
काठमाडौं । पार्टीको जिम्मेवारीमा फर्किएका रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमबार अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको सभापतित्व लामिछानेले गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यसअघि, आजै बसेको केन्द्रीय समितिको पहिलो चरणको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारीमा फर्काउने निर्णय गरेको थियो । पहिलो बैठकको नेतृत्व कार्यवाहक सभापति डीपी अर्यालले गरेका थिए ।
नेतृत्व छाडेको झन्डै १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किएका हुन् । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ ।
०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए ।