षकले गरेको समीक्षामा अर्को समीक्षकले समीक्षा गर्ने हो भने त्यहाँ पनि कमजोरी भेटिन्छ । टीकाटिप्पणी गर्ने ठाउँ त्यहाँ पनि हुन्छ,” निर्देशक सेन भन्छन् ।
चलचित्रमा कला पक्ष मात्र खोज्दा दर्शकको रुचि र समीक्षकको कलममा विरोधाभास देखिएको सन्तोषको अनुभव छ । सन्तोष आफैँ पनि यसका भुक्तभोगी हुन् । उनको ‘प्रेमगीत’ राम्रो कलेक्सन गर्ने तर समीक्षा नराम्रो पाउने चलचित्रमध्ये एक हो ।
“समीक्षकले कलाको गहिराइमा पुगेर चलचित्र हेर्नुहुन्छ, तर दर्शकले त्यसो गर्नु हुन्न,” सन्तोष अगाडि थप्छन्, “दर्शक हलमा हाँस्न, रमाउन र लार्जर देन लाइफसहितको ठूलो क्यानभास हेर्न रुचाउनुहुन्छ । त्यसैले दर्शक र समीक्षकको भिजन नमिलेको हो ।”
जो कोही दर्शक सिनेमा हलमा ज्ञान लिन नजाने सन्तोषको तर्क छ । हलमा दर्शक रमाउन नै जाने गरेको र त्यहीअनुसार उनीहरूको रोजाइ हुने गरेको सन्तोष बताउँछन् ।
“समीक्षकले मन पराउने सिनेमा मन पराउने दर्शक पनि हुनुहुन्छ । तर, त्यो संख्या निकै कम छ । त्यसैले समीक्षकले मन पराएका चलचित्र सानो संख्यामा रहेका दर्शकले हेर्दा पनि सफल हुँदैनन्,” उनी प्रस्ट पार्छन्, “दर्शक हलमा सिनेमाको साउन्ड, ब्याकग्राउन्ड स्कोर, सिनेमेटोग्राफी, कलर कस्तो छ भनेर ज्ञान लिन जाँदैन ।”
स्वयं चलचित्रकर्मी नै बक्सअफिसमा ‘हिट’ हुँदैमा चलचित्र राम्रो र कम कलेक्सन गर्दैमा नराम्रो भनेर बुझ्न नहुने बताउँछन् । अभिनेत्री बेनिशा हमाल कतिपय चलचित्र राम्रो हुँदाहुँदै पनि नचलेका थुप्रै्र उदाहरण भएको बताउँछिन् । “सिनेमा स्कुलमा पढाइ हुने विश्वकै मास्टर पिस सिनेमा हलमा चलेका थिएनन् । सम्भवतः अहिले हलमा देखाउने हो भने पनि चल्दैनन्,” उनी भन्छिन् ।
दर्शक र समीक्षकको रुचिमा ठूलो अन्तर रहेको उनको बुझाइ छ । किन एउटै सिनेमालाई लिएर दर्शक र समीक्षकको धारणा फरकफरक हुन्छ भन्नेमा उनको तर्क छ, “समीक्षक र दर्शकले सिनेमालाई हेर्ने आँखा नै बेग्लै हुन्छ ।”
जस्तै ?
“समीक्षकलाई सिनेमामा कमजोरी औँल्याउने सानासाना कुरा चलचित्रमा थुप्रै हुन्छन् । तर, दर्शकले त्यसरी कहिल्यै पनि हेर्दैन,” बेनिशा अगाडि थप्छिन्, “समीक्षकले कलात्मक पक्ष खोज्छ । समीक्षकले टेक्निकल पक्ष पनि हेर्छ । यसमा दर्शकको सरोकार रहँदैन । दर्शकले इमोसन मात्रै बुझ्छ ।”
सबै राम्रा अथवा राम्रो समीक्षा पाएका सिनेमा चल्छन् नै भन्ने नहुने उनको भनाइ छ । सिनेमा चल्नु र नचल्नुका पछाडि धेरै कारण हुने उनी बताउँछिन् ।
“सबै राम्रा चलचित्र चल्छन् भन्ने छैन । चलचित्र धेरै कारणले चल्छन् र चल्दैनन् पनि । स्टारकास्टले पनि सिनेमा चल्ने र नचल्ने कुरामा केही फरक पर्छ । राम्रो भएर पनि स्टारकास्टको अभाव, नयाँ मेकर र उचित प्रचारको अभावमा चलचित्र चलिरहेका हुँदैनन्,” उनी भन्छिन्, “तर, कतिपय चलचित्र मेकरको लिगेसीका कारण पनि चलिरहेका हुन्छन् । दर्शकले कस्तो चलचित्र मन पराउँछन् भनेर सोहीअनुसार बनाउँदा पनि मेकरको लिगेसीकै कारण पनि चलचित्र चलिरहेका छन् ।”
ब्रान्डको अभाव र प्रचार नगरिँदा समीक्षा राम्रो पाउने चलचित्र पनि नचलिरहेको सत्यलाई नकार्न नसकिने बेनिशाको अनुभव छ । “म आफैँले पनि थुप्रै राम्रा चलचित्रमा काम गरेको छु । तर, ती चलचित्र किन चलेनन् भनेर फर्किएर हेर्दा मैले अधिकांश नयाँ मेकरसँग काम गरेको रहेछु,” बेनिशा भन्छिन्, “नयाँ मेकरसँग यति धेरै प्यासन र इफोर्ट हुन्छ, उसले चलचित्र निर्माणकै क्रममा सबै बजेट सकाउँछ । पब्लिसिटीमा जाने बेलामा ऊसँग पैसा हुँदैन । त्यसैले मार्केटिङ गर्न नसकेर पनि राम्रा सिनेमा चलेका छैनन् ।”
केही चलचित्र ‘वर्ड अफ माउथ’का कारण पनि चल्ने गरेको उनी बताउँछिन् । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका चलचित्र रिलिजको तेस्रो/चौथो दिनदेखि राम्रोसँग चल्ने गरेको उनी सुनाउँछिन् । यसको उदाहरणका रूपमा ‘दिमाग खराब’लाई लिन सकिन्छ । भलै, यो ब्यानर र यसका मेकर आफैँमा प्रमाणित भइसकेका हुन् ।
बेनिशा चलचित्रको व्यापारलाई ‘ग्याम्लिङ’ भन्न रुचाउँछिन् । कारण, राम्रो भनेर अपेक्षा गरिएका नचल्ने तर ठिकठाक भनिएका केही चलचित्र चल्ने गरेका छन् । कुन चलचित्र चल्छ र कुन चल्दैन भन्न नसकिने उनको भनाइ छ ।