इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको हो ।
लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको हो ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्रसहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । रासस