काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृंखलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, तान्जेनिया र जापान छन् ।
शृंखलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाका दिन तान्जेनियासँग खेल्नेछ । नेपालले कात्तिक ३० गते आयोजक हङकङसँग खेल्नेछ । नेपालले आउँदो मंसिर २ गते जापानसँग खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका निम्ति मंसिर ३ गते खेल्नेछन् । तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।
नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । रासस