site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ठाकुर बेलबासेका चार छोटा कविता 

सर्त 
मेरा यी हात चाहिन्छ ?
लग !
यी दुई खुट्टा चाहिन्छ ?
यी पनि लग !
अँध्यारोलाई परास्त गर्दै 
चम्किलो उज्यालो हेर्ने
यी दुई आँखा चाहिन्छ भने पनि 
निसंकोच लग !

विचारको सर्वशक्तिमान हतियार छ 
मसँग 
त्यो पनि दिन्छु 
लग !

म पूर्ण रूपमा सकिन तयार छु
केके माग्नु छ 
माग !

सर्त !
मसँगबाट 
तिमीले लगेका सबै चिजहरू 
मात्र उज्यालोका निम्ति प्रयोग गर्नुपर्नेछ ।

०००

विभेद
दैलोमा 
हरेक बिहान
फूलपाती अनि घडा राखेर
घामको अनुष्ठान गरिरह्यौँ
उसैगरी हरेक साँझ 
घरको संघारमा दियोबत्ती बालेर 
जूनको आराधना गरिरह्यौँ 
पुस्तौँदेखि 
हाम्रो घरमा न जून आयो 
न त घाम नै आयो 

हरक्षण आइरहने अँध्यारोसँग
हाम्रो सम्बन्ध यस्तो बनेछ कि 
हामी आफैँ अँध्यारो बनेछौँ 

आजकाल 
हामी घरबाहिर निस्किँदा 
घामजून अनि छिमेकी
हामीसँग डराउँछन् !

०००

नियति 
हिजो मात्रै, 
यो राज्यले बाँच्न दियो भने 
तपाईंको आयु शतक छ 
भनेर मेरो आयुको भविष्यवाणी गर्ने 
युवा ज्योतिषीले 
आज आत्महत्या गरेछन् 

उनले आफ्नो भविष्य जानेनन् कि 
मेरो आयुका लागि आत्महत्या गरे 
अथवा यो राज्यले उनलाई 
पूरा आयु बाँच्न दिएन 
म अनौठो सोचमा छु !

०००

आँसुको बाढी 
तिमीले हाँस्न भन्यौ,
आधा हाँसो तिम्रो ओठमा 
आधा हाँसो मेरो ओठमा राखेर 
म खुब हाँसे 

तर, आँखाबाट झरेको बाढीले 
कहिल्यै नखोलिने गरी 
मेरा आँखा,
कहिल्यै नचल्ने गरी 
मेरा मनमुटु, 
अनि कहिल्यै नहाँस्ने गरी 
मेरा ओठ डुबेछन् !

म हाँस्दा, 
तिमीले म मरेकोे देख्यौै ?

साँच्चै भन न,
मेरो खुसीमा आँसुको बाढी किन पस्छ ?


 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro