
काठमाडौं । डा. राजेन्द्र विमल प्रतिष्ठानको १२औँ वार्षिकोत्सवका अवसरमा दुई सर्जकलाई सम्मान एवं पुरस्कृत गरिएको छ । साहित्यकार डा. राजेन्द्र विमलको ७९औँ जन्मदिनमा शनिबार (चैत १६) उनीहरूलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा धनुषाका पुराना पत्रकार एवं अधिकारकर्मी कुलराज घिमिरेलाई विशेष अभिनन्दन गरियो । उनलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरिएको थियो ।
यस्तै, प्रतिष्ठानले धनुषाकै तबलावादक बदन मण्डललाई नगद ११ हजार रुपैयाँसहित ‘राजेन्द्र विमल प्रतिभा पुरस्कार, २०८१’ बाट पुरस्कृत गर्यो ।
कार्यक्रममा साहित्यकार अवधेश पोखरेल ‘जनकपुरिया’को व्यंग्यकृति ‘जीवनका रङहरू’ सार्वजनिक पनि गरिएको थियो ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले डा. विमलका कथाहरूले हिमाल, पहाड र तराईलाई जोडेको उल्लेख गरे ।
आख्यानकार डा. विमलले मुलुकलाई विकसित र समृद्ध नेपाल बनाउन आग्रह गरे । उनले भने, “आउनुस्, नेपाल बनाउने काम गरौँ । एउटा नेपालीले अर्को नेपालीलाई माया गरौँ । नेपाली नेपाली एक ठाउँ जुटौँ र सु्न्दर नेपालको रचना गरौँ ।”
साहित्यकार सुशीला पौडेलले सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अवधेश पोखरेल ‘जनकपुरिया’, कवि शैलेन्द्र साकार, प्रह्लाद पोखरेल, दिनेश अधिकारी, कथाकार इस्माली, डा. रजनी ढकाल, आभाकुमारी सिंह, सलीम खानलगायत साहित्यकारले बोले ।